ताजा अपडेट »

बुटवलका विद्यालयसँग कक्षा सञ्चालनको कार्ययोजना माग, ६ विकल्प प्रस्तुत

शुक्रबार, ०५ मंसिर २०७७, १७ : ३०
2 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड-१९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाका बारेमा सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले जनस्वास्थ्यको संवेदनशिलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरि विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो ।

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरुसँग महामारीबाट जोगिंदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो । उपमहानगरलाई नागरिक स्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने छ । बुटवल उपमहानगरले कोरोना महामारी (कोभिड-१९) को संक्रमण कम रहेका वडाका विद्यालयमा पठन पाठन नियमित गराएको छ भने संक्रमणको जोखिम धेरै रहेको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । शुक्रबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसँग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको हो । मंसिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।

बुटवलका वडा नं. १ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा सञ्चालनको अवस्था, सम्भावना र जोखिमका बारेमा विस्तृत विवरण उपलव्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख शिवराज सुवेदीले बताए । तोकिएका वडाका विद्यालयहरुबाट आउने कार्ययोजना र सुझावलाई अध्ययन गरेर स्वास्थ्य सम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसँग थप छलफल गरेर कक्षा सञ्चालनको निर्णय गरिने प्रमुख सुवेदीले बताए । स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै थप व्यवस्थित ढंगबाट सिकाइ केन्द्र सञ्चालन गर्ने बारेमा वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थता र सम्भावित जोखिमको आँकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ ।

विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधार समेत मध्यनजर गरी स्वास्थ सम्बन्धी तोकिएका मापदण्डहरु पूर्णत पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताए । उपमहानगरले वडा नं. १ देखि १३ सम्मका क्षेत्रलाई संक्रमितको संख्या, सक्रिय संक्रमित र निको भएका दरका आधारमा अझंै पनि जोखिमयुक्त मानेको छ । जोखिमयुक्त यीनै वडामा रहेका विद्यालयमा नियमित पठन पाठन (फेस् टू फेस् मेथड) सञ्चालन गर्न सकिने नसकिने विषयमा कार्ययोजना माग गरिएको हो ।

बुटवलका वडा नं. १४ देखि १९ सम्म कोभिड संक्रमणको जोखिम कम रहेका क्षेत्र हुन । यहाँका संक्रमितको संख्या, निको हुनेको संख्या र सक्रिय संक्रमितको अवस्थाका आधारमा यी वडालाई जोखिम कम रहेको मानिएको हो । संक्रमण भएका, निको भएका, संक्रिय संक्रमित रहेका संख्याका आधारमा जोखिमको अवस्थाको मूल्यांकन गर्दै शिक्षण सिकाई केन्द्रहरु मापदण्ड पूरा गरेर सञ्चालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । जोखिम रहेका क्षेत्रमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्ययोजना माग गरिएको हो । वडा नं. १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुबै विद्यालयमा शिक्षण सिकाईका कक्षाहरु दसैंको पूर्णिमाको भोलिपल्ट देखि नै नियमित सञ्चालनमा रहेको र त्यहाँ पनि स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणी खनालका अनुसार बुटवलमा मंसिर ५ गतेसम्म संक्रमितको संख्या तीन हजार ७३ रहेको छ । मंसिर ५ गते मात्रै एकै दिन जम्मा १३ जना संक्रमित थपिएका छन् । जसमा वडा नं. १४ देखि १९ सम्ममा एकजना पनि छैनन । हाल चार सय ११ सक्रिय संक्रमित रहेकोमा यी वडामा जम्मा सात जना रहेका छन् ।

यस्ता छन् उपमहानगरले दिएका विकल्पहरु
१) सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने,
२) अलग अलग समय (सिफ्ट) मा अलगअलग कक्षा वा तह सञ्चालन गर्ने,
३) आवश्यकता हेरी विद्यालय खुल्ने वा सञ्चालनको अवधि/घण्टी छोट्याउने,
४) अवस्था हेरी प्रारम्भमा केही कक्षाहरु मात्र तल्ला कक्षाहरु वा माथिल्ला कक्षाहरु (जोखिम र सहजतालाई हेरी) सञ्चालन गर्ने ।
५) कुनै दिन केही कक्षा र कुनै दिन बांकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने,
६)कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बांकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन गर्ने

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।