ताजा अपडेट »

तिहारपछि निजी विद्यालय सञ्चालन हुने

शनिबार, २२ कार्तिक २०७७, १४ : ४४
18 Shares

बुटवल । निजी विद्यालयहरूको संगठन प्याब्सन रूपन्देहीले तिहारलगत्तै संस्थागत विद्यालय भौेतिकरूपमै सञ्चालन गर्ने निर्णय गरेको छ ।लामो समयको बन्दाबन्दीले विद्यार्थीको सिकाइप्रक्रिया अवरूद्घ भएकोले सुरक्षित तरिकाले भौतिकरूपमै पठनपाठनको विकल्प नभएको भन्दै तिहारपछि सम्पूर्ण संस्थागत विद्यालय खुलाउने बताएको हो । सोको आवश्यक तयारीमा रहन पनि प्याब्सनले सम्बन्धित विद्यालय,शिक्षक,अभिभावक र विद्यार्थीसमेतलाई आग्रह गरेको छ ।बैठकका निर्णय जानकारी गराउँदै अध्यक्ष लेखनाथ पौडेलले तिहारलगत्तै विद्यालय सञ्चालन गर्ने वातावरण मिलाइदिन सम्पूर्ण पालिकाहरू र सम्बन्धित सबैलाई अनुरोध गरेका छन् ।त्यसअघि रूपन्देहीका सम्पूर्ण पालिकाहरूमा विद्यालय खुलाउन ज्ञापनपत्र दिइने सचिव लक्ष्मण ज्ञवालीले बताए ।

शुक्रबार प्याब्सन रूपन्देहीको कार्यालयमा बसेको जिल्ला समितिको बैठकले अन्य सबै क्षेत्र खुलिसकेको सन्दर्भमा विद्यालयमात्र बन्द गरिनु औचित्यपूर्ण नरहेको भन्दै भैतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको हो । विद्यालय खुल्नुअगावै सम्पूर्ण कक्षाकोठा सेनिटाइज गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न पनि प्याब्सनले विद्यालयलाई आग्रह गरेको छ ।बैठकमा बोल्दै प्याब्सन केन्द्रीय प्राज्ञिक सल्लाहकार कृष्णप्रसाद खनालले अन्य देशमा शैक्षिक क्षेत्रमा लकडाउन नगरिएको तर हाम्रो देशमा भने शैक्षिक क्षेत्रमा मात्रै लकडाउन गरिएको गुनासो गर्दै एकैसाथ सम्पूर्ण विद्यालय सञ्चालन गर्नुपर्ने बताए । सरकारले जारी गरेको वैकल्पिक शिक्षण सिकाइ विधिले सम्पूर्ण विद्यार्थीलाई समेट्न नसकेको भन्दै उनले वातावरण सहज बन्दै गएकोले भौतिक उपस्थितिको विकल्प नभएको बताए।

सो अवसरमा केन्द्रीय उपाध्यक्ष विष्णु पन्थी र केन्द्रीय सदस्य हेमलाल भुसालले गुणस्तरीय शिक्षा दिइरहेका संस्थागत विद्यालयप्रति सरकारले सौतेलो व्यवहार गरेको गुनासो गरे । बैठकमा वरिष्ठ उपाध्यक्ष अनन्तराम शर्मा,एकनारायण काफ्ले,लालहरि पाण्डे,मातृका यादव, कृष्ण शर्मा, हरि ज्ञवाली, के.एन.सागर ज्ञवाली लगायएले विद्यालय सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।सो अवसरमा अध्यक्ष लेखनाथ पौडेलले रूपन्देहीका लुम्बिनी साँस्कृतिक नगरपालिका, रोहिणी र मायादेवी गाउँपालिकाले संस्थागत विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकोमा प्रशंसा गर्दै अन्य पालिकाले समेत संस्थागत र सामुदायिक विद्यालय दुवैलाई समानरूपमा अवसर उपलब्ध गराउनुपर्ने माग गरेका थिए । रूपन्देहीमा प्याब्सन आबद्ध २ सय ४० निजी विद्यालय रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।