ताजा अपडेट »

विद्यालय जीर्ण हुँदा पठनपाठनमा समस्या, अध्ययन गर्न अन्यत्र जानुपर्ने बाध्यता

शुक्रबार, २१ कार्तिक २०७७, १७ : ३७
44 Shares

दाङ । दाङको गढवा गाउँपालिका– ८ मा पर्ने कोईलाबासका बालबालिकालाई शिक्षा लिन निकै सकस हुने गरेको छ । नेपालको लमहीदेखि करिब ३३ किलो मिटर दक्षिण तर्फ तथा भारतको तुलसीपुर बजारदेखि ५ किलोमिटर उत्तरतर्फ रहको दाङको भारतसँग सिमा जोडिएको कोईलाबास नाकाका बालबालिकालाई माध्यामिक तहको शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता छ भने आधारभूत तहको शिक्षा लिनको लागि पनि विद्यालयका संरचनाहरु जीर्ण अवस्थामा रहेका छन् ।

कोईलाबासका बासिन्दाहरुले विभिन्न खालका समस्याहरु झेल्दै आएका छन्, जसमध्ये शिक्षाको समस्या पनि एक हो । आधारभूत तहको अध्ययन गर्न विद्यालय जाँदा पनि जंगलको बाटो भएकाले धेरै डर भएको र माध्यमिक तहको शिक्षा हाँसिल गर्न भारत वा दाङकै अन्यत्र जनुपर्ने बाध्यता भएको स्थानीय तथा महेन्द्र आधारभूत विद्यालयकी पुर्व अध्यक्ष कल्पना केसीले बताईन् । मुसी नाकामा ३ सम्म र खप्री नाकामा पनि ३ सम्म मात्रै विद्यालय छ भने ४ देखि सबै अध्ययनका लागि घण्टौंसम्म बालबालिकाहरु जंगलको बाटो हिडेर अध्ययनको लागि महेन्द्र आधारभूत विद्यालयमै आउने गर्छन् । कक्षा ८ पछि त झन यहाँ विद्यालय नै छैनन्, कतिपय भारतीय विद्यालयमा जान्छन् भने कति गढवा, घोराहीलगायतका ठाउँसम्म पनि पुग्ने गरको केसीले बताईन् ।

कोईलाबासको वर्तमान समयको मुख्य समस्या जनसंख्याको कमी पनि हो । विद्यालयमा विद्यार्थीको संख्या निकै कम हुने भएकाले पनि विद्यालयको स्तरवृद्धि गर्न नसकिएको हो । गाउँपालिकामा अहिले सरकारी विद्यालय ३ वटा र एउटा मदरासा विद्यालय रहेको छ । २०११ सालमा स्थापना भएको महेन्द्र आधारभूत विद्यालय अहिले पनि स्थापनाकालमै बनेका संरचनाबाटै सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक रामबहादुर वलीले बताए । स्थापनाकालमा बनेका विद्यालयका सम्पुर्ण संरचना जिर्ण बनेका छन् भने सोही जिर्ण संरचनाबाटै बालबालिकालाई अध्ययन गराउँदै आएको उनी बताउँछन् ।

विद्यालयमा नया संरचनाका रुपमा बनाईएको शौचालय पनि पानिको व्यवस्था नहुँदा बालबालिकाले प्रयोग नपाएको विद्यालयका प्रधानाध्यापक वली बताउँछन् । पानीको विषयमा कोईलाबास क्षेत्रका जनप्रतिनिधि गढवा गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष सद्धाम सिद्धिकीले डिप बोरिङको सम्पुर्ण काम सकिएकाले अब पानी वितरणको काम अन्तिम चरणमा पुगेको दाबी गरे ।

यस्तै उनले विद्यार्थी संख्या निकै कम भएकाले वडाभित्र रहेका सम्पुर्ण विद्यालयलाई मर्ज गरेर भएपनि कक्षा १० सम्मको अध्ययन कोईलाबास क्षेत्रमै सञ्चालन गर्ने पहल जानकारी गराए । कोईलाबास क्षेत्रमा सडक, सञ्चार र विद्युतको पहुँच हिजोको तुलनामा आज प्रभाकारी बनेपनि शिक्षाको क्षेत्रमा भने विकासले गति लिन सकेको छैन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।