ताजा अपडेट »

रुपन्देहीको रोहिणीका सम्पूर्ण विद्यालयहरु आईतबारदेखि सञ्चालन हुने

शुक्रबार, २१ कार्तिक २०७७, १३ : २०
2 Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाले आईतबारदेखि गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । गाउँ शिक्षा समिति रोहिणीको कार्तिक २० गते बसेको बैठकले विद्यालयमा आवश्यक सर्तकता अपनाउँदै २३ गते देखी विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

बैठकले कोभिडको कारण अहिलेसम्म प्रभावित रहेको पठनपाठन कार्य अभिभावकको सहमतिमा सुरक्षा मापदण्ड अपनाई सञ्चालनमा ल्याउन लागेको जनाएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख आर मोहम्मख खाँले प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलापको अभावमा शैक्षिक सत्र नै प्रभावित भई रहेको अवस्थामा अब सावधानी अपनाउँदै विद्यालय सञ्चालनको विकल्प नरहेको बताए ।

विद्यालयमा अभिभावकले आ–आफ्ना बालबालिकालाई अनिवार्य रुपमा माक्स लगाएर विद्यालय पठाउनु पर्ने शिक्षा शाखा प्रमुख खाँले बताए । माक्स नलगाई आएमा वा स्वास्थ्यमा समस्या देखिएमा त्यस्ता शिक्षक र विद्यार्थीलाई विद्यालयमा हातामा प्रवेश नदिईने उनले बताए । यस्तै विद्यालयमा पनि एउटै बेन्चमा २ जना मात्र विद्यार्थी राखी सामाजिक दुरी कायम गरि अध्ययन अध्यापन गराउनुपर्नेछ । विद्यार्थीहरुको चाप हेरी सिफ्ट बनाई कक्षा सञ्चालन गरिने खाँले जानकारी दिए ।

रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले यसरी अध्यापन गराउँदा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई निर्देशिका २०७७ अनुसार नया पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन गरिने जनाए । उनले पहिलो पटक गाउँपालिकाले विद्यालयमा सेनेटाइजरको व्यवस्था गर्ने र त्यस पछि विद्यालय आफैले सोको व्यवस्थापन गर्नुपर्ने बताए ।

रोहिणी गाउँपालिकामा १५ वटा सामुदायिक विद्यालय, ११ वटा संस्थागत विद्यालय र १२ वटा धार्मिक मदरसाहरु सञ्चालनमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।