ताजा अपडेट »

संरक्षणको पर्खाइमा ऐतिहासिक पञ्चधारा

बुधबार, ०५ कार्तिक २०७७, ११ : २४
4 Shares

बागलुङ : बागलुङको गलकोट नगरपालिका–१० स्थित पाण्डवखानी गाउँमा अवस्थित सामरिक तथा ऐतिहासिक महत्वका पञ्चधारा र मन्दिर संरक्षणको पर्खाइमा रहेका छन् । हिन्दूको सबैभन्दा ठूलो ग्रन्थमध्ये एक महाभारतमा रहेका कुन्ती र माद्रीका छोरा पाण्डवसँग जोडिएको पञ्चधारा संरक्षण नगरिँदा अहिले अस्तित्वविहीन बन्दै गएका हुन् ।

पाँच पाण्डवले १२ वर्ष वनवासका क्रममा यहाँ आएर तामाको खानी खनेका कारण यो गाउँको नाम पाण्डवखानी रहन गएको किंवदन्ती छ । पाण्डवखानीको ग्याथरमा पाँच पाण्डवले नुहाउने गरेको पञ्चधारा, त्यस क्षेत्रमा रेगिश्वरे मन्दिर र पाण्डवखानी माध्यमिक विद्यालयको प्राङ्गणमा कुन्तीमाईको मन्दिर छ । अहिले पञ्चधारासहित ती मन्दिर संरक्षणको अभावमा निकै जीर्ण अवस्थामा छन् ।

संरक्षणको अभावका कारण पाँच पाण्डवले नुहाएको पञ्चधारा पुरिने अवस्थामा छ भने रेगिश्वरे मन्दिर र कुन्तीमाई मन्दिर जीर्ण अवस्थामा पुगेको छ ।  धृतराष्ट्रका भाइ पाण्डुका पत्नी कुन्तीबाट युधिष्ठिर, भीम र अर्जुन तथा माद्रीबाट नहकुल र सहदेव जन्मिएका थिए । यी पाँच जनालाई पाण्डवका रुपमा व्याख्या गरिएको छ । धृतराष्ट्रका छोराहरू भने पाण्डवलाई देखिसहँदैनथे । उनका सय जना छोरामध्ये दूर्याेधन र दुशासन उद्दण्ड थिए ।

कौरवहरू धुर्त, स्वार्थी र घमण्डी थिए । उनीहरू विभिन्न षड्यन्त्र गरेर पाण्डवलाई दुःख दिने योजनानुसार एक दिन कौरवले सल्लाह गरी पाण्डवसँग पासा खेल्ने र हराउने योजना बनाए । पासा खेल्दा पाण्डवले जितेमा कौरवले आफ्नो आधा राज्य उनीहरूलाई दिने भए । पाण्डवले हारेमा उनीहरूले १२ वर्ष वनवास र एक वर्ष अज्ञातवास जानुपर्ने शर्त राखियो । जालझेल गरेर कौरवले पासा जितेपछि शर्तानुसार पाण्डवले राज्य छाडेर वनवास लागे । वनवासकै क्रममा बागलुङ जिल्लाको पाण्डवखानीमा केही समय आएर बसेको किंवदन्ती रहेको ७७ वर्षीय स्थानीय पुनराम पुन बताउँछन् ।

“मैले पनि हजुरबाले भनेको सुनेको हुँ, पाण्डवहरुले आएर तामाखानी खनेको, पञ्चधारामा नुहाएको कुरा”, पुनले भने, “तर यहाँ तामाकोे खानीको अवशेष छ, पञ्चधारा पनि छ र पाण्डवका ठूली बैनी रेगिश्वरेको नाममा र आमा कुन्तीको नाममा मन्दिरसमेत भएकाले विश्वासयोग्य छ ।” पाण्डवकी आमा कुन्ती पनि नुहाएर फर्कने क्रममा सोही स्थानमा मृत्यु भएकाले पाण्डवखानीको झियाथरस्थित पाण्डवखानी माध्यमिक  विद्यालयको प्राङ्गणमा उनको शव गाडिएकाले कुन्ती माता मन्दिर निर्माण गरिएको बताइन्छ । इतिहास बिर्सदै गएको सन्दर्भमा यसको खोज, संरक्षण तथा प्रचारप्रसार गर्नुपर्ने उनको जोड छ ।

निकै गर्विलो इतिहास बोकेको यस क्षेत्रको संरक्षण नहुँदा इतिहास मेटिदै जाने सम्भावना रहेको स्थानीयवासी बताउँछन् । माङ्खोलाको किनारमा अवस्थित पाण्डवले नुहाएको पञ्चधारा, नुहाएपछि पूजा गर्ने शिवलिङ्ग र रेगिश्वरे मन्दिर रहेको स्थानमा वनज¬ङ्गलले ढाकेको मात्रै छैन, त्यहाँ पुग्ने बाटोसमेत अस्तव्यस्त भइसकेको छ । 

एउटै ढुङ्गालाई कुँदिएर पाँचवटा प्वालबाट पानी आउने बनाइएको धारा अहिले पुरिने अवस्थामा पुगेको छ । धारामा लेउ भरिएर पानी खस्नै छोडेको छ । परापूर्वकालमा पाँच पाण्डव वनवास आएको समयमा पाण्डवहरुले त्यस स्थानमा नुहाउने र पूजापाठ गर्ने गर्दै आएको कथन छ । विसं १८१९ सम्म पञ्चधारा पुरानै अवस्थामा रहे पनि सोही वर्ष आएको बाढीले पञ्चधारामा क्षति पुगे पनि विसं २०४८ मा पुनःनिर्माण गरिएको पुनराम बताउँछन् । पुनका अनुसार त्यसयता संरक्षणमा कसैले पहल र चासो नदेखाउँदा इतिहास मेटिन थालेको छ ।
   
बाढीले ठूली बहिनी रेगिश्वरीलाई बगाइ रिडीमा लगेको र कान्छी बहिनी पाण्डवखानीमै रहेकाले माघे सङ्क्रान्तिमा रिडी र पाण्डवखानीमा एकसाथ मेला लाग्ने गरेको स्थानीय चुडाबहादुर रानाको भनाइ छ । पुस मसान्तको रातभरि जाग्राम बस्ने, पूजा गर्ने र सङ्क्रान्तिका दिन बिहान फूलहरु माङ्खोलामा विसर्जन गरेमा आँटेको पुग्ने जनविश्वास छ । पञ्चधारासहित अन्य मन्दिरको संरक्षण गर्ने योजना भए पनि बजेटको अभाव भइरहेको गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीका वडाध्यक्ष तिलक घर्तीले बताए। “परापूर्वकालको एउटा इतिहास हाम्रो गाउँमा छ, यसलाई जोगाउने हाम्रो दायित्व पनि हो”, उनले भने, “आगामी वर्ष पञ्चधारा संरक्षणको कार्यक्रम ल्याउने योजना छ ।” घर्तीका अनुसार पाण्डवखानीमा तामाखानीको निकै सम्भावना भए पनि सरकारले खानी उत्खननमा रोक लगाएका कारण समस्या भएको बताए । 

बागलुङमा इतिहास बोकेको पाण्डवले नुहाएको पञ्चधारालाई संरक्षण र प्रचारप्रसार गर्न सकेमा ऐतिहासिक र धार्मिक हिसाबले पाण्डवखानीलाई अघि बढाउन सहज हुने बागलुङ पर्यटन विकास समितिका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए। पाण्डवका विषयमा धेरै इतिहास रहेकाले यसका विषयमा स्थानीय सरकारले थप खोज, अनुसन्धान गरेर संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक रहेको उनको भनाइ छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।