ताजा अपडेट »

नगरपालिकाले गरेको निर्णयको सर्वत्र विरोध, शिक्षा शाखामा ताला

बुधबार, १४ असोज २०७७, १७ : २६
10 Shares

भैरहवा । नीजि विद्यालय सञ्चालकहरुको दबावमा सिद्धार्थनगर नगरपालिकाले चर्को शुल्क उठाउने स्विकृति दिए लगत्तै त्यसको सर्वत्र विरोध सुरु भएको छ । अभिभावकहरु मात्र हैन रुपन्देहीका क्रियाशिल विद्यार्थी संगठनले पनि नगरपालिकाको यो कदमको विरोध गरेका छन । अझ नगरपालिकामा सत्तापक्षकै विद्यार्थी संगठनबाट नगरपालिकाको यो निर्णयको विरोध गर्दै नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ ।

असोज ८ गते नगर अन्तरगतको शिक्षा समितिको बैठकले विद्यालय शिक्षा सम्बन्धि आकस्मिक कार्ययोजना–२०७७ अनुसार असोज दोस्रो हप्तासम्म विद्यालयमा भर्ना हुन बाँकी र स्थानन्तरीत विद्यार्थीहरुलाई भर्ना गर्ने निर्णय गरेको थियो । त्यस्तै समितिले संस्थागत विद्यालयको शुल्क निर्धारण सम्बन्धमा आर्थिक वर्ष–२०७६ को शुल्कलाई आधार मानि सोबाट हुन आउने रकममध्ये असार, साउन, भदौ महिनाको ७० प्रतिशत र असोजबाट ८० प्रतिशत लिने निर्णय गरेको थियो ।
नगरपालिकाको यो निर्णय सँगै निजि बिद्यालयका सञ्चालक हौसिएका छन भने अभिभावक र विद्यार्थीहरु आक्रोशित बनेका छन् । नगरपालिकाको निर्णय सच्चयाउन माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू)ले नगरपालिकालाई २४ घण्टे अल्टिमेटम दिएको थियो । आफुहरुको मागमा नगरपालिकाले केही सुनुवाई नभएको भन्दै आज शिक्षा शाखामा तालाबन्दी गरेको छ ।

आम विद्यार्थी र अभिभावकको मर्मविपरीत शिक्षा शाखाले गरेको निर्णय सच्याउन २४ घण्टे अल्टिमेटम दिए पनि शिक्षा समितिले त्यसको वेवास्ता गरेकोले तालाबन्दी गरिएको अनेरास्ववियू भैरहवा क्याम्पस कमिटीका अध्यक्ष मनिष ढकालले बताए । कोभिड–१९ का कारण सम्पूर्ण क्षेत्रको आर्थिक तथा शैक्षिक गतिविधि पूर्ण रुपले ठप्प रहेकोले विषम परिस्थितिमा नीजि विद्यालयको भर्ना कार्यक्रममा सहभागि नहुन ढकालले आग्रह गरेका छन् । अनेरास्ववियूले सुरु गरेको आन्दोलनमा ऐक्वद्धता जनाउन समेत उनले अभिभावकहरुलाई आग्रह गरेका छन् ।
भर्ना कार्यक्रम सञ्चालन गरेको पाइएमा जस्तासुकै आन्दोलनको लागि संगठन तयार रहेको अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटीका सचिव सागर न्यौपानेले बताए ।

अनेरास्ववियु सँगै नेपाल विद्यार्थी संघले पनि नगरपालिकाको निर्णयको विरोध जनाएको छ । विद्यार्थी तथा अभिभावकको हितविपरीत निर्णय गरेको भन्दै तत्काल फिर्ता लिन नेपाल विद्यार्थी संघ (नेविसंघ) सिद्धार्थनगर र भैरहवा बहुमुखी क्याम्पस इकाइ समितिले माग गरेको छ । नेविसंघले पनि बुधबार सिद्धार्थ नगर नगरपालिका अगाडी प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले शैक्षिक माफिया मुर्दावाद, अभिभावक र विद्यार्थीहरुको हितविपरीतका निर्णय फिर्ता गर लगायतका नारा लगाएका थिए ।

कोरोना भाइरसका कारण शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहेको अवस्थामा नगरपालिकाको शिक्षा शाखाले एकलौटी निर्णय गरेको नेविसंघ सिद्धार्थनगरका सभापति प्रतिक भण्डारीले बताए । निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै नेविसंघले शिक्षा शाखाका प्रमुख उपसचिव चेतनशील लम्साललाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।