ताजा अपडेट »

आयोजना सम्पन्नको वर्ष भित्रै अलपत्रः आँगनमा धारा, पानी लिन आधा घण्टा हिड्नुपर्ने

मंगलबार, ०६ असोज २०७७, २० : ३०
4 Shares

बुटवल । आँगनमा धारा छ तर, पानी आउँदैन। आँगनमै रहेको धारामा ८ महिनादेखि पानी नआउँदा खानेपानीका लागि आधा घण्टा हिड्नुपर्ने बाध्यता छ । यो कुनै दूरदराजको समस्या होइन, रुपन्देहीको सैनामैना नगरपालिकासँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिका वार्ड नं.१ को हो । दैलो अगाडिको धारा छोडी आधा घण्टाको बाटो हिँडेर पानी बोक्नु पर्ने बाध्यता सुन्दा अचम्म लाग्न सक्छ । तर, तिनाउ-१ झिगामाराका बासिन्दाले भोग्दै आएको समस्या हो । हरेकका घर–घरमा पानीका धारा मात्र होइनन् रेडक्रसको सहयोगमा गाउँलाई पूर्ण सरसफाईयूक्त बनाउनका लागि धारासँगै जोडिएको जुठ्यान-मच्यान (सफा गरेर राखिएका भाँडा सुकाउने ठाउँ) चिटिक्क परेका छन् । तर,धारामा पानी नआएपछि गाउँलेहरु गाग्रो र जर्किन बोकेर पँधेरा धाउनु पर्ने बाध्यता छ।

करिब २ किलोमिटर परदेखि लिफ्टिङ प्रविधिबाट ल्याइएको खानेपानी आयोजना अलपत्र बनेपछि समस्या भएको स्थानीय तथा वडा सदस्य अम्मबरबहादुर तरामुले बताए । स्थानीय खमारे खोलाबाट लिफ्टिङ गरी ल्याइएको खानेपानी आयोजना सञ्चालनमा आएको ६ महिना पनि बित्न नपाउँदै विद्युत समस्या तथा समय-समयमा मोटर बिग्रिने समस्याले दैलो अगाडीको धारा सुख्खा बनेको छ । डोकामा २ वटा गाग्री, दुई वटा जर्किन साथै केही बोतलहरु समेत लिएर एकाविहानै पँधेरा हिँडेकी एक महिलाले पिडा सुनाउँदै भनिन्-‘पँधेरोमा पनि लाइन लाग्नु पर्छ, बेलामा घर फर्किएन भने भैसिलाई कुँडो खुवाउन बेर हुन्छ, भान्सा गर्न घरमा एक थोपा पानी छैन ।’-हतार हतार पँधेरा हिडेकी उनले अघि भनिन्-‘घर अगाडी धारा भएर के गर्नु, पानी आउन छाडेको ७/८ महिना हुन लाग्यो ।’ ती महिलाको मात्र नभई यस गाउँका सबै महिला पुरुषको यो समस्या दैनिकी बनेको छ ।

बिहान उठ्ने वित्तिकै मुख धुन तथा ट्वाइलेटका लागि समेत पानी नभएपछि आधा घण्टाको बाटो हिँडेर पँधेरा धाउनु पर्ने बाध्यता रहेको स्थानीय युवा जितबहादुर थापाले बताए । ‘गाउँलाई खुल्ला दिसा मुक्त घोषणा गरिए पनि पानी अभावकै कारण कतिपयले त ट्वाइलेट बन्द गरेर खुल्ला ठाउँमै सौच गर्ने गरेका छन् ।’-उनले भने । स्थानीय सरकारको तथ्याङ्कमा समेत खानेपानीको पहुँचमा भएको उल्लेख गरिए पनि घर अगाडीको धारा सधै सुख्खा हुँदा स्थानीयले दैनिक घण्टौसमय पानी बोक्नका लागि खर्चिनु पर्ने बाध्यता रहेको उनले गुनासो गरे । गाउँमा स्थानीय युवाहरुले व्यवसायीक कुखुरा पालन, बँगुर पालन तथा बाख्रा पालन गरेपनि प्रमुख समस्याका रुपमा पानीको अभाव हो । पानी अभावका कारण कतिपयले त व्यवसायबाट नै विस्थापित हुने गरेका छन् ।

परम्परागत रुपमा रहेका पँधेरोबाट पानी बोकी गुजारा चलाएका गाउँलेहरु दैलोमा पानी आउने भएपछि हिउँद बर्खा नभनी लगातार महिनौं श्रमदान गरी ल्याएको धारामा पानी चुहिन छाडेपछि चिन्तीत बनेका छन् । सरकार, स्थानीय सामुदायिक वन तथा स्थानीयको जनश्रमदानबाट करिब ६ वर्षको लामो प्रयासपछि सम्पन्न भएको खानेपानी आयोजना र घर अगाडीको धारा देख्दा पनि दिक्क लाग्ने गरेको बताउँछन् स्थानीय दुर्गा थापा । बँगुर पालन गरिरहेका दुर्गाले घरमै धारा आएपछि व्यवसायलाई थप बढाउने योजना बनाएका थिए । तर, दैलोमा पानी आउन थालेको एक वर्ष पनि नहुँदै सुख्खा भएपछि उनको योजना सफल हुन सकेन ।

खानेपानी मुहानको रेखदेखको जिम्मा पाएका स्थानीय रामु सुस्लिङका अनुसार मोटर सञ्चालनका लागि प्रयाप्त भोल्टेजको लाइन नहुँदा समस्या भएको हो । यसैगरी भोल्टेज व्यवस्थापनका लागि आर्थिक अभावका कारण ट्रान्सफर्मर खरिद गर्न नसक्दा दैलोमा आएको धारा पनि आकाशको फल जस्तै भएको उनले बताए । ‘खानेपानी संस्थामा प्रयाप्त बजेट छैन, गाउँलेहरुले रकम जुटाउन नसक्ने अवस्था छ ।’-उनले भने लाइनको राम्रो व्यवस्थापन र ट्रान्सफर्मर खरिद गर्न सके सबैको घरमा पानी पुग्छ । यसैगरी उक्त खानेपानी उपभोक्ता समितिका अध्यक्ष केशव भण्डारीले व्यवस्थापनका लागि काम भइरहेको बताए । ‘यो वर्ष मुहानमा तार जाली तथा ट्रान्सफर्मर खरिदका लागि प्रदेश सरकारबाट केही रकमको व्यवस्थापन हुने भएको छ ।’-उनले भने । बजेट अभावले अलपत्र बनेको खानेपानी आयोजना आवश्यक सम्पूर्ण काम पुरा गर्ने गरी बजेटको व्यवस्था हुने आश्वासन प्राप्त भएको उनले उल्लेख गरे ।

यसैगरी तिनाउ गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले गाउँमा देखिएको खानेपानी समस्या समाधानका लागि तत्काल पहल थाल्ने बताएका छन् । स्थानीय सरकारबाट हुने सक्ने सहयोग तथा पहलका लागि तयार रहेको भन्दै उनले विगतदेखिको लाइनको समस्याका बारेमा आफू पनि केही हदसम्म जानकारी भएको बताउँदै उनले यसका लागि खानेपानी उपभोक्ता समितिले तदारुकता देखाउनु पर्नेमा जोड दिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।