ताजा अपडेट »

राजनीति किन गर्ने ?

आइतबार, १८ साउन २०७७, १८ : १९
96 Shares


गाउँघरका म भन्दा जेठा दाजूहरु राजनीतिमा लाग्नु भएको थियो त्यसकारण म राजनीतिमा लागे, राजनीतिमा लागेपछि नेता भइन्छ, त्यसैले म राजनीतिमा लागे, मलाई सभासद हुन, मन्त्री हुन मन छ, त्यसैले म राजनीतिमा लागेको छु । थारु जातिहरुलाई अधिकार दिलाउनको लागि मैले राजनीति गरेँ, मुस्लिमहरु अन्यायमा छन्, उनिहरुको न्यायको लागि मेरो राजनीतिक अभियान, दलित मुक्तिको लागि म अगाडि बढेको छु ।

महिला अधिकारको लागि मेरो संघर्ष, जनजातिका अधिकारको लागि मेरो राजनीतिक यात्रा, मधेसी मुक्तिको लागि मेरो राजनीति । यादवहरुको हितको निम्ति, क्षेत्रीहरुको अधिकारको निम्ति, ब्राह्मणहरुको हकहितको निम्ति, आफ्नै पार्टीको विस्तारको निम्ति । जब हामीले राजनीतिलाई यसरी बुझ्दछौ तब सम्झनुहोस् कि हाम्रो यात्रा गन्तब्यसम्म पुग्ने छैन र हामी बीचमै निराश वा असफल भएर फर्कने छौं । यसखालको चिन्तन र सोँच अपूरो र एकांकी रहेको छ । यो अल्पज्ञान मात्र हो, पूर्ण ज्ञान होइन । जब हामी समग्रमा विषयलाई बुझ्दैनौं, जब हामी अंशलाई मात्र समातेर अगाडि बढ्दछौ तब हामी गन्तब्यमा पुग्दैनौ । विषयलाई, समस्यालाई टुक्रा–टुक्रामा बुझ्ने कुरा सहि होइन । कुनै ब्यक्ती नेता हुने, सभासद हुने वा मन्त्री हुने भन्ने कुरा चाहाना र इच्चाले मात्र हुने कुरा होइन। त्यो संयोगको कुरा हो ।

हामीले विषयलाई वैज्ञानिक ढङ्गले ठिक ठिक समातेउ भने हामीले नचाहाँदा–नचाहादै पनि नेता वा मन्त्री बन्ने सम्भावना रहन्छ । विषयलाई ठिकसगँ बुझिएन वा ग्रहण गरिएन भने हजारौं प्रयास गर्दा पनि सफलतामा नपुग्न सकिन्छ, अर्को कुरा नेता बन्दैमा त्यो महान हुन्छ भन्ने पनि हुँदैन । जनताको हितको प्रतिनिधित्व गर्ने पनि नेता भएको हुन्छ, प्रतिक्रियावादी पार्टीको पनि नेता हुन्छ । हिटलर पनि नेता हो, लेनिन पनि नेता हुन्, चाउचेस्कू पनि नेता हो, माओ पनि नेता हुन् । च्याङ्काइशेक पनि नेता हो, होची मिन्ह पनि नेता हुन् । मुख्य कुरा कुन वर्गको नेता भन्ने हो ।

महिलाका समस्या छन्, दलितका समस्या छन्, मधेसी समुदायका समस्या छन्, मुस्लिम विरादरीका समस्या छन्, थारु जातिका अधिकारका समस्या छन्, विपन्न वर्गका समस्या छन्, किसानका समस्या छन्, शिक्षकका आफ्ना समस्या छन् । विद्यार्थीका आफ्ना समस्या छन्, मजदूरहरुका समस्या छन्, अल्पसंख्यकका समस्या छन्। समग्रमा भन्नुपर्दा मानवजातिका समस्या छन्, ती दलित हुन्, महिला हुन्, मधेसी हुन् वा चौधरी, शिक्षक हुन वा कर्मचारी, ती सबैका समस्या छन् ।

मधेसका हुन वा पहाडका, हिमालका हुन वा कर्णालीका, पूर्वका हुन वा पश्चिमका, संस्कृतिका हुन वा साहित्यका , भाषाका हुन् वा लैंगिक हुन्, विपन्नताका हुन् वा असमानताका, यी सबै समस्याहरु हाम्रा साझा समस्याहरु हुन् । मानवजातीमाथि हुने गरेको, समुदायमाथि, धर्ममाथि, भाषामाथि, संस्कृतिमाथी गरिने विभेदहरु, राज्यद्वारा गरिने विभेदहरु, ती सबै हाम्रा साझा समस्याहरु हुन् । यो धर्तिमा जन्मिएपछि सबैको अधिकार बराबर हुनु पर्दछ । हामी मान्छे मात्र जन्मिएका हौं र हामी मान्छे भएर मर्न चाहान्छौं । मान्छे जन्मेको थियो, दलित बनेर मर्यो, मान्छे जन्मेको थियो, मुस्लिम बनेर मर्यो । मान्छे जन्मेको थियो, मधेसी बनेर मर्यो ।

मान्छे जन्मेको थियो बाहुन बनेर मर्यो, यो परम्परा, यो विभेदकारी धर्म संस्कृति, यो चाल–चलन, जस्ले हामीलाई मान्छेबाट टाढा गराउँदै छ । यो अन्यायपूर्ण विभेदकारी परम्परा, चालचलन रितिरिवाज नीति नियम के राम्रा छन त ! अहँ पटक्कै राम्रा छैनन् । यस्ले मानिस मानिस बीचको पर्खाल खडा गर्दै लैजान्छ, त्यसैले यो सोँच, चिन्तन, विचारधारा जो विज्ञान र प्रविधिको विपक्षमा उभिएको छ, त्यो चिन्तनहरुबाट माथी उठ्न आवश्यक छ । सबै भाषा सबै धर्म, सबै संस्कृति, सबै लिपि, सबै भेषभूषा मानवको दृष्टिमा समान हुन् र राज्यले पनि समान दृष्टिले हेर्ने र सम्मान गर्ने गर्नु पर्दछ ।

हामी जम्माजम्मी दुइथरी मानिसमा विभाजन हुनु पर्दछ । ठग्नेहरु र ठगिनेहरु, हेप्नेहरु र हेपिनेहरु, शोषण गर्ने र शोषित हुनेहरु, म भन्नेहरु र हामी भन्नेहरु, म विशेष जातको, म विशेष धर्मको, म विशेष पार्टी वा समुदायको भन्नेहरु र हामी जुनसुकै जात, धर्म र समुदायको भएपनी हामी मानव हौं मात्र मानव भन्नेहरु । म छु र त तिमी छौ, तिमी छौ र त म छु भन्ने विचार र मान्यताबाट हामी अगाडि बढौं । जस्ले यसरी सोँच्दैन, त्यो महिला होस वा दलित, मुस्लिम होस वा मधेसी, जनजाति होस वा आदिवासी, त्यो हाम्रै समुहमा किन नहोस क्रमशः उ यो न्यायपूर्ण विचारको विपक्षमा उभिने छ ।

किनकी विचार जातका आधारमा, धर्मका आधारमा बनाउने कुरा होइन, विज्ञान र यथार्थ जात र धर्म भन्दा माथी छ । विचार समुदायका बन्धनमा बाँधिएर बस्दैन । यसर्थ यादव हो त्यसकारण यो मेरो, चौधरी हो त्यसकारण यो मेरो, ठकुरी हो त्यसकारण यो मेरो, पहाडको हो त्यसकारण यो मेरो, नातेदार हो त्यसकारण यो मेरो, दलित हो त्यसकारण यो मेरो, पहाडको हो वा पुर्वेली हो वा पश्चिमेलि त्यसकारण यो मेरो भन्ने चिन्तन वैज्ञानिक चिन्तन होइन, फलानो जातले राम्रो विचार लिन्छ भन्ने हुदैन । पहाडियाले या तामाङले, राइले या कसैले कुनै क्षेत्र वा समुदायमा जन्मिएकै कारण राम्रो हुन्छ भन्ने विचारलाई हामिले त्याग्न सक्नुपर्दछ ।

जब तपाई समग्रमा विषयलाई लिन हुन्न तब तपाइँको राजनीतिक यात्रा अल्पायूको हुनेछ । चुनावमा टिकट मिलेन, तपाई भाग्नुभयो, मन्त्रीको कोटा परेन तपाईं भाग्नुभयो, केन्द्रीय समितिमा पर्नु भएन तपाइँले बबाल गर्नु भयो, तपाईंले भनेको मान्छे त्यस ठाउँमा परेन, तपाई निराश हुनुभयो, पहिलो पटक पार्टीले चुनाव हार्यो, तपाईं लल्याक–लुलुक हुनुभयो । केहि यसरी नै राजनीतिलाई नबुझेका मान्छेहरु पार्टी छोडेर गए र तपाईं पलायन हुनुभयो । अर्कोले प्रलोभन देखाइदियो, तपाईं उतै दगुर्नु भयो । अल्पज्ञानको परिणाम यहि निस्कने छ ।

अतः विषयलाई गम्भीरताका साथ बुझौं । म राजनीति किन र कसको लागि गर्दै छु भन्ने मन्थन गरौं । संगठनमा सधै मैले भने जसरी नै हुन्छ भन्ने कुरा हुदैँन । कैयौंपटक तपाइँका चाहना विपरीत निर्णयहरु हुन सक्दछन , तपाइले त्यस्लाइ पचाउन सक्नु पर्दछ । कैयौं ठूला–ठूला नेताहरु अल्पमतमा परेको , कारवाहीमा परेको उदाहरणहरु छन् । चीनका माओ अल्पमतमा परेका थिए, उनका विचारहरु एक अधिवेशनसम्म अस्विकृत भएका थिए । डा. बाबुराम भट्टराईलाई लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव राखेबापत साधारण सदस्य मात्र रहने गरि कारवाही गरिएको थियो । तर, वहाँहरुले धैर्यता गुमाउनु भएन, आफ्नो विचारमा निरन्तर अडिग भैरहनुभयो ।

दलितमा जन्मिएको व्यक्ति दलितको नेता हुनु सामान्य कुरा हो । के तपाई खसहरुको पनि नेता हुन सक्नुहुन्छ ? यादव कुलमा जन्मिएको व्यक्ति यादवको नेता हुनु सामान्य कुरा हो, के तपाईं राई लिम्बुहरुको पनि नेता हुन सक्नुहुन्छ ? ब्राह्मण कुलमा जन्मिएको ब्यक्ती सोही कुलको नेता हुने सामान्य कुरा हो, के तपाई मुस्लिमको पनि नेता हुन सक्नु हुन्छ ? महिला भएर जन्मिएकी बहिनी महिला वर्गको नेता हुने कुरा सामान्य हो, के तपाई पुरुष वर्गको पनि नेता हुन सक्नुहुन्छ ?

तपाई पूर्वको नेता पश्चिमको पनि नेता हुन सक्न पर्यो, पश्चिमको नेता पूर्वको पनि नेता हुन सक्न पर्यो । जसरी पदार्थ अस्तित्वमा रहनको लागि पदार्थले हरपल हरक्षण भिन्नलाई साथ लिएर हिड्नुमा नै उसको अस्तित्व निर्भर छ । ठिक त्यसरी नै हामिले पनि भिन्नको अस्तित्व स्वीकार गरेर अगाडि बढ्न सक्ने हिम्मत गर्नु पर्दछ । महाभारत कथामा एउटा प्रसङ्ग छ ‘द्रोणाचार्य गुरुलाई शैन्य कमाण्डरबाट नहटाउँदासम्म पाण्डबहरुले युद्ध जित्ने सम्भावना नरहेको निष्कर्ष निस्क्यो । अनि द्रोणाचार्यको प्रिय पात्र छोरा अस्वस्थमा मर्यो भनेर पाण्डव पक्षबाट हल्ला पिटाइयो ।

यो हल्ला सुनेपछी दोर्णाचार्यले भने ‘युद्धकालमा शत्रु पक्षबाट चलाएका हल्लाहरुमा म विश्वास गर्दिन, यदि यो कुरा सत्यवादी युधिष्ठरको मुखबाट निस्केको भए मैले विश्वास गर्न सक्दथे ।’ के हामी युधिष्ठर जस्तै विश्वाशिलो बन्न सक्दछौ । के हामी बुद्धको विचार अबलम्वन गर्न सक्दछौ । त्यसैले सामुहिकता हाम्रो मूल मन्त्र हो, कमिटी प्रणाली हाम्रो आत्मा र जीवन हो । समग्र मानवजातीको मुक्ती नै हाम्रो दर्शन हो, मूल धर्म हो भन्ने मान्यतामा हामी अगाडि बढौं । लक्ष्यमा पुग्न हामिलाई कसैले रोक्ने छैन । मैले यसरी सोँचें । यहाँहरुले पनि यसरी नै सोँच राख्दा कसो होला !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।