ताजा अपडेट »

असारको मध्य दिन, १७ औँ राष्ट्रिय धान दिवस

सोमबार, १५ असार २०७७, ०५ : ५०
6 Shares

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला ।

रोपाईंको समयमा ‘किसानको रहर’ शीर्षकमा दैवज्ञराज न्यौपानेले लेखेको यो गीत धेरैले सम्झन्छन् । प्राथमिक विद्यालयको पाठ्यक्रममा समावेश यो गीत धेरै किसानको छोराछोरीले गीतकै रुपमा गाएका छन् । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन (असार १५) आज धान दिवससँगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । यो वर्ष १७ औँ अन्तराष्ट्रिय धान दिवस “धान उत्पादनमा वृद्घि, आत्मनिर्भता र समृद्घि” भन्ने मूल नाराका साथ विविध कार्यक्रम गरि मनाइदैँ छ ।

आजको दिन खेतमा धान रोपाईंसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । हरेक वर्ष विभिन्न कार्यक्रम गरी धान दिवस मनाउने गरिएपनि यो वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम तथा सभा सम्मेलन विना नै यो पर्व मनाउन लागिएको छ ।

यसैबिच रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना कहरका बीच कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धमाधम धान रोपाइँ गरेको छ । तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो । विगतको वर्षमा नगरमा ६ हजार ८ सय ४ हेक्टरमा धान रोपाई हुने गरेको थियो । यो वर्ष भने बाँझो रहेका ६ सय हेक्टर थप गरी ७ हजार ४ सय ८४ हेक्टरमा धान रोपाई हुने कृषि शाखाका अधिकृत राम प्रसाद खनालले बताए ।

धान दिवसको अवसर पारी नगरको प्रशासनिक भवनको पौने ३ बिगा जग्गामा जनप्रतिनिधी र कर्मचारीले धान रोपेर मनाउँदै गरिएको उनले जानकारी गराए । नगरमा हालसम्म ४० प्रतिशत रोपाई सकिएको छ । लकडाउनको कारण नगरबासीहरु फुर्सदिला रहँदा धान रोपाइँ विगतका वर्षमा भन्दा यो वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमिन बाँझो नराख्ने निर्णय गरेको हो । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य जमिन बाँझो नराख्ने नीति लिएको तिलोत्तमाले उत्पादन बढाउन कार्यगत निर्णय गरेको हो ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।