ताजा अपडेट »

एक हप्ता पनि चलेनन् टिप्पर : ‘कोरोना कहर भन्दा असार मसान्तको डर’

आइतबार, ०७ असार २०७७, १८ : ४४
10 Shares

पाल्पा । विश्वव्यापी कोरोना महामारीसँगै लामो समयको बन्दाबन्दी र वर्षायाम सुरु भएपछि यस क्षेत्रका ढुवानी तथा टिप्पर व्यवसायीहरुलाई थप चिन्ता बढेको छ । कोरोना महामारीले विश्व आक्रान्त भइरहँदा मुलुकले ठूलो आर्थिक क्षेती ब्यहोर्नु पर्यो । यसैगरी बन्दाबन्दीको लामो समयसम्म मार खेपेका ढुवानी व्यवसायीहरुलाई पनि नजिकिएको असार मसान्तले थप पिडा दिन थालेको हो । ‘ढुवानी तथा टिप्पर व्यवसायीहरुको मूख्य सिजन भनेको नै चैत, बैशाख र जेठ महिना हो । यो अवधि कोरोना महामारीका कारण बन्दाबन्दीले घरमै बसियो ।’-व्यवसायीहरुले भोगेका पिडा सुनाउँदै टिप्पर व्यवसायी तथा तमन्ना मल्टि प्रपोजका प्रबन्ध निर्देशक तोया लम्सालले भने ‘असार मसान्त नजिकिँदै छ, बैँक र साहूले कुरेर बसेका छन् । वर्षभरीका लागि कमाउने समयमा घरमै बस्नु परेपछि व्यवसायीहरुलाई मर्नु र बाँच्नुको अवस्था जस्तै भएको छ ।’

पाल्पाको तिनाउ गाउँपालिकामा रहेका ५० बढी टिप्पर व्यवसायीहरुले कोरोना कहर भन्दा ठूलो डर बैंकको ऋण र असार मसान्त भएको उल्लेख गरे । ३/४ महिना मात्र निरन्तर सञ्चालन गरेर वर्षभर खर्च व्यवस्थापन गर्नुपर्ने र त्यही समयमा व्यवसाय ठप्प हुँदा कोरोनाबाट बचे पनि डुब्ने चिन्तामा रहेको लम्सालले बताए । सरकारले उद्योग तथा कल-कारखानाहरुलाई सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्नका लागि जेठ महिनाको अन्तिम सातातिर अनुमती दिए पनि पाल्पामा भने जेठको अन्तिम दिन टिप्पर सञ्चालन गर्न पाउने निर्णय भएको थियो । टिप्पर सञ्चालनमा ल्याउन पाउने निर्णय भएपनि ढुवानीको काम सुरु हुन नपाउँदै लगातार वर्षाका कारण नदीनाला बढ्नुका साथै बाटो खराब भएपछि टिप्पर व्यवसायीहरु थप चिन्तित् भएका हुन् ।

‘ढुवानी सुरु हुन लागेको एक साता पनि हुन नपाउँदै वर्षाका कारण काम रोकेर बस्नुपर्दा लामो समयपछि राहतको अपेक्षा गरेका ढुवानी व्यवसायीहरु थप मारमा पर्यौ ।’-टिप्पर व्यवसायी तथा एआरएम प्रालिका अर्विन्द पाण्डेले गुनासो गरे । उनका अनुसार तिनाउ गाउँपालिकामा ३१ वटा ढुवानी सेवा रहेका छन् । ती ढुवानी सेवाका ३०० बढी टिप्पर छन् । टिप्परका चालक, सह–चालक, ढुवानीमा कार्यरत कर्मचारी गरी प्रतक्ष्य रुपमा ७ सय बढी रोजगार छन् । लकडाउन र वर्षाका कारण उनिहरुको हातमुख जोड्ने बाटोनै बन्द भएको उनले बताए । तिनाउमा ६ वटा खानी छन् । ती खानीबाट विभिन्न सिमेण्ट उद्योगमा ढुवानी गर्ने टिप्पर चैत्रदेखि ठप्प छन् । ३ सय बढी टिप्पर नचल्दा मासिक तिर्नुपर्ने किस्ताले अहिले व्यवसायीको टाउको दुखेको पाण्डे बताउछन् । उनले प्रति टिप्पर खरिद गर्दा ३६ लाख पर्ने र मासिक किस्ता ५० देखि ७५ हजारसम्म पर्ने हुँदा सिजनको बेला सञ्चालन नहुँदा व्यसाय र व्यवसायी धरापमा परेको बताए ।

बन्दाबन्दीका कारण लामो समय खाली बसेका ढुवानी व्यवसायी काम सुरु हुन लागेको हप्ता दिन पनि पुग्न नपाउँदै वर्षाले रोकिनु परेपछि थप चिन्तामा परेको बताउँदै टिप्पर व्यवसायी विष्णु प्रसाद पाण्डेले भने-‘वर्षाले काम पुनः रोक्नुपर्ने अवस्था आयो, असार मसान्त देखि असोज मसान्तसम्म खानी सञ्चालन गर्न र वन तथा खानी प्रवेश गर्न नपाउँनेहुँदा बैँकको ऋण तथा व्यजले व्यवसायीहरु टाँट पल्टिने भयौं ।’ व्यवसाय ठप्प भएपछि व्यवसायीहरु विस्थापीपत हुने अवस्था आएको बताउँदै उनले सरकारले लकडाउन अवधिको बैँक व्याज मिनाह तथा बैंकको किस्ता तिर्नुपर्ने समयावधी थप गरिनु पर्ने उल्लेख गरे । त्यसैगरी अर्का व्यवसायी अरविन्द पाण्डेले पछिल्लो एक वर्ष भरिनै टिप्पर चल्न नपाएको गुनासो गर्दै भएन ‘३१ ढुवानीका ३ सय बढी टिप्परमा अरबौं लगानी छ । ती टिप्परहरु मध्ये केही टिप्परको मासिक किस्ता २ करोड कढी छ । अब यस व्यवसायलाई बचाउन र यससँग आवद्धको जिविकोपार्जनका लागि सरोकारवालाले सहयोग गर्नै पर्ने हुन्छ ।’ सरकारले चैत मसान्तसम्मको किस्ता असारमा मसान्तभित्र तिर्न भने पनि व्यवसायीहरु तिर्न सक्ने अवस्थामा नरहेको उनले बताए ।

रुपन्देहीको सिमा नजिकै रहेका पाल्पाका खानीबाट करिब ९० प्रतिशत चुनढुुङ्गा रुपन्देहीमा भित्रिन्छ । रुपन्देहीमा करिब एक दर्जन सिमेण्ट उद्योग छन् । देशमै ५० प्रतिशत बढी सिमेण्ट उत्पादन रुपन्देहीमा हुन्छ । तिनाउका खानीबाट अर्घखाँची, सर्वोत्तम, होङ्गसी लगाएतका उद्योगहरुमा चुन सप्लाई हुुन्छ । सिमेण्ट उद्योग सरकारको प्राथमिकतामा रहेको उद्योग हो । सिमेण्ट उद्योगले चैत्र, बैशाख र जेठमा असोजसम्मका लागि चुन ढुङ्गा स्टक रहनेगरी भण्डारण गर्दछन् । अहिले टिप्पर नचल्दा ति उद्योगलाई आवश्यक चुन ढुङ्गा अभावमा सिमेण्ट उद्योग पनि बन्द हुने सम्भावना रहेको छ । टिप्पर व्यवसायीका अनुसार रुपन्देहीमा १२ सय टिप्पर रहेका छन् । केही टिप्पर अन्य क्षेत्रमा चल्ने भएपनि अधिकांश खानीमा सञ्चालन हुने ती व्यवसायी तथा त्यहाँ कार्यरत कामदार र तीनका परिवारका लागि हातमुख जोड्ने विकल्प समेत गुमेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।