ताजा अपडेट »

लकडाउन : होटल व्यवसायी अत्याधिक प्रभावित

मंगलबार, १३ जेठ २०७७, १८ : ५१
8 Shares

पहिलेको अवस्थामा आउन कम्तिमा २ वर्ष लाग्छ : व्यवसायी

बुटवल । विश्वव्यापी कोरोना महामारिसँगै मुलुक बन्दाबन्दीका कारण सबैभन्दा बढी होटल तथा पर्यटन व्यवसायी मारमा परेका छन् । सरकारले लकडाउन अवधिमा ४२ प्रकारका औद्योगिक क्षेत्रहरुलाई विशेष सुरक्षा अपनाएर सामाजिक दूूरी कायम गर्दै सञ्चालनमा ल्याउन अनुमति प्रदान गरेको छ । महामारीको समयमा संक्रमण फैलिन सक्ने अति संवेदनशिल मानिएको होटल तथा पर्यटन व्यवसायलाई भने सञ्चालनका लागि अनुमति छैन । संघीय सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष- २०७६ लक्षित सञ्चालनमा ल्याइएका नयाँ तथा पुराना होटल व्यवसायहरु अहिले ठप्प रहेका छन् ।

होटल व्यवसायी महासंघ रुपन्देहीका अनुसार रुपन्देहीमा होटल व्यवसायतर्फ २० अर्ब बढीको लगानी रहेको छ भने ४ अर्व बढी बैंकहरुको लगानी रहेको छ । यसैगरी १ हजार ८ सय बढी व्यवसायीहरु यस क्षेत्रमा रहेका छन् । रुपन्देहीमा साना ठूला गरी ४ हजार २ सय बढी होटल व्यवसायी तथा त्यसमा प्रत्यक्ष रोजगार प्राप्त गर्ने २० हजार बढी मजदुर बेरोजगार हुन पुगेको होटल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले बताए । जिल्लामा १० वटा तारे होटलसहित १ सय ५० वटा क वर्गका होटल, ५ सय बढी ख बर्गका, १ हजार ५ सय बढी ग वर्गका तथा २ सय बढी स्तरीय पार्टि प्यालेस तथा रेष्टुरेन्टहरु रहेको छन् । सरकारले आह्वान गरेको भ्रमण वर्ष लक्षित रुपन्देहीमा १ बढी ठूला होटलहरु थपिएका थिए । थपिएका कतिपय होटलहरु निर्माणाधीन अवस्थामा रोकिएको अध्यक्ष जिसीले जानकारी गराए । होटल एसोसिएशन नेपाल (हान)का केन्द्रीय सदस्य तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्रामका सञ्चालक गोपाल रानाले होटल व्यवसायीहरु पहिलेको अवस्थामा पुग्नका लागि अझै २ वर्ष लाग्ने अनुमान गरे । राज्यले विशेष राहत प्याकेज तथा कार्यक्रमको घोषणा गर्न नसकेको अवस्थामा आगामी १५ वर्षसम्म होटल तथा पर्यटन व्यवसायमा असर गर्ने उनको आंकलन छ । ६० करोड बढी लगानी भएको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा १ सय जना बढीले प्रत्यक्ष रोजगार प्राप्त गरेका थिए । बन्दाबन्दीका कारण २ महिना बढी उनिहरु घरमै बस्नुपरेको छ । बन्दाबन्दीका कारण अनुमानित ६ करोड बढीको कारोबार रकममा घाटा लागेको रानाले बताए ।

यसैगरी सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष-२०७६ तथा नेपाल भ्रमण वर्ष- २०२० लाई लक्षित गरी २० करोड बढी लगानी थप गरी नयाँ प्रोजेक्ट तयार पारेपनि कोरोना महामारी तथा बन्दाबन्दीका कारण लगानी डुब्ने अवस्थामा रहेको उनले बताए । नेपाल होटल व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी माधव नेपालले बन्दाबन्दीका कारण ३५ प्रतिशत बढी होटल व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको बताए । सरकारले घोषणा गरेका नेपाल भ्रमण वर्ष २०२० तथा लुम्बिनी भ्रमण वर्ष लक्षित खुलेका नयाँ होटल तथा पुराना होटलहरु ठूलो आर्थिक संकटबाट गुज्रीरहेको बताउँदै उनले यसअघिको अवस्थामा आउनका लागि उनिहरुलाई कम्तिमा पनि २ वर्ष लाग्ने अनुमान गरे । बुटवलको न्यू इरा होटलकका सञ्चालक समेत रहेका नेपालले बन्दाबन्दीका कारण आफ्नो होटलमा कार्यरत ३ दर्जन बढी प्रत्यक्ष रोजगार प्राप्त गरेका मजदुरहरु काम विहिन बताएका छन् । सरकारले होटल तथा पर्यटन व्यवसायीहरुका लागि विशेष राहत प्याकेजको घोषणा गरी ऋणमा ब्याज मिनाह, कर्जाको पुनःताजकी तथा ऋण तिर्नका लागि समयावधी थप हुनु पर्ने लगायतका योजना ल्याउनु पर्ने बताए ।

नेपाल होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा भैरहवामा सञ्चालनमा रहेको होटल नान्स्का सञ्चालक चन्द्रप्रकास श्रेष्ठले पनि सकारले विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने आवश्यता औल्याउछन् । सरकारले घोषणाा गरेको भ्रमण वर्ष लक्षित गरी पछिल्लो समय रुपन्देहीमा मुलुकमै सबैभन्दा बढी होटल व्यवसायी सञ्चालनमा आउने क्रम बढेको थियो । कोरोना महामारीका कारण व्यवसायीहरुको लगानी अन्यौलमा रहेको श्रेष्ठले बताए । थ्री स्टार मान्यताको होटल नान्सलाई भ्रमण वर्ष लक्षित गरी फोर स्टारमा स्तर वृद्धिका लागि काम भैरहेको अवस्थामा कोरोना महामारी तथा बन्दाबन्दीका कारण बीचमै काम रोक्नु पर्दा लगानी अन्यौलमा रहेको उनले बताए । होटलमा प्रत्यक्ष रोजगार प्राप्त गरेका ४ दर्जन कामदारहरुलाई घर पठाउनु परेको बताउँदै उनले बन्दाबन्दीका कारण हालसम्म अनुमानित झण्डै १ करोड कारोबार रकम घाटा लागेको बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।