ताजा अपडेट »

संस्कृत विश्वविद्यालयमा कोरोना विशेष अस्पताल

शुक्रबार, १४ चैत्र २०७६, ०८ : १९
4 Shares

दाङ । बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण अस्पतालमा व्यवस्थापन गरिएको कोरोना विशेष अस्पताल विहिवारदेखि विधिवत रुपमा सञ्चालनमा आएको छ । विशेष अस्पतालमा हाल दुई जना शंकास्पद बिरामीहरु भर्ना गरी उपचार भैरहेको प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेसु डा. सर्वेश शर्माले बताएका छन् ।

प्रदेश सरकारको सम्बन्धित पालिकाको सिफारीसमा मात्र यहाँ बिरामी भर्ना हुन सक्ने सो अस्पतालले जनाएको छ । अस्पतालको सूचना अधिकारीमा जनश्वास्थ्य कार्यालयका जनश्वास्थ्य अधिकृत कमल चन्दलाई तोकिएको छ । अस्पताल चौविसै घण्टा सञ्चालनमा आउनेछ । हाललाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र तुलसीपुर उपमहानगरपालिका माताहतका स्वास्थ्यकर्मिहरुले उपचारसेवा दिइरहेका छन् । भर्ना भएका बिरामीहरुलाई निःशुल्क उपचार प्रदान गर्ने गरी पाँच नम्बर प्रदेश सरकारले यो अस्पताल सञ्चालनमा ल्याएको हो ।

विदेशबाट आएकि बबई गाउँपालिकाकि एक किशोरी र भालुवाङका एक युवकको सो अस्पतालमा उपचार भैरहेको छ । हाल स्वास्थ्य उपचारमा ५ जना स्वास्थ्यकर्मिहरु खटिएका छन् । एक सय बेडको अस्पतालमा हाललाई सामान्य औषधिहरु तथा बिरामीलाई आवश्यक पर्ने अक्सिजनको समेत व्यवस्थापन गरिएको बताइएको छ । यद्यपि कोरोना प्रमाणित भैसकेपछि सघन उपचार चाहिने गम्भीर प्रकृतिका बिरामीहरुलाई भने बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा रिफर गरिने व्यवस्थापन गरिएको छ ।

त्यसका लागि तीन वटा एम्वुलेन्स स्ट्यान्डवाई रहने पनि बताइएको छ ।सो अस्पतालमा आवश्यकता अनुसार क्रमशः आइसियु सेवा समेत सञ्चाललनका लागि प्रदेश सरकार तयार रहेको र हाललाई २ करोड आवश्यक उपकरण व्यवस्थापनका लागि बजेट आएको पनि बताइएको छ । मुलुकको मोफसलमा रहेको यो अस्पतालमा पाँच नम्वर प्रदेश माताहतका शंकास्पद बिरामीहरुको उपचार गरिनेछ ।

तर यहाँ आउनुपूर्व विरामीहरुले सम्बन्धित पालिकामा स्वास्थ्य परीक्षण गराई यहाँ पठाइएको सिफारीस समेत लिएर आउन पनि अस्पताल प्रशासनले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।