ताजा अपडेट »

‘पूर्वाधार निर्माणमा राज्यले ठूलो लगानी गर्नु हाम्रा लागि अवसर हो’

आइतबार, २५ फागुन २०७६, १८ : ५९
2 Shares

रुपन्देहीमा रहेर निर्माण क्षेत्रमा काम गर्ने व्यवसायीहरुको छाता संगठन लुम्बिनी निर्माण व्यवसायी संघको हालै सम्पन्न १६ औं साधारण सभा तथा १२ अधिवेशनमा सहदेव खड्का अध्यक्ष पदका लागि निर्वाचित भएका छन् । २ वर्षका लागि नव-निर्वाचित कार्यसमितीहरुले संघमा आवद्ध व्यवसायीहरुको हकहितका लागि के कस्ता काम गर्न सफल रहन्छ भन्ने चासो व्यवसायीहरुमा देखिएको छ ।

संघमा आवद्ध जिल्लाका ३ सय बढी व्यवसायीहरुका समस्या र चुनौतीहरुलाई समाधान गर्दै राज्यले उनिहरुका लागि लिने गरेका नीति तथा व्यवहारहरुलाई पनि व्यवसायीहरुको हितमा हुनेगरी ल्याउन दबाब सिर्जना गर्नु पर्ने आवश्यकता रहन्छ । निर्माण व्यवसायलाई मर्यादित र राज्यप्रति जिम्मेवारसँगै व्यवसायी मैत्री बनाउनुपर्ने दुई धारका चुनौतीहरुलाई कसरी अगाडी बढाउने योजना रहेका छन् भन्ने विषयमा ग्लोबल आवाजका लागि लुम्बिनी निर्माण व्यवसायी संघका नव-निर्वाचित अध्यक्ष सहदेव खड्कासँग डि.बी. सुस्लिङले गरेको कुराकानी:

संघलाई कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ?
- यो एउटा गैर राजनैतिक, व्यवसायीक र साझा संस्था हो । निर्माण व्यवसायीहरुलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन आवश्यक छ । सबै कुरा राज्यलाई मात्र दोष दिएर पनि पुग्दैन त्यसका लागि हामी सबै निर्माण व्यवसायीहरुले यो पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि मेरो पहल रहने छ । नेतृत्वका लागि चुनाव नै गर्नुपर्ने अवस्था आएको थियो । तर, काम गर्ने शिलशिलामा हामी सबै मिलेर जानुपर्छ भन्ने मेरो मान्यता हो । हामी पक्ष र विपक्ष भन्दा पनि नितान्त व्यवसायीक भएर अगाडी बढ्नका लागि साथीहरुलाई संगठित गर्ने छौं ।

संगठनका समस्या, चुनौती हरु के-के देख्नुभएको छ ?
- सबैभन्दा ठूलो समस्या भनेकै राज्यले निर्माण व्यवसायीहरुले हेर्ने दृष्टिकोण र केही नीतिहरु हुन् । ६ महिनामा ४/४ पटकसम्म खरिद नियमावली परिमार्जन भयो राज्यको नयाँ संरचना अनुसार अझै पनि नीति निर्माणको काम सम्पन्न भएको छैन । जिल्लामा धेरै साथीहरु संस्थामा आवद्ध नभएको अवस्था छ । कतिपय साथीहरु राज्यको नियमानुसार कर प्रणालीमा समेत सहभागी हुनुभएको छैन । त्यसकारण यी सबै कुराहरुलाई समाधान गर्नुपर्ने तत्कालका महत्पूर्ण आवश्यकताहरु हुन् ।

व्यवसायी तथा संघका लागि अबका अवसरहरु के-के हुन् ?
- चुनौतीहरुका बीच पनि अवसरहरु प्रशस्त मात्रामा हामीले प्राप्त गरेका छौं । दिनप्रतिदिन निर्माणका कामहरु बढ्दै गएका छन् । पूर्वाधार विकासका क्षेत्रमा राज्यले ठूलो लगानी गर्नुका साथै निजी स्तरबाट समेत निर्माणका कामहरुले तीव्रता पाएका छन् । यस कारण पनि ती सबै क्षेत्रमा हामीले काम गर्ने अवसर प्राप्त गर्नु सकारात्मक कुरा हो । यसका साथै बजारमा आएका नयाँ प्रविधिहरुले गर्दा पनि सहयोग प्राप्त हुने गरेका छन् ।

संघमा आवद्ध नभएका तथा साना व्यवसायीहरुलाई समेट्ने योजना केही छन् ?
-हामीले सकेसम्म सबै निर्माण व्यवसायीहरुलाई संघमा आवद्ध गराउने योजनामा छौं । उहाँहरुलाई यस संस्थाको सदस्य बन्नका लागि आग्रह गर्दै राज्यका लागि गर्नुपर्ने कर्तव्य पनि पालना गर्नका लागि आह्वान गर्दै छौं । साना ठूला सबै व्यवसायी साथीहरु संघमा आवद्ध भएपछि पेशागत सुरक्षाका लागि सबैले मिलेर पहल गर्न सजिलो हुन्छ भन्ने कुरा बुझाउन आवश्यक छ । पेशालाई मर्यादित र सम्मानित बनाउँदै लैजानका लागि पनि सबै निर्माण व्यवसायी साथीहरुलाई संगठित गर्ने संघको मूख्य उद्देश्य रहने छ ।

राज्यबाट संघले के-कस्ता अपेक्षा राखेको छ ?
- सबैभन्दा पहिले त, राज्यले हामीलाई हेर्ने दृष्टिकोण सकारात्मक होस भन्ने हो । कतिपय ठाउँमा नीतिगत अस्पष्टताले पनि हामीलाई काम गर्न अप्ठ्यारो हुने गरेको छ । अबको केही समयमा नयाँ नीति आउँदै छ भन्ने सुनेको छु, आशा छ त्यो नीतिले अवश्य पनि हाम्रा समस्याहरुलाई समाधान गर्ने छ । निर्माणको क्षेत्रमा काम गर्दा समयमा भुक्तानी नपाउने, राज्य संयन्त्रबाट गुणस्तर परिक्षणका लागि जनशक्तिको अभाव रहने र त्यसको दोष हामीले व्यहोर्नु परेको अवस्था कतिपय ठाउँमा देख्ने गरिएको छ । हाम्रा प्राविधिकहरुले परिक्षण गरे पनि राज्यबाट परिक्षणमा ढिलाई तथा सोही कारणले भुक्तानीमा समेत ढिला सुस्ती हुँदा काम गर्न असज हुने गरेका छन् । यी सबै कुराहरुको समाधान हुनुपर्छ भन्ने हाम्रो माग हो ।

यसैगरी निर्माणका क्षेत्रमा उपभोक्ता समितीलाई जिम्मा दिनुभन्दा व्यवसायीहरुलाई नै त्यसको जिम्मा दिइयो भने काम लागतमा गुणस्तरीय कामहरु हुन सक्छन् भन्ने मलाई लाग्छ । जिल्ला तहमा हुने विभिन्न निर्माणका क्षेत्रहरुमा २ करोडभन्दा माथीका योजनाहरु हामीले पाउने गरेका छैनौं । यसको हदबन्दी बढाएर ५ करोडसम्मका योजनाहरुमा जिल्ला भित्रकै निर्माण व्यवसायीहरुले काम गर्न पाउने व्यवस्था गरिनु पर्छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।