ताजा अपडेट »

साना उद्यमीलाई सघाउन उद्योग वाणिज्य महासंघमा विशेष केन्द्र स्थापना

विहीबार, ०६ मंसिर २०८१, ०७ : २८
40 Shares
विहीबार, ०६ मंसिर २०८१
40 Shares

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघमा लघु घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ । सोमवार एक कार्यक्रमबीच काठमाडौंमा रहेको महासंघको केन्द्रीय कार्यालयमा केन्द्र स्थापना भएको हो । राष्ट्रिय योजना आयोगका सचिव मधु मरासिनी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण राउत र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेका हुन ।

केन्द्रले व्यवसाय सञ्चालनका लागि आवश्यक सीप, प्रविधि र तालिम प्रदान गर्ने बताइएको छ । उद्यमीहरूलाई सशक्त बनाउनका लागि बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन र व्यवसाय रणनीतिसम्बन्धी सहायता पनि उपलब्ध गराउने बताइएको छ । यस्तै, केन्द्रले उत्पादन क्षमता बढाउन र गुणस्तर सुधार गर्न प्राविधिक सल्लाह तथा उपकरणसमेत उपलब्ध गराउनेछ । उत्पादित सामानलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन, व्यापार मेलाहरू, प्रदर्शनीहरू र अन्य व्यापार प्रवद्र्धन कार्यक्रममा सहभागी गराई बजार विस्तार गर्न पनि सहजीकरण गर्ने बताइएको छ ।

केन्द्रले व्यवसाय सञ्चालन, व्यवस्थापन, उत्पादन र विपत् व्यवस्थापनका लागि सल्लाहकारहरूको परामर्श सेवा पनि उपलब्ध गराउनेछ । यसले व्यवसायसम्बन्धी समस्याहरू समाधान गर्न र कानुनी सल्लाह प्रदान गर्न मार्गदर्शन गर्नेछ । केन्द्रले उद्यमीहरूलाई व्यवसाय दर्ता, लाइसेन्स प्राप्ति, करसम्बन्धी जानकारी र सरकारी नियमहरूको पालना गर्न सहयोग गर्नेछ ।

स्तरोन्नतिपछि आइपर्ने चुनौती सामना गर्न नवप्रवर्तन आवश्यक
नेपाल अतिकम विकसित देशबाट स्तरोन्नति हुँदा आइपर्ने चुनौती सामना गर्न साना उद्यम एवं स्टार्टअपमा नवप्रवर्तन आवश्यक रहेको सरोकारवालाले जोड दिएका छन् । उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको एफएनसिसिआई इनोभेसन डायलगमा बोल्दै उनीहरूले स्तरोन्नति हुँदा नेपालले अन्तर्राष्ट्रियस्तरमा पाइरहेको सुविधा कटौती हुने भएकाले प्रतिस्पर्धी बन्न नयाँ र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले पुराना कानुन परिमार्जन गरी व्यवसायमैत्री बनाउने प्रयास भइरहेको बताए । उनले बौद्धिक सम्पत्तिसम्बन्धी कानुन परिमार्जन गरिरहेको उदाहरण प्रस्तुत गर्दै उनले नवप्रवर्तनमा सहयोग पुग्ने गरी नीतिगत सुधार गरिने पनि जानकारी गराए । राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले नेपालले अतिकम विकसित देशबाट स्तरोन्नति हुने हुँदा पछि तल झर्नुनपर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रको विकल्प नभएकाे बताउदै ‘चुनौती सामना गर्न निजी क्षेत्रले पनि पहल गर्नु पर्ने बताए । 

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले साना, मझौला र लघु उद्यममा पर्ने प्रभाव कम गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।