ताजा अपडेट »
स्कूल डायरी

मुकुन्द प्रावि : बसाईसराईले विद्यार्थी नपाउँदा बन्द हुने चिन्ता

शुक्रबार, ३२ जेठ २०८१, ०९ : ००
854 Shares
शुक्रबार, ३२ जेठ २०८१
854 Shares

पूर्वखोला गाउँपालिका वडा नं.४ को देवीनगरमा ६  वटा प्राथमिक विद्यालय र एउटा माध्यमिक विद्यालय छ । त्यसमध्येको एउटा विद्यालय हो मुकुन्द प्राथमिक विद्यालय । २०५० सालमा स्थापना भएको उक्त विद्यालयमा यतिबेला बालकक्षादेखि कक्षा पाँचसम्म पढाइ हुन्छ  । छात्र ८ र छात्रा १२ गरी जम्मा २० जना विद्यार्थी यस विद्यालयमा अध्ययनरत् छन् । गतवर्षको तुलनमा यो वर्ष तीन जना विद्यार्थी संख्या बढेको विद्यालयको भर्ना तथ्याङ्कले बताउँछ ।

विद्यार्थी पढ्न नछुटून् भनेर विद्यालयले वर्षेनी अभिभावकका घरदैलोमा पुगेर भर्नाको सूचना दिन्छ । नयाँ विद्यार्थीलाई विद्यालयमा स्वागत कार्यक्रमको आयोजना गर्छ । अतिरिक्त क्रियाकलापमा जोड दिन्छ । पठनपाठनलाई नियमित गराई शैक्षिक गुणस्तरीयता कायम गर्न सबै शिक्षकको प्रयास कायमै छ । परीक्षा नियमित हुन्छ । नतीजा सुन्न अभिभावकहरु स्कुलसम्म आइपुग्छन् । चासो र चिन्तन अभिभावक र समितिको राम्रो छ । शिक्षक अभिभावक संघ र विद्यालय व्यवस्थापन समितिको बैठक नियमित बस्ने गरेको छ ।

लोक्कीमाया सिंजालीको नेतृत्वमा विद्यालयको शैक्षिक प्रशासन र पठनपाठन सञ्चालमा रहेको छ । तीनजना शिक्षक, एक जना बालशिक्षा केन्द्र सहयोगी र एक जना सहायक कर्मचारीले विद्यालयमा नियमित शैक्षिक गतिविधिहरु सञ्चालन गरिहेका छन् । मित्रहादुर सोमै, नारायण दर्लामी शिक्षक हुन् । बालविकास केन्द्रको सहयोगीका रुपमा डिलमाया थापा छिन् भने दुर्गीसरा दर्लामी कार्यालय सहयोगीका रुपमा छिन् ।

स्थानीय हिकबहादुर दर्लामीले जग्गा सहयोग गरेर स्थापना गरिएको मुकुन्द प्राथमिक विद्यालय, देवीनगरको ढापखोलामा रहेको छ । स्व. टीकाबहादुर दर्लामी र स्व. सम्मरबहादुर दर्लामीका साथै कृष्णबहादुर दर्लामी, तुलबीर दर्लामी र सम्मरबहादुर दर्लामीको व्यवस्थापन र सहयोगमा यो विद्यालय आजको अवस्थामा आइपुगेको घामजस्तै छर्लङ्ग छ । यमकुमारी ढेंगामगरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति र चन्द्रबहादुर दिशामगरको अध्यक्षतामा शिक्षक अभिभावक संघ क्रियाशील रहेको पाउन सकिन्छ ।

school dairy

गाउँको विद्यालय, स्थानीयहरुको सक्दो आर्थिक, भौतिक र नैतिक सहयोगमा यहाँसम्म आइपुगेको विद्यालयका प्रअ लोक्कीमाया सिंजालीले बताइन् । गाउँलेहरु सहयोगी छन् । अभिभावकहरु बोलाएको समयमा विद्यालय आइपुग्छन् । शिक्षक अभिभावक संघ गतिशील छ । विद्यालयको सर्वाङ्गीर्ण विकासका लागि विद्यालय व्यवस्थापन समिति कर्मशील छ । विद्यालय र समाजकाबीच सुमधुर सम्बन्ध कायम नै छ ।

विद्यालयको सेवाक्षेत्रमा करीव ७० घरधूरी रहेतापनि विद्यालयमा पढ्ने विद्यार्थी संख्या भने कमी देखिन्छ । जन्मदर कम, बसाइसरी जाने अवस्था बढी देखिएकोले समेत यो समस्या देखा परेको विद्यालयका प्रअ लोक्कीमायाले जानकारी दिइन् । उनका अनुसार गाउँको विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको सबैलाई थाहा भएकै विषय हो । यस्तै परिस्थिति आएमा गाउँको विद्यालय टिकाउन गारो छ ।

२०६८ सालको जनगणनाको तुलनामा २०७८ मा पूर्वखोला गाउँपालिकाको नै जनसंख्या कमी भएको देखिन्छ । यसको प्रत्यक्ष असर विद्यालयमा देखिने वडा नं.४ का वडाध्यक्ष एवम् प्रवक्ता मेहरसिं थापाले बताए । उस्तै परे, विद्यार्थी संख्या कम हुँदै जाँदा र पायक पर्ने विद्यालयहरुका बीच विद्यालय नै मर्ज गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । गाउँ कार्यपालिका सदस्य रेवती घर्तिमगरले भनिन्-गाउँघरमा विद्यार्थीको अभावले विद्यालय चलाउनै कठिन हुन थाल्यो ।

गाउँका शैक्षिक एवम् सामाजिक ब्यक्तित्वहरुले विद्यालयको शैक्षिक उन्नयनका लागि आफ्नो गच्छे अनुसारको अक्षयकोष खडा गरेका छन् । जापानीज नागरिक काजुमासा काकिमी, धनुमाया र रनबहादुर दर्लामी, धनिसरा गाहा, लालबहादुर दर्लामी, फूलमाया गाहा, भीमबहादुर विक र लोक्कीमाया सिंजालीले विद्यालयमा अक्षयकोषको प्रवन्ध गरेका छन् । जसको व्याजबाट आएको पैसाले जेहेन्दार तथा आर्थिक अभावबाट गुज्रिएका विद्यार्थीलाई राहत मिलेको छ । उनीहरुले प्राप्त सुविधालाई भरपूर प्रयोग गरेका छन् ।

school12

शैक्षिक सत्र २०७३/०७४ मा कक्षा पाँच सञ्चालन अनुमति लिएको यो विद्यालयको कक्षा पाँचमा आज दुई जना र दुई कक्षामा एक जनामात्र विद्यार्थी पढाउन पर्दा पीडा पक्कै भएको हुनुपर्छ । तर बाध्यता यस्तै छ । गाउँमा बाटो पुग्यो । विजुली र पानी पुग्यो तर गाउँलेहरु सहरतिर बसाइँ सर्ने प्रवृत्ति हावी भएको वडासदस्य भुवन सिंजाली बताउँछन् । शैक्षिक उपलब्धि तुलनात्मक रुपमा सन्तोषजनक रहेको यो विद्यालयका विविध समस्या नभएका होइनन् तरपनि विद्यार्थी संख्या कम हुँदा आवश्यक पर्ने सबै कुराहरुको खाँचो गौण बनेर जाने रहेछ ।

मगर समुदायको मात्र बसोबास रहेको यो गाउँमा अन्य जातिको बसोबास पाइँदैन । कृषि र पशुपालनमा जीवन गुजारेका यहाँका बासिन्दाहरु तेस्रो मुलुकमा समेत रोजगारीका लागि गएका छन् । गाउँमा रोजगारी र स्वरोजगारको अवस्था कमजोर हुँदै गएपछि गाउँ रित्तिदै गाएको सबैलाई हेक्का छ तर रोक्का गर्ने सरकारी नीति, योजना तथा कार्यक्रमहरु भेट्न मुस्किलै छ ।

योग्य, दक्ष र तालिम प्राप्त शिक्षकहरु भएपनि विद्यार्थी अभावले विद्यालयको शैक्षिक, भौतिक र सामाजिक अवस्था सुधार गर्न कठिन हुने सबैलाई थाहा भएकै विषय हो । यसका लागि सबैको चासो विद्यार्थी संख्या बढाउने कुरामा नै छ तर विद्यार्थी संख्या गाउँका विद्यालयमा कसरी बढाउने हो जिम्मेवार तहका नेतृत्वमा चिन्तन कम चिन्ता बढी देखिन्छ ।

 

 

 

 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार