ताजा अपडेट »

क्रिकेटर सन्दीप लामिछानेको पेशी हेर्न नभ्याइनेमा

सोमबार, १० बैशाख २०८१, १७ : १३
192 Shares

बुटवल । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनको पेशी हेर्न नभ्याइनेमा परेको छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको भए पनि हेर्न नभ्याइनेमा परेको हो । गत वैशाख ३ गतेको सुनुवाईमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा आज पेसी परेको थियो । टेबल नम्बर ६ को क्रमसङ्ख्या ८ र ९ मा रहेको सन्दीपको मुद्दा आजका लागि हेर्न नभ्याइनेमा परेको हो । यसअघि पुनरावेदनमाथि बहसको क्रममा अदालतले तादी गाउँपालिका-२ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

यद्यपी, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्बन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाई छ ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१/३/१८ नै रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको उल्लेख छ । अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको पनि वडा कार्यालयले जनाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।