ताजा अपडेट »

हङकङलाई ८ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमीफाइनलमा

सोमबार, ०३ बैशाख २०८१, १५ : २५
170 Shares
सोमबार, ०३ बैशाख २०८१
170 Shares

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो ।

सुरुवाती जोडीले आक्रामक सुरुवात दिलाएपछि नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गर्न सफल भएको हो । यस जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरे । कुशलले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुनुअघि १९ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । आसिफ पनि अर्को ओभरमा पेभेलियन फर्किए । उनले १८ बलमा समान ३/३ चौका र छक्कासहित ४० रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे । हङकङका यासिम मुर्तजा र एहसान खानले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।

ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । उनले ११ बलमा १२ रन जोडे ।

त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथलाई गुलशन झाले डिप बाउन्ड्रीबाट डाइरेक्ट थ्रोमा रनआउट गरे । उनले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यसपछि हङकङले नियमित विकेट गुमायो । अंशुमन हुँदा एक समय ६१/२ को अवस्थामा रहेको हङकङ त्यसपछि भने सस्तोमा समेटियो ।

हङकङका लागि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । धनन्जय राव पहिलो बलमा बोल्ड भएका थिए ।

नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।