ताजा अपडेट »

सस्तैमा समेटियो हङकङ, नेपाललाई ११५ रनको लक्ष्य

सोमबार, ०३ बैशाख २०८१, १४ : २१
60 Shares

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङविरुद्ध जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पाएको छ । अल अमेरत मैदानमा टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै १ सय १४ रनमा अलआउट भयो ।

ओपनर मार्टिन कोट्जीलाई ८ रनमा तेस्रो ओभरमा गुमाएको हङकङले त्यसपछिको दुई विकेट भने रनआउटमा गुमायो । दीपेन्द्रसिंह ऐरीले निजाकत खानलाई सिंगल लिने धुनमा रनआउट गरे । उनले ११ बलमा १२ रन जोडे । त्यसपछि राम्रो खेलिरहेका अंशुमन रथलाई गुलशन झाले डिप बाउन्ड्रीबाट डाइरेक्ट थ्रोमा रनआउट गरे । उनले २६ बलमा ४ चौका र १ छक्कासहित ३४ रनको योगदान दिए । त्यसपछि हङकङले नियमित विकेट गुमायो । अंशुमन हुँदा एक समय ६१(२ को अवस्थामा रहेको हङकङ त्यसपछि भने सस्तोमा समेटियो ।

हङकङका लागि जिशान अलीले १४, बाबर हायात ६, एजाज खान ७ र यासिम मुर्तजा २ रनमा आउट भए । नसरुल्ला रानाले ६ तथा एहसान खानले ११ रन बनाए । धनन्जय राव पहिलो बलमा बोल्ड भएका थिए । नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।

नेपाल लगातार तेस्रो जितको खोजीमा छ । आजको खेल जिते सेमिफाइनल पुग्ने नेपाल समूह विजेता पनि बन्ने सम्भावना बलियो हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।