ताजा अपडेट »

स्थापना दिवसमा पूर्वअध्यक्ष सैंजूलाई सम्मान

शुक्रबार, ११ फागुन २०८०, १९ : १७
54 Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको स्थापना दिवसमा पूर्वअध्यक्ष अर्जुनमान सैजूलाई सम्मान गरिएको छ । यस क्षेत्रकै सबैभदा पुरानो निजी क्षेत्रको छाता संस्था बुटवल उद्योग वाणिज्य संघको ७१ औं स्थापना दिवसको अवसरमा बिहिबार साँझ संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष सैजूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष सैंजूलाई नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र संघका अध्यक्ष हरिप्रसाद अर्यालले माला तथा दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् । संघले प्रत्येक स्थापना दिवसमा पूर्वअध्यक्षहरुमध्येबाट एक जनालाई सम्मान गर्दै आएको छ ।

बुटवल उद्योग वाणिज्य संघ बि.सं. २००९ सालमा तदर्थ समिति हुँदै बि.सं.२०१० सालमा औपचारिक रुपमा दर्ता भएको थियो । त्यसयता यो संघले व्यवसायिक हकहित, उनीहरुको समस्या समाधानमा पहल र पैरवी गर्नुको साथै यस क्षेत्रको सामाजिक विकासमा लगानीसहितको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

७१ वर्षको लामो इतिहास बनाएको संघको संस्थागत विकास, यस क्षेत्रको व्यवसायिक तथा उद्यमशिलता विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै संघको स्थापना दिवसमा सम्मान गरिएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । २०५७ देखि ०५९ सम्म संघको अध्यक्ष हुनुभएका सैजूले आफू अध्यक्ष हुँदा अहिले संघको भवन रहेको बुटवल ६ सुन्दरनगरको जग्गा प्राप्त गरेको थियो । उनी संघमा कार्यसमिति सदस्य उद्योग उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, हुँदै अध्यक्ष हुनु भएको थियो । त्यस विचमा पनि व्यवसायिक समस्या समाधान तथा संघको संस्थागत विकासमा उहाँको सक्रिय भूमिका रहेको थियो ।

संघको स्थापना दिवसकै अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. ६ मै रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई झोला प्रदान गरिएको छ । संघले बुटवल ब्वाईजको सहयोगमा ७८ थान झोला विद्यालयलाई प्रदान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष हरिप्रसाद अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवालीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शर्माले बुटवल उद्योग वाणिज्य संघको गतिबिधिले जनप्रतिनीधि तथा कर्मचारी प्रशासनलाई पनि थप क्रियाशिल बनाएको बताए । उनले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकास संघको ठूलो योगदान रहेको बताउँदै अग्रजले गरेको योगदानलाई सम्झेर सम्मान गरेकोमा संघलाई धन्यवाद प्रदान गरे भने सम्मानित पूर्वअध्यक्ष सैंजूलाई बधाई ज्ञापन गरे ।

सम्मानग्रहण पछि पूर्वअध्यक्ष सैजूले आफूलाई सम्मान गरेकामा संघप्रति आभार व्यक्त गर्दै नेतृत्वमा आउने व्यक्तिले समस्याको पहिचान र त्यसको व्यवस्थापनको पनि नेतृत्व गर्ने ल्याकत राख्नुपर्ने बताए । उनले संघले अगाडि सारेका कार्यक्रममा आफूपनि सधै संगै रहने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी, बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपाने, संघका पूर्व उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, तिलोत्तमा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद ज्ञवाली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।