ताजा अपडेट »

स्मृति बोर्डिङ् स्कुलमा पर्यटनसम्बन्धी वक्तृत्वकला, अभिषेक खड्का प्रथम

मंगलबार, १९ मंसिर २०८०, १३ : ३३
48 Shares

बुटवल । नेपालको आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले तिनपा–३ शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलमा पर्यटनसम्बन्धी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । युएनडीपी तथा नेपाल टुरिजम बोर्डको सहकार्यमा टुरिजम रिसर्च एण्ड ट्रेनिङ् इन्स्च्यिुटको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो ।

‘लुम्बिनी प्रदेशको पर्यटन र संभावना’ विषयमा भएको उक्त प्रतियोगितामा स्मृति बोर्डिङ् स्कुलका अभिषेक खडका प्रथम, आयुश गौतम द्वितीय र स्वेच्छा क्षेत्री तृतीय भएका थिए । इन्स्च्यिुटले मुलुकभरिका १०० वटा विद्यालयमा विद्यालय पर्यटन सचेतना कार्यक्रम अन्तर्गत पर्यटन विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिरहेको छ । पर्यटनबाटै समृद्धि भन्ने मूल नारासहित देशव्यापी अभियानअन्तर्गत उक्त ट्रेनिङ् इन्स्च्यिुटले विद्यालयहरुमा पर्यटन क्लबसमेत गठन गर्ने गरेको छ । सो अन्तर्गत स्मृति बोर्डिङ् स्कुलमा रौनक चौधरीको अध्यक्षतामा ११ सदस्यीय विद्यालय पर्यटन क्लब गठन गरिएको छ ।

सो अवसरमा टुरिजम रिसर्च एण्ड ट्रेनिङ् इन्स्च्यिुटका अध्यक्ष मदन कुमार बरालले आन्तरिक पर्यटन प्रबद्र्धन गरी मुलुकलाई समृद्धितर्फ लैजाने आफ्नो संस्थाको उद्देश्य रहेको बताउदै पर्यटन सचेतना विद्यालयस्तरबाटै शुरु गर्नुपर्ने आवश्यकता औल्याए । उनले यस आर्थिक वर्षमा देशका ५०० शिक्षकहरुलाई पर्यटन सम्बन्धी प्रशिक्षण दिने लक्ष्य राखेको जानकारी पनि दिए।
सो अवसरमा स्मृति बोर्डिङ् स्कुलका उपप्राचार्य केशबहादुर गुरुङले ट्रेनिङ इन्स्च्यिुटले कार्यक्रमका लागि आफ्नो विद्यालयलाई छानेकोमा आयोजकलाई धन्यवाद दिँदै मुलुकलाई पर्यटनबाटै समृद्ध बनाउने अभियानमा विद्यालयको सदैव सहयोग रहने प्रबिद्धता व्यक्त गरे ।

प्रतियोगिता विद्यालयका उपप्राचार्य केशबहादुर गुरुङको अध्यक्षता, शिक्षक जीवनदीप आचार्यको सञ्चालन र विजय कुमारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।