ताजा अपडेट »

टुटेको मन र छुटेको जीवन : म्युजिक भिडियो हेरेपछि..

शनिबार, २३ भदौ २०८०, ०९ : १६
194 Shares
शनिबार, २३ भदौ २०८०
194 Shares

आधुनिक गीत । त्यसैमा पनि बिछोडको ! म्युजिक भिडियो हेरेपछि भावुक बनायो । कलाकारको प्रस्तुति बेजोड । स्वर सिम्रनको । सांगीतिक क्षेत्रमा सिम्रनको नयाँ उपस्थिति तर बेजोड प्रस्तुति । दुनियाँ यतिबेला सिम्रनको स्वरमा झुमेका छन् । आफ्नै मौलिक स्वर,मिठास आवाज र चीरपरिचितजस्तै लाग्ने कलाकार । भविष्यका होनाहार गायिका हुन सक्ने खुबी बोकेर आइपुगेकी छिन् । मात्र उनलाई स्नेह,उत्साह र उत्प्रेरणाको खाँचो छ । जसको अभाव उनले महसुस् गरिरहेकी छिन् ।

श्रीधर अधिकारीको संगीत मिठो छ । लयवद्ध छ । क्षमता र प्रतिभा अद्वितीय छ । अनमोल छ । पछिल्लो समय उनको संगीतमा उनिएको गीत हो–मुटु जलाई जाऊ । खोइ ! किन, कसका लागि मुटु जलाउनु पर्ने हो ? मनै जलाउन आग्रह गर्ने गीतका सर्जक हुन्–डाक्टर विष्णुमूर्ति भट्टराई । पेसाले उनी चिकित्सक हुन् । क्रिमसन अस्पताल मणिग्राममा जनरल सर्जन छन् । सिजर र सिरिञ्जमा खेलीरहने उनी गीतका भावमा अक्षर कुँदिरहेका हुन्छन् । अर्थात् अक्षरमा गीतको प्राण भरिरहेका छन् ।

जमाना, युग, परिवेश र पस्थिति फरक छन् । भए । नयाँ पुस्ताले आधुनिक गीतमा आफूलाई खोज्छन् । युगलाई बुझ्छन् । नयाँ जीवनका निम्ति कुद्छन् । दुई दशक उमेरकै डाक्टर विष्णुमूर्तिले नयाँ मोडमा आफूलाई उभ्याएर युवा पुस्तालाई आधुनिक गीत दिइरहेका छन् । तर उनको गीत,बिछोडको छ । मुटु नै चुँडाल्ने खालको छ । भक्कानो छाडेर रुने बनाउँछ । हृदयविदारक छ ।
कतै उनै डाक्टर, विगतको आफ्नो भोगाई गीतमा लेख्दै त छैनन् नि-शंका लाग्छ ! कतै गहिरो समवेदना कोर्दै त छैनन् नि ? मुटुको पीरलाई निचोरेर यतिबेला अभिव्यक्त गरिरहेका छ छैनन् कतै ? भलै जेहोेस् । उनको ब्यक्तिगत जीवनसँग हामीलाई सरोकार भएन । बरु उनको गीत सम्झेर प्रश्न गर्न मन लागिरहन्छ ।

चोटमाथि चोट थप्ने रैछ तिम्रो बानी
सहन म सक्दिन भन्ने जानीजानी
आऊ बरु यो ज्यानमा छुरा चलाई जाऊ
तिमीलाई नै सम्झिरहने मुटु जलाई जाऊ ।

गीतको पङ्तिले धोकेबाज प्रेमीलाई सजिलै विगतका कुरा सम्झाइ दिएको छ । आनीबानीप्रति प्रश्नचिन्ह थपिदिएको छ । बरु मर्न तयार छु । भावहीन शरीर बोकेर बाँच्नुभन्दा छुरा चलाएर जाऊ भनेर प्रेमीलेभन्दा मन छियाछिया हुँदैन होला र ? तिमीलाई सम्झिरहने मुटु जलाई जाऊ भन्ने कठोर बिन्ति छ प्रेमीको । मन कति जल्यो होला ? आँखामा कोशी र कर्णाली कति उर्लिए होलान् ? न रातको निंद, न दिनको भोक ? कसरी प्रेमीले आफूलाई जिउँदो राख्न सकिन् ?

गीत सुनेपछि, भिडियो हेरेपछि, धेरैले भन्दैहोलान् –किन लेखेका होलान् यस्तो मनै रसाउने गीत डाक्टरले ? कसरी संगीत भरे होलान् श्रीधरले । कसरी गाइहोलिन् सिम्रनले ? के साँचिक्कै मान्छेको जीवनमा यस्तै घटना घट्छ ? जसको जीवनमा यस्तो घटना घट्छ उसले यस्तो गीत लेख्यो होला ? गीतलाई म्युजिक भिडियोले प्राण भरेको छ । म्युजिक भिडियोलाई गीतले मुटु दिएको छ ।

खोटमाथि खोट देख्ने रैछ तिम्रो बानी
सहन म सक्दिन भन्ने जानीजानी
तिम्लाई खुसी जता मिल्छ,उतै मोडी जाऊ
म मर्छु वा पागल बन्छु यसै छोडी जाऊ ।

छुटेपछिको प्रेम, सायद यस्तै खोटयुक्त हुन्छ । चोटपूर्ण हुन्छ । छुट्टिनु नै छ भने मिलनको किन गीत गाउने ? प्रेम क्षणिक होइन् । प्रेम बालुवाको ढिस्को पनि त होइन । तासको महल होइन । सिसाको दिवाल पनि त हैन् नि जो क्षणभरमै फुटिजाने ! कसरी भन्न सक्दिहोलिन् प्रेमीले-म मर्छु वा पागल बन्छु । यसै छोडी जाऊ ।

गीतका अन्तरा कम छन् । गीत दोहोरिरहेको छ । दृश्य पनि उस्तै । यसमा भने मेरो गुनासो थोरै छ । अरु कुरा त गीत,संगीत र स्वर अतुलनीय छ । बेजोड छ । भावनाको गहिराई छ । टुटेको मन र छुटेको जीवन छ ।

https://youtu.be/cMCfzk4eiPY
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।