ताजा अपडेट »

नेपालगञ्जमा तस्करीको सामान बरामद गर्दा ढुङ्गामुढा, सशस्त्र प्रहरीसहित ३ घाइते

शुक्रबार, १५ भदौ २०८०, १९ : १८
57 Shares
शुक्रबार, १५ भदौ २०८०
57 Shares

बुटवल । बाँकेको नेपालगञ्जमा तस्करीको सामान जफत गर्ने क्रममा स्थानीय र सशस्त्र प्रहरी बीच झडप भएको छ । झडपमा दुई जना सशस्त्र प्रहरी र एक स्थानीय गरी ३ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीकाे नं ३० बागेश्वरी गण बाँकेमा भएकाे झडपमा स्थानीयले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएका हुन् । यस्तै ना १ झ ५७४ नम्बरको गाडीमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गरी भाग्ने क्रममा बाँके उपमहानगरपालिका-१४ बस्ने १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका छन् । उनका अनुसार सशस्त्र प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिका चोकबाट गएराति नं ३० बागेश्वरी गण बाँकेको टोलीले चोरीपैठारीको विभिन्न सामान बरामद गरेको थियो । हार्डवेयरका ती सामानको पूरा भन्सार तिरेको नपाइएपछि सशस्त्र प्रहरीले सामान नियन्त्रणमा लिएको थियो ।

तर, भन्सार छलीका उक्त सामान फिर्ता पाउनुपर्छ भन्दै सामान ल्याउने व्यक्ति र स्थानीय बासिन्दा गरी करिब १२० जना भेला भएर गणमा हुलहुज्जत गरेका थिए । सो क्रममा उनीहरुले ड्युटीमा खटिएका सशस्त्र प्रहरीसँग सामान खोसेर लैजान खोजेका थिए ।

तत्कालै थप मद्दतको लागि उक्त गण, प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह र बीओपी जयसपुरबाट खटिएको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरुलाई फिर्ता पठाएको थियो । तर, सामान ल्याउने व्यक्तिहरु पुनः रातको १०ः३० बजे गणमा आई ड्युटीमा रहेका प्रहरीमाथि ढुंगामुढा हुँदा दुई पक्षबीच झडप भएको थियो ।

सशस्त्र प्रहरीले चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।