ताजा अपडेट »

जब श्रीमानले नै श्रीमतीलाई ‘नरक’ पुर्‍याए

विहीबार, १६ भदौ २०७९, १० : ५७
18 Shares
विहीबार, १६ भदौ २०७९
18 Shares

तिलोत्तमा/सन्जु पौडेल । उनी भर्खर २५ वर्षमा टेकिन् । कलिलो उमेरमै जुनीभरि भुल्न नसक्ने पीडा भोगिन् । बारम्बार झस्किने, बेहोस हुने र जाग्ने गर्छिन् । आँखा ओभाउँदैनन् । छिनछिनमा त्यही दिन, त्यही घटना उनको मस्तिष्कमा बल्झिरहन्छ । घटना सम्झिएपछि बर्ररर आँसु झर्छन् । नरकजस्ता ती दिन सम्झिएर मूर्च्छा पर्छिन् । सुखको आसमा पछि लागेकी गुल्मीकी निशा शर्मा ९नाम परिवर्तन० ले आफ्नै श्रीमान्बाट बेचिएपछि जिउँदै ‘नरक’ भोग्नुपर्‍यो ।

पत्याउन मुस्किल कथाजस्तो लाग्ने कहालीलाग्दो उनको विगतले निशालाई अचेल जतिखेर पनि अत्याइरहन्छ । बिहेअघि उनको जीवन हाँसीखुसी बितिरहेको थियो । आमा, बुबा, बहिनी र भाइसँगै रूपन्देहीको तिलोत्तमामा बसेर पढिरहेकी थिइन् । त्यहाँको एक विद्यालयबाट एसईई उत्तीर्ण गरिन् । क्याम्पस पढ्न भर्ना भइन् । ११ कक्षाको वार्षिक परीक्षा नजिकिँदै थियो । सानिमाले ‘राम्रो घरको केटो छ’ भनी बिहेको प्रस्ताव ल्याइन् । आफ्नै मान्छेले भनेपछि केटा र घर राम्रो होला ठानेर परिवारले अर्घाखाँचीको पाणिनिका युवकसित बिहे गराइदिए ।

विवाहपछि ११ को परीक्षा दिइन् । पढाउँछु भनेर विवाह गरेका श्रीमान्ले १२ कक्षा भर्ना गर्न मानेनन् । बुबाले पहल गरेर भर्ना गरिदिए । घरमै पढेर परीक्षा दिन निशा तयार भइन् । परीक्षा दिइन् । श्रीमान्ले गर्भ रोक्ने औषधिको प्रयोग गरेको छु भन्थे । विश्वासमा पर्दा उनी गर्भवती भइन् । ‘पढेर केही गर्न चाहन्थें,’ निशाले भनिन्, ‘तर अवरोध भयो ।’

चौपाया रेखेदख, घरधन्दा, हरेक साँझ सासूको गोडा मिचिदिने उनको दैनिकी थियो । तर, सबैले खाएर बचेको खाना दिने, पेटभरि खान नदिने उनको घरका सदस्यको रूखो व्यवहार सहनुपरेको उनले बताइन् । सानिमाले विदेश जानेरआउने केटो हो भनेकी थिइन् । निशाले वैदेशिक रोजगारीमा होला भन्ने ठानिन्, बिहेअघि खासै सोधखोज गरिनन् । बिहेपछि श्रीमान् भारत आउजाउ गर्थे । उनलाई पनि पटक–पटक भारत जानका लागि दबाब दिन्थे । ‘घरमा पेटभरि खान नदिने,’ उनले भनिन्, ‘सबैले भारत जान दबाब दिइरहेका थिए ।’ यत्तिकैमा छोरी जन्मिइन् । छोरी जन्मिएपछि पनि भारत जाने दबाबसँगै मानसिक र शारीरिक दुर्व्यवहार गर्ने क्रम सुरु भयो । निर्घात कुटाइ खाएर सहन नसकेपछि धेरैपटक स्थानीय प्रहरी चौकी धाएको उनले सुनाइन् । जाहेरी दिइन् तर मेलमिलाप र सम्झाइबुझाइमा आलटाल भयो ।

उनका अनुसार गत जेठ ३१ को बिहानैदेखि श्रीमान्ले भारत जान दबाब दिए । उनले छोरी लिएर माइत जान्छु भनिन् । श्रीमान्ले निशा र छोरीलाई माइतीघरमा छोडिदिन्छु भनी लिएर हिँडे तर माइत पुर्‍याएनन् । बिहान ३ बजे अर्घाखाँचीबाट हिँडेकी उनलाई कपिलवस्तु आइसकेपछि गोरुसिंगे हुँदै कृष्णनगर पुर्‍याए । ‘पानी दर्किएको थियो,’ उनले भनिन्, ‘भिजेको एकजोर लुगाबाहेक केही थिएन, तिनै लुगा र बच्चीसँग सानो गाडीमा हालेर भारत पुर्‍यायो ।’

दिल्लीको घितोड्नीस्थित साँघुरो गल्लीबाट भित्र पस्दा निशालाई डर र चिन्ता दुवैले सताउन थाल्यो । श्रीमान्ले लिएर गएको कोठा सम्झिँदै उनले भनिन्, ‘हरेक भित्तामा कार्टुनले ढाकिएको, अँध्यारो, निस्सासिने खालको, कसैले नदेख्ने, कसैलाई नदेखिने थियो ।’ कोठाभित्र विस्तरामा आठवटा मोबाइल र दुईवटा ल्यापटप देखेर अचम्म परेको निशाले बताइन् । श्रीमान्लाई के काम हो यति धेरै मोबाइल चाहिने भनी प्रश्न गरिन् । श्रीमान्ले अब तैंले पनि यहीँ काम गर्नुपर्छ भनी जवाफ दिएको उनले सुनाइन् ।

१६ महिनाकी छोरी काखी च्यापेर गएकी निशाको जीवन एकाएक अन्धकारमा बदलियो । श्रीमान्ले गर्ने काम बुझ्दै जाँदा थाहा पाइन् । उनका पति भारतमा कल गर्ल्स एपमार्फत महिलाको नग्न तस्बिर र भिडियो ग्राहकलाई पठाई मानव ओसारपसारको काम गर्दारहेछन् । साथै ह्वाट्स् एपमार्फत युवतीको नग्न तस्बिर र भिडियो पठाएर पैसा लिई यौन धन्दाका लागि पठाउने रहेछन् ।

‘म त झसंग भएँ,’ निशाले भनिन्, ‘आठवटा सिम रहेछन्, ग्राहकबाहेकलाई फोन नजाने ।’ उनका अनुसार फोन सम्पर्कबाट ग्राहक पठाएपछि महिलाको स्वास्थ्यमा समस्या ९योनिबाट रगत बगेको, गर्भ बसेको जस्ता० देखाई ग्राहकबाट पुनः पैसा माग्ने, पैसा पाएपछि युवतीलाई फेरि पठाइदिने गर्दा रहेछन् । उनले निशालाई ग्राहकसँग सक्दो बढी रकम उठाउने काममा लगाए । ‘सामान र पैसा लिएर युवती नपठाएपछि ग्राहकको फोन आउँदा थप पैसाको माग गर्न लगाए,’ उनले भनिन्, ‘काम नगरेमा कुट्ने, खाना नदिने भएकाले बाध्यताले फोन उठाउँथें । फोन सम्पर्क र मागबमोजिमको पैसा ‘पेटीएम’ मार्फत जम्मा हुन्थ्यो । पैसा आएपछि उक्त सिम ब्लक हुन्थ्यो । त्यसपछि नयाँ सिम किन्ने गरेको उनले बताइन् । ‘दैनिक ९ हजार भारतीय रुपैयाँ कमाइ हुन्छ भन्थे,’ उनले भनिन्, ‘जा, नगए मारिदिन्छु भन्थे । त्यसपछि मलाई पनि त्यस्तो धन्दामा लगाउन खोजेको थाहा भयो ।’ उनका अनुसार छोरी चिच्याएर रुँदा श्रीमान्ले हेर्थे । निशालाई भने निरन्तर ग्राहकसँग कुरा गर्न लगाउँथे । ‘धेरैजसो नकार्थें, त्यसपछि कुटाइ खान्थें,’ उनले भनिन्, ‘कति पिटाइ खाएँ, खाएँ ।’ भनेको नमान्दा श्रीमान्ले ‘मल्टिप्लग’ को प्वालमा औंला छिराएर करेन्ट लगाउने गरेको उनले बताइन् । ‘कहिले पानी लिन जा भन्थे, कहिले नानीको खानेकुरा किन्न जा भन्थे,’ उनले भनिन्, ‘घरबाहिर गएपछि उनले बोलाएका ग्राहकसित ठोक्किन्थें ।’ कुरा बुझेपछि कहिलेकाहीँ त दिनभरि सडकछेउ बसेर साँझ कोठामा पुग्ने गरेको उनले बताइन् । ‘त्यसपछि श्रीमान्ले पिट्थे,’ उनले भनिन् । ढाड र पेटमा मुड्कीले हान्ने, पटक–पटक मार्ने प्रयास गरेको उनको भनाइ छ ।

एकपटक कुटाइ खाएर थला परेपछि ढोकाबाहिरबाट चुकुल लगाएर घरबेटीलाई व्यथा बताइन् । तर, निशाको भाषा उनीहरूले बुझेनन् । उल्टै श्रीमान् भएको कोठामा ल्याएर जिम्मा लगाए । श्रीमान्ले आफूलाई मानसिक रोगी भनेर परिचय दिएको उनले सुनाइन् । श्रीमान् बाहिर जाँदा कोठामा थुनेर जान्थे । निशाका अनुसार एक दिन ज्यान लिने उद्देश्यले आक्रमण गरे । निर्घात कुटपिट गरे र नग्न बनाएर भिडियो खिचे । ‘आफैं मरेकी हुँ भन्न लगायो,’ उनले भनिन्, ‘मेरो पेटमा बसेर योनिमा मुड्कीले हान्दै रगताम्य बनायो ।’

त्यही हालतमा छोडेर श्रीमान् निस्किएको उनले बताइन् । त्यसपछि बल्लतल्ल उठेर झ्यालको कार्टुन च्यातिन् । छिमेकमा बस्ने एक विद्यार्थी देखिन् र सहयोग मागिन् । कलम र पाना मागेर बुबाको फोन नम्बर टिपाइदिइन् । केहीबेरमा फर्किएका श्रीमान्ले फेरि कुटपिट गरे । त्यही बेला कसैले ढोका खोल्नुस् भने । श्रीमान्ले ढोका खोल्दा प्रहरी, आफन्त नेपालका प्रतिनिधि र दिल्ली महिला आयोगका प्रतिनिधि आएका रहेछन् । ‘बुबाको फोन नम्बर दिएपछि उनीहरू आएका रहेछन्,’ निशाले भनिन्, ‘ती विद्यार्थीले बुबालाई फोन गरेकी रहिछन् ।’

छिमेकी विद्यार्थीले फोन गरेर ‘तपाईंकी छोरी आजको रातभन्दा बाँच्दिन’ भनेपछि बुबाले जिल्ला प्रहरीमा सम्पर्क गरी छोरी बचाउन जाहेरी दर्ता गराएका थिए । उनको निवेदन हेरेर प्रहरीले आफन्त नेपाल भन्ने संस्थासित समन्वय गरी उक्त ठेगानामा पठाएको थियो । निशालाई उनीहरूले लुगा लगाइदिए । ज्यान बचाउन आएको बताए र साथै जाम् भने । निशाले साँच्चै उद्धार गर्ने भए जाने भनिन् । विश्वास दिलाएपछि उनी नेपाली प्रतिनिधिसित अस्पताल पुगिन् । भर्ना गरेको अर्को दिन मात्र उनी पूर्ण होसमा आइन् । छोरी सुरक्षित देखिन् । निशालाई एक संस्थामा राखियो । त्यहाँ उनको राम्रो हेरचाह भइरहेको थियो । केही दिनपछि बुबा त्यहीँ पुगे । आफन्त नेपालको सहयोगमा बुबासँगै निशा र छोरीलाई नेपाल ल्याइयो ।

यहाँ आएपछि पुनः उपचार गरी आफन्त नेपालले उनको हेरचाह गरिरह्यो । अहिले उनी उक्त संस्थाको परामर्शदाताका रूपमा काम गर्न सक्ने भएकी छन् । भारत जान लागेका युवतीलाई किन जाने, के कामले जाने भनेर सोध्ने, उनीहरू घरमा नबताई हिँडेको शंका लागे घरमा फोन गर्ने, प्रहरीसँग समन्वय गरी संस्थामा संरक्षण गर्ने, परिवारको जिम्मा लगाउने उनको दैनिकी बनेको छ । यसबापत संस्थाले उनलाई पारिश्रमिक दिने गरेको छ । छोरी माइतमा छिन् ।

निशाका अनुसार भारतबाट श्रीमान् छुटेर आएका रहेछन् । यसबारे उनलाई जानकारी थिएन । निशा र बुबा जिल्ला प्रहरी रूपन्देहीमा मानव बेचबिखन र दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गर्न पुगे । त्यही मौकामा उनका श्रीमान् ससुराली पुगे । त्यहाँ गएर खानेकुरा र भाँडामा विष छर्किएको निशाले बताइन् । दूध तताएर छोरीलाई खुवाउन भाँडा लिन अर्को कोठामा जाँदा ढोका पछाडि लुकेर बसेको श्रीमान्ले निशाकी आमाको मुखमा विषको डब्बा खोलेर हालिदिएको उनले बताइन् । ‘आमा चिच्याएपछि छिमेकी जम्मा भए,’ उनले भनिन्, ‘त्यो देखेपछि बहिनीले मलाई फोन गरी ।’ त्यसपछि प्रहरीसहित घर पुगेको उनले बताइन् । ‘आमालाई क्रिमसन अस्पताल लगेर भर्ना गरियो,’ उनले भनिन्, ‘उसले ९श्रीमान्० पनि विष खाएको भनेपछि प्रहरीले अस्पताल पुर्‍यायो ।’

रूपन्देही जिल्ला अदालतमा पतिविरुद्ध मानव बेचबिखनबिरुद्धको मुद्दा लडेकि उनले दिल्लीको पटियाला हाउस कोर्टमा घरेलु हिंसा, इच्छाविपरीत नग्न तस्बिर र भिडियो बनाएर विभिन्न ठाउँमा पठाएको तथा करेन्ट लगाएको कसुरमा मुद्दा चलाइन । उनले २०७९ साल साउन महिनाको १२ गते मुद्धा जित्न सफल भइन । उनका श्रीमान् लाई जिल्ला अदालत सन्धिखर्कमा ८ वर्ष का लागि कैद सजाए सुनाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।