ताजा अपडेट »

ढाका टोपीमा सजिएका चिनियाँ

बुधबार, ०६ भदौ २०८०, ०८ : ४६
10 Shares
बुधबार, ०६ भदौ २०८०
10 Shares

चोङ् कुइ पिङ चिनियाँ हुन् । हेर्दै हट्टाकट्टा । मंगोलीयन अनुहारका । ४६ वर्ष पुगेता पनि युवा नै । उनी आइटीका जानकार रहेछन् । यतिकुरा मैले डाक्टर सागर न्यौपानेबाट थाहा पाएको हुँ । बुटवल आउँदा भेट हुने अवसर डाक्टर सागरकै प्रयासमा सम्भव भएको हो । मिस्टर चोङको टोली बुटवलमा भदौं ३ गते आइपुगेको थियो ।

बुटवलका ड्रिमल्याण्ड होटलमा रात्रिकालीन भोजसँगै भेट्न पाइयो । साथमा डाक्टर घनश्याम पाण्डेय, मेरा प्रिय शिष्य पुरन केसी, कलाकार बेनु थापा र चोङको टीममा पाँच जना साथीहरु पनि थिए । उनको टोलीमा सत्तरी वर्षीय सुइथ्याङ छाय पनि थिए । उनी चीनको सियान सहरको उद्योग–वाणिज्य संघका अध्यक्ष रहेछन् । पाका पुराना उनी धीरताका साथ बोलिरहेका थिए । चुरोट सेवन उनको रुचीको विषय रहेछ ।

सागरले हामीहरुसँग उनको टोलीलाई राम्रोसँग भेटाइ दिए । नेपालको साहित्य, कला र संस्कृतिका बारेमा लामै कुरा गर्ने अवसर मिल्यो । त्यो कुराले छिमेकीको छनक समेत राम्रो लाग्यो । चीन र नेपालको दौंत्य सम्बन्ध पुराना भएतापनि भाषा, भूगोलका कारण छिमेकीको आभाष महसुस गर्नै कठिन । तैपनि भावना मिल्दो रहेछ कतिपय प्रसंगमा ।

चिनियाँ पत्रकार चाउको ‘मेण्ड एण्ड इण्ड’ पुस्तक पढेपछि नेपालको कृषि, पर्यटन, शिक्षा र आर्थिक पाटोमा चिनियाँहरुको अत्यन्तै चासो बढेर गएको महसुस् गरेको थिएँ । मिस्टर चोङसँगको भेटले चाउको कुरालाई प्रमाणित गर्यो । नेपालका हरेक कुरामा चासो बढी भारतीयाले गर्थे तर यतिबेला चिनियाँहरुको समेत कम्ति भेटिनँ ।

डाक्टर सागर, डाक्टर घनश्याम र पुरन केसीको टोली असारमा चीन पुग्दा मिस्टर चोङसँग भेट भएकै कारण यता नेपाल आउँदा उनीहरुका बीच बढी घनिष्टता बढेको सजिलै थाहा पाउन सकिन्थ्यो । उनीहरुका बीचको हाउभाव, बोलीचालीको निकटता र हार्दिकता प्रशंसनीय लाग्यो । नेपाली कुरालाई चिनियाँ भाषामा र चिनियाँ भाषालाई अंग्रेजीमा उल्था गरेर पुरन र चोङले साटासाट गर्दैगर्दा मलाई पनि मोबाईलमा लेखेका कुरा देखाउँदै गर्थे ।

कलाकार बेनुलाई चोङले चिनियाँ भाषामा लेखिएको व्यानर उपहार दिए । घरको भित्तामा टाँस्नु र मनमा शान्ति मिल्छ भने । बेनुले बेस्सरी बुझेझैं गरी टाउको हल्लाए । म भने उनीहरुको फोटोेग्राफर भइ टोपलें । छुट्ने बेला रातको १० बज्दै थियो ।

सोमवार बिहानै नेकपा एमालेको प्रदेश कार्यालय, सुख्खानगर पुगियो । बालकृष्ण पाण्डेय भाइले कम्प्यूटरमा आफ्नो काम गर्दैथिए । पार्टी कार्यालयमा रहेको पुस्तकालयप्रति चिनियाँहरुको गहिरो चासो देखिन्थ्यो । कति पुस्तक, कस्ता पुस्तक रहेको अनि कसले पढ्छन् यहाँ पुस्तक भनेर डाक्टर सागरसँग अन्तर्वार्ता नै लिए । स्कूल विभागका बारेमा चासो लिएर सोधेका थिए उनीहरुले । मैले भनेका कुराहरुलाई सागरले उल्था गरेर सुनाइदिए । उनीहरुले नेपालका कम्युनिष्ट पार्टीका नेताहरु अध्ययनशील रहेको तर पछिल्लो समयमा पठन संस्कृति संसारभर कमजोर हुँदै गएको उल्लेख गरेका थिए ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी र उनका राजनीतिक सल्लाहकार एमएस शर्माले चिनियाँहरुलाई पुष्पगुच्छा र खादाले स्वागत गर्दै चियापान गराए । नेपाल र चीनबीचको भाइचारा सम्बन्ध र नेपाल सधैं एक चीन नीतिमा कटिवद्ध रहेको समेत लिला गिरीले बताए । नेपालको पर्यटन प्रवर्द्धन र उद्यमशीलताका लागि चिनियाँहरुको सहयोग आफूहरुलाई फलदायी हुने उल्लेख गरे ।

चिनियाँहरुले नेपालका हरेक क्षेत्रमा आफूहरुले सक्दो सहयोग गर्न सकिने भएता पनि कतिपय कानूनी उल्झन रहेको चोङले बताए । आफू नेपालमा चारपटक आइसकेको उल्लेख गर्दै आफ्नै प्रान्तमा नेपाल ग्यालरी खोल्न इच्छुक भएको हुँदा नेपाली कला, संस्कृति झल्किने खालका सामग्रीहरु उक्त ग्यालरीमा राखिने भएकोले सहयोग गर्न अपील गरे ।

लुम्बिनी विश्वविद्यालयले देवदहमा सञ्चालन गरेको कलेज हेर्ने अवसर मिल्यो । डीन उकेश कोजूसँग चिनियाँ टोलीले उद्यमशीलता विकास, आइटी र वन तथा कृषिका विषयमा व्यापक छलफल गरेको थियो । डीन साहेवले मसिनो गरी आफ्ना कुरा चिनियाँहरुसँग राखे । विश्वविद्यालयलाई प्राविधिक एवम् जनशक्तिको क्षेत्रमा सक्दो सहयोग गर्न सकिने विश्वास चिनियाँहरुले दिल्याएका थिए ।

खाना खाइवरी देवदह नगरपालिका भवनतिर लाग्यौं । त्यता जानु अघि प्राचीन पाकरीका रुख हेरेका थियौं । देवदहका नगरप्रमुख एवम् उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतका टोलीसँग देवदहको सांस्कृतिक एवम् पर्यटकीय विषयमा विशेष कुरा भयो । चीन सरकारसँग कस्तो खाले सहयोगको अपेक्षा रहेको र सोका बारेमा आवश्यक जानकारी उनीहरुले मागेका थिए । हामीले विहान भलुहीको गौशालाको अवलोकन समेत गरेका थियौं । गाईको मोहीले चिनियाँहरुलाई मोहित पारेको थियो । रुद्राक्षको माला सोमराज गुरुले उनीहरुका गलामा पहिराइ दिदा सुखानुभूति भयो ।

देवदहबाट उनीहरु लुम्बिनी घुम्न गए । लुम्बिनी कोषका मित्रहरुसँग उनीहरुको भेट भएको कुरा साँझ खाना खाने बेला सुनाएका थिए । लुम्बिनीबाट फर्केर बुटवलको देवसिद्ध चोकमा कलाकार सुमित्रा रानाको सानो तर सुन्दर ग्यालेरीमा कला हेर्ने काम गरे उनीहरुले । खुसी भए धेरै । चीन र नेपालको कलालाई जोड्ने काम अरनिकोले गरेको चर्चा समेत गरे ।

साँझपख तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बुटवलमा चिनियाँ टोलीलाई पाल्पाली ढाका टोपीले स्वागत र सम्मान गरे । उनीहरुले टोपीलाई सगरमाथा ठाने । खुसीले बुरुक्क उम्लिए । साथै आफूहरुले पनि तिनाउको टोलीलाई चीनमा स्वागत र सम्मान गर्न ढिला नगर्ने आश्वासन समेत बाँडे ।

बेनू, आफूले कोरेको गौतम बुद्धको चित्र, चोङलाई कोसेली दिए । ढाका टोपी लगाएका चिनियाँहरुसँगै बसेकी कलाकार सुमित्राले आफूलाई त तिहारमा दाइभाइसँगै बसेर खुसी मनाउँदै गरेको झल्को आएको सुनाइन् । उनीहरुले आफ्नो देशमा गएपछि सम्मानपूर्वक प्राप्त गरेको ढाका टोपी लगाएर सहर घुम्ने बताउँदै गर्दा हामीले ताली बजाएर सम्मान गर्यौं ।
यी सबै कामको चाँजोपाँजो र भाषामा सहजीकरण गर्ने डाक्टर सागरप्रति हामी सबै सहभागी नतमस्तक भयौं । धन्यवाद् र कृतज्ञता प्रकट गर्यौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।