ताजा अपडेट »

बुटवलले खोल्यो कालिकापथ र नेपालगञ्ज रोडको अर्को निकास

शुक्रबार, ०५ साउन २०८०, १६ : १४
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ। लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो।

यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले ४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मदत गर्ने बताए। उनले अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताए।

‘कालिकापथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ । उनले भने ‘यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ।’ सो क्षेत्रमा डोजर लगाएर बुटवल उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुशी प्रकट गरेका छन्।

यसै बीच नेकपा एमाले क्षेत्र नम्बर २ रूपन्देहीका संयोजक बाबुराम पन्थीले लामो पहल र जोडदार मागले बाटो खोलिएको बताए । ‘यो कालिकापथको बाटोलाई निकास नभएर समस्या थियो’ पन्थीले भने, ‘हाम्रो पहललाई मानेर नगरले आज निकास खोलेको हो । यसले अब कालिकापथलाई थप गन्जार र चलाएमान गराउँछ ।’ कालिकापथ सडक निर्माणका लागि नेता पन्थीले व्यापक रुपमा पहलकदमी लिएपछि सडक मिचेर बनेका घरहरु भत्काइएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।