ताजा अपडेट »

प्यूठानका माइला मुखिया र हाम्रो संस्कृति

बुधबार, ०३ साउन २०८०, १७ : ३५
26 Shares

प्युठानको एउटा गाँउमा एकजना भारतीय सेनाबाट भर्खर पेन्सन पकाएर आएका लाहुरेको देहवसान भयो । उनको मृत्युको खबरले सारा गाउँ जम्मा भयो । लाहुरेकी श्रीमती हुँकार छाडेर, अलाप विलाप गर्दै रुन थालिन । सबैले उनलाई सम्झाउन थाले । यहि विचमा पल्लो गाउँका माइला मुखिया आइपुगे । सबैलाइ पन्छाउँदै उनी अगाडि बढे, लाहुरेकी श्रीमतीको नजिकै पुगेर सम्झाउन थाले । नानी यो जन्मने मर्ने भन्ने कुरा एउटा चक्र जस्तै हो, जन्मेपछि एकपटक सबैले मर्नु पर्दछ, ढिलो चाडोको कुरा मात्र हो ।

हेर नानी! हुँनी हुनामीलाई कसैले रोक्न सक्दैन, भो नानी ! अब नरोउ, हामि छौं, हाम्रो मुख हेरेर वस, मुखियाको कुराले लाहुरेनीले एकछिन मन थामिन । एकछिन पछी फेरी रून थालीन, माइला मुखियाले सोधे! नानी! फेरी किन रुन थालीउ ! लाहुरेनीले रुदै भनिन् ‘पेन्सन भए पछि भैसी किनेर ल्याउनु भएको थियो, भैसी भर्खर व्याएको छ, विहान पाँच जना, वेलुकी पाँचमाना, दुध दिन्छ, दुध खान नपाईकन मर्नुभयो, कुडेमा दुध देखेर मलाई डाहा हुने भयो । यो कुरा सुनेर माइला मुखिया अगाडि सरेर फेरी सम्झाउन थाले– भो नानी ! यो कुराको लागी तिमी रुन परेन, यो कुराको पिर गर्दै नगर, विहान बेलुका समय मिलायर म आउने छु र एक एक गिलास दूध खाइ दिने छु, भो चिन्ता नगर ।

मनलाई समाल । लाहुरेनी एक दिन चुपलागीन फेरी रुन थालिन, मुखियाले सोधे ! अब के सम्झेर रून थालेउ त नानी ! लाहुरेनीले भनिन् –वहा प्रत्येक छुट्टिमा आउँदा ल्याएका दुइ आल्मारी कपडा छन्, छोरो मात्र दुइ बर्षको छ, आल्मारी खोल्दा ती कपडा देखेर मेरो मन धरकने भयो । त्यसवेलामा मैले मन कसरी थामुला भनेर रोएकी ! फेरी मुखियाले सम्झाउदै भने कि ‘भो नानी यो कुराले पनी तिमिले मन दुखाउन पर्दैन, लाउरेका कपडा देखेर तिम्रो मन धरकने हो भने ति कपडा मैले लगाइ दिउला, यो पिर नगर ! लाहुरेनी एकछिन बोलीनन्, एकछिन पछि फेरी रून थालीन्, मुखियाले सोधे ! अब फेरी किन रून थालेकी ! के सम्झेर रोयौं ।

लाहुरेनीले भनिन–पेन्सन आएपछि दश लाखमा खेत किन्नु भएको थियो, चारलाख बुझाउनु भयको थियो, ६ लाख रुपिँया बुझाउन बाँकी छ, छोरो बालख छन् म विदुवा छु त्यो ऋण कसरी तिर्ने होला भनेर रोएकी ! माइला मुखिया अल्ली पछाडी सरेर सबैको मुखमा हेर्दै भने– यतिका मानिस जम्मा भएका छाँै, कोइ बोल्दैनौ, कसैले मुख खोल्दैनौ, मैले त एक घण्टा लगाएर सम्झाउने काम गरे, अब सम्झाउने पालो तिमिहरुको ।

यति भनेर उनी भिडबाट निस्केर घर तिर लागे के हाम्रा नेता, हाम्रा कार्यकर्ता, हाम्रो संस्कृति यस्तै छैन र ! राम्रो कुरा सबै आफुले गरेको, नराम्रो कुरा सबै अरुले गरेको, फाइदा हुने कुरा जती सबै आफ्नो भागमा, फाइदा नहुने कुरा सबै अर्काको भागमा, जेजती विकास भएको छ त्यो आफ्नो कारणले, आफ्नो नेताको कारणले, आफ्नो पार्टीको कारणले, ध्वंस भएको, विनाश भएको सबै अर्काको कारणले, विपक्षीको कारणले ।

गणतन्त्र पछिको डेढ दशकसम्म आलोपालो तिमिहरु नै त छौँ सत्तामा इनै मुल नेतृत्व र मुल पार्टीहरु कै कारण देश बरवादीको दिशामा अगाडि बढेको होइन र ! उन्नीस बीसको मात्रा फरक होला तर आधारभुत रूपमा तिमीहरु सबै एकै ठाउमा रहेका छौँ। आफ्नो नेतृत्वको देवत्वकरण र विपक्षीको राक्षसीकरण, अन्ध समर्थन र अन्ध विरोध यहि त हो तिम्रो सस्कृति । राम्रो कुरा जती सबै आफ्नो भागमा, नराम्रो कुरा जती सबै अर्काको भागमा । यहि माइला मुखिया कै जस्तो चेतना, संस्कार र संस्कृति कहिलेसम्म ? यो संस्कृतिको अन्त नहुँदासम्म देशको प्रगती असम्भव छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।