ताजा अपडेट »

बुटवल राम्रो भएन भनेर हुँदैन सबैले भूमिका खेल्नुपर्छ : मेयर पाण्डेय

बुधबार, २७ असार २०८०, २० : २१
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई राम्रो बनाउनका लागि सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । उपमहानगरले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै मेयर पाण्डेयले यहाँका नागरिक तथा संघ-संस्थाहरुले आफ्नो क्षेत्रबाट भूमिका निभाउन आग्रह गरे ।

बुटवललाई उत्कृष्ट नगर बनाउन बुटवलबासी र बुटवलका संघसंस्थाहरुको पनि उत्तिकै भूमिका हुने बताउँदै उनले भने ‘घरको फोहोर डस्टविनमा नराखेर बाटोमा फाल्ने, सडकभरि मनपरी पार्किङ गर्ने, प्रतिक्षालयमा समेत पार्किङ गर्ने, हाटबजार, ठेला, इरिक्सामा मनलाग्दी गर्ने अनि बुटवल राम्रो भएन भनेर हुँदैन ।’ उनले सबैले सबैतिरबाट नगरलाई सफा सुन्दर र हराभरा बनाउन र समृद्ध बनाउनका लागि भूमिका खेल्न जरुरी रहेको उल्लेख गरे ।

यसैगरी मेयर पाण्डेयले उपमहानगरको सेवाप्रवाहमा सुधार ल्याउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
बुटवलभित्रका सबै कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिएका हुन् । महानगरले सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न च्याटबट सञ्चालनमा ल्याएको र सहायता कक्षसमेत सञ्चालन गरेको बताए । ‘बुटवल उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौं ।’–उनले भने, अरु कार्यालयहरुका समस्या प्राथमिकताअनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु, बुटवलभित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुख दिए र सेवा दिनेक्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताइन् । उनले बुटवलभित्रका सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरका सेवासुविधालाई प्रभावकारी रुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।