ताजा अपडेट »

वातावरण र पर्यावरण संरक्षणका लागि एकजुट हौं

विहीबार, ०७ असार २०८०, ११ : ३३
12 Shares

क्लास अफ सिभिलाईजेसनमा सेमल पि हटिङटनले पानी, सभ्यता र उर्जा सम्बन्धमा बिस्तृत वर्णन गरेका छन् । विश्वमा देखिएको जलवायु परिवर्तनका समस्याका कारण मानव सभ्यता खतरामा पर्ने सक्ने कुरा बैज्ञानिकले व्याख्या विष्लेषण गर्दै पनि आएका छन् ।

पृथ्वीको तापक्रम बढ्ने क्रममा छ, वर्षा औसतमा कहिले अत्याधिक र कहिले अतिकम हुन थालेको छ । यसले मानव सभ्यतामा मात्र नभएर प्रकृति, वनस्पति, जनावर, चराचुरुङ्गी लगायत पर्यावरणमै चुनौती थपेको छ । नेपालमा पनि जलवायु परिवर्तनका समस्या देखा पर्न थालेका छन । पानीको संचय क्षेत्र हिमाल र जमिन मात्र भएकोले हिमालमा हिउँको मात्रा घट्दै गएको छ भने जमिनमा मानवीय स्वभाव र व्यवहारका कारण पानी घट्दै गएको छ । बनडढेलोका कारण वनविनाश हुँदै गएको छ भने पानीका मुलहरु सुक्दै गईरहेका छन । यो अवस्थामा पर्यावरणको उचित संरक्षण गर्न सकिएन भने हरियो वन नेपालको धन भन्ने नारा उखानमा मात्र सिमित हुने छ ।

भनिन्छ, मान्छेको जिवन पंचतत्वको परिणाम हो, यी पाँच तत्व बिना मानव जिवन सार्थक रहन सक्दैन । कुनै तत्वको अभाव मात्र भए जिवन अपुर्ण छ । नव आविष्कारद्वारा केही क्षणभरका लागि मानव संसाधनको स्रोत पूर्ति भएपनि यो दृघकालिन भने रहन सक्दैन । त्यसकारणले पनि हाम्रो मानवीय घरको रुपमा रहेको पृथ्वीको संरक्षणका निम्ति २१ औं शताब्धीका मानव जाती तत्पर भएर लाग्नु को बिकल्प छैन् । प्रविधी, विकास र संचारका कारण मानवजातीले उल्लेखनीय उपलब्धी हासिल गरेपनी यसले प्रकृतिमा निम्ताएका नव चुनौतीहरु झनै गम्भीर भएर देखापरेका छन् । हुन त सहर केन्द्रीत क्षेत्रहरुमा जनसङख्या, उद्योग , कलकारखाना, आप्रवासन र बसाईसराई जस्ता गतिविधिको उचित ब्यबस्थापन हुन नसक्नु पनि एउटा कारक तत्वको रुपमा विष्लेशण गर्न सकिन्छ ।

वातावरण र पर्यावरण संरक्षणका लागि अन्तर्राष्टिय जगतले निकै उपलब्धी हासिल गरेका छन । स्वीडेन, बेल्जियम, नर्वे, फिनल्याण्ड लगायत मुलुकले कानुन नै निर्माण गरी वाताबरण र पर्यावरण संरक्षणका लागि योजना अघि सारेका छन कतिपय मुलुकले संविधान मै पर्यावरण संरक्षणको मुद्धालाई अनिवार्य शर्तको रुपमा अघि सारेका छन् । नेपालमा भने त्यती महत्व दिएको पाईएको छैन् । एक अर्थमा भन्ने हो भने वातावरण र पर्यावरण संरक्षणको विषय नारामा मात्र सिमित छ । कार्वनउत्सर्जन कटौती लगायतका विषय पछिल्लो समय चर्चामा परेपनी कार्यान्वयनमा भने ढिलासुस्ती कायम नै छ ।

खोला नाला, नदी, ताल तलैया, सिमसार क्षेत्र, बन्यजन्तु आरक्षण क्षेत्र लगायतका क्षेत्रमा निम्तिएका नव चुनौतीहरुलाई पहिचान तथा एकिन गरी त्यसको संरक्षण र पर्वदनमा स्थानीय, प्रदेश र केन्द्र सरकार अग्रसर भएर लागेको पनि देखिदैँन । प्रत्यक वर्ष लाग्ने वन डढेलोका कारण अमुल्य जिवजन्तु, वनस्पती लोप हुने अवस्थामा छन् त्यसको संरक्षण भएको पनि पाईदँैन । नेपालको वनक्षेत्रमा हुने काठ तस्करी, जनावर तस्करी मोलाईरहेका छन सरोकारवाला निकाय तदारुक भएको पाईदैन् । यसले वातावरण र पर्यावरणको चक्रिय प्रणालीमा प्रत्यक्ष असर गरिरहेको छ । नेपालमा पाईने माटोको उर्बरतामा समेत कमी आएको छ जसका कारण ८१ प्रतिशत कृर्षिमा निर्भर मुलुक साथै ६१ प्रतिशत कृर्षि क्षेत्रमा संग्लग्न किसानहरु उत्पादन क्षमताका अभावमा चिन्तित देखिन्छन ।

जलवायु परिवर्तनका कारण वायुमण्डलमा प्रत्यक्ष असर परिरहेको छ । तराई, चुरे, दुन र महाभारत क्षेत्रमा समेत जलवायु परिवर्तनका समस्या देखा परेका छन् । बाढी, पहिरो, लडढेलोका कारण जनधन र मानवीय क्षति समेत भएको छ । हिमाली क्षेत्रमा हिउँको मात्रा घटेर कालापत्थर मात्र देखिन थालेको छ । कम वर्षातका कारण खेती, किसानी गर्ने वर्ग मर्कामा पर्न थालेका छन । ऋतु र मौसममा आएको अपत्यारीलो परिवर्तनले पृथ्वी नै खतरामा छ भन्ने कुराको पुष्टि गर्दछ । सहर क्षेत्र प्रदुषणकै कारण प्रत्यक वर्ष लाखाँै मानिसले ज्यान गुमाउन बाध्य छन् । निर्माणधीन पुर्वपश्चिम राजमार्गको धुलाम्य सडकले लाखौ यात्रुको स्वास्थ्यमा प्रतिकुल असर पुयाईरहेको छ । नयाँ महामारी र रोगका कारण अकालमा मानिसले ज्यान गुमाईरहेका छन् ।
सम्बन्धित सरोकारवाला निकाय र राज्य स्वयम् मौन देखिन्छ ।

यी तमाम समस्याका बाबजुद राज्यतह जवाफदेहि बन्नु पर्दछ । नीतिगत तहबाटै जल्दा बल्दा समस्या हल गर्नका लागि संविधान संसोधन गरी अथवा वातावरण र पर्यावरण सम्बन्धि छुट्टै ऐन निर्माण गरी वातावरण र पर्यावरण संरक्षणका लागि दिगो योजना अघि बढाउनु पर्दछ । पछिल्लो नेपाली राजनीतिक पिढीँमा केही सुधारका कार्यक्रम काठमाडौं महानगरले अघि सारिरहेको छ । खासगरी सरसफाई र बाग्मती सभ्यता संरक्षणका लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सरसफाईलाई महत्व दिएका छन् । धरान उप–महानगर पालिकाका मेयर हर्क साम्पाङ राईले पिउने पानीका लागि ठूलै मेहेनत गरिरहेका छन् । केही अन्य स्थानीय तहमा यो क्रम जारी छ र हुनु पर्दछ ।

प्रत्येक वर्ष मनाईने वातावरण दिवश अथवा जलवायु परिवर्तन सम्मेलन ले सन्देश त प्रवाह गरिरहेको छ, तर कार्यान्वयनको पक्षमा भने खासै नौलो अभ्यास सुरुवात हुन सकेको छैन् । तसर्थ वातावरण र पर्यावरण संरक्षणका लागि हामी सबै एकजुट हुन आवश्यक छ । तराई क्षेत्रमा अबको दुई दशकमा पानीको समस्याको हाहाकार हुने छ त्यसका लागि मानवीय आवादीको क्षेत्र भएको कारण पानिको दृघकालिन व्यवस्थाका लागि स्थानीय, प्रदेश र केन्द्र मिलेर लाग्नु आबस्यक छ । जलवायु परिवर्तन समस्या हलका लागि हरेक जनस्तरमा संरक्षणका लागि हातेमालो जरुरी देखिन्छ । पृथ्वी हाम्रो घर हो यसको संरक्षणका लागि हामी सबै जुटौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।