ताजा अपडेट »

पाल्पामा रोकिएन डुबेर मृत्यु हुने क्रम, सोमबार रुपन्देहीका एक युवासहित २ को मृत्यु

सोमबार, ०४ असार २०८०, २२ : १२
12 Shares

बुटवल । पाल्पामा डुबेर मृत्यु हुने क्रम रोकिएको छैन । सोमबार एकैदिन २ जनाको डुबेर मृत्यु भएको छ । यसैबीच  रैनादेवी छहरा-८ जलुके झरना भन्ने स्थानमा रुपन्देहीका एक युवाको डुबेर ज्यान गएको छ ।

सुद्धोदन २ जहाड बस्ने २२ वर्षीय सन्जय चौधरीको जलुके झरनामा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो साथीसँग पौडी खेल्न पुगेका चौधरी पौडी खेल्ने क्रममा झरनाको पोखरीमा डुबेकोमा साथीहरूले उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याएकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए ।

आजै दिउँसो पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै रहेको तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको गोरखपुरका ३४ वर्षीय विपिन दुसियाको मृत्यु भएको थियो ।

पछिल्लो समय तिनाउ गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भुत खोला, विद्युत ड्याम साइड तथा वडा नम्बर २ को खुर्साने, कालीगण्डकी, जलुके झरनालगायतका स्थानमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ ।

आज मृत्यु भएसँगै पाल्पामा ११ महिनाको अवधिमा डुबेर मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा तिनाउ गाउँपालिकामा घुम्न आउने विभिन्न जिल्ला तथा भारतीय नागरिक गरी १० जनाले पानीमा डुबेर ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १ महिला, २ बालबालिका र अन्य पुरुष रहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।