ताजा अपडेट »

रगतकाे व्यापार बन्द गराैं

बुधबार, ३१ जेठ २०८०, १७ : ०२
36 Shares

प्रत्येक वर्ष आज १४ जुनलाई विश्व रक्तदाता दिवस मनाउने गरिन्छ। सन १९०१ मा डा.कार्ल लेण्डस्टेनरले रक्त समूह पत्ता लगाए। मानव शरीरमा ए,बि र ओ रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण जानकारी पत्ता लगाएकोले सन १९३० मा उनीलाई नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो।

डा.कार्ल लेण्डस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व स्वास्थ्य संगठनले विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको थियो। सन् १९३१ मा संसारको पहिलो ब्लड बैंक स्पेनको वार्सिलोना शहरमा स्थापना भएको थियो। सन् १९४० मा बाईनर र लेण्डिस्टेनरले रक्तसमुह अन्तरगत आ.एच. (पोजिटिभ र नेगेटिभ) पत्ता लगाए। सन् १९६६ मा नेपालको पहिलो ब्लड बैंक लक्ष्मी ब्लड बैंक काठमाडौंमा स्थापना भयो। नेपालको पहिलो रक्तदाता वि.सं. २००० मा दयावीर सिंह कंसाकार हुन। वि.सं. २०७१ मा रक्तसञ्चार नीति जारी भएको छ।

यो नीतिसँगै रगत व्यवस्थापनमा एकल नेतृत्व रहेको नेपाल रेडक्रस सोसाईटी लगायत अन्य संस्थाले समेत निश्चित मापदण्ड पूरा गरि रगत वा रक्ततत्त्व व्यवस्थापन गर्न सक्छन। रक्तदाताको महत्त्वपूर्ण भुमिकालाई सम्मान व्यक्त गर्दै विविध रचनात्मक कार्यक्रमहरु,रक्तदाता उत्त्प्रेरणा, अत्याधिक रक्तदान गर्ने रक्तदाता सम्मान लगायत विविध कार्यक्रम आजको दिन सम्पन्न गरीन्छ। सन् २००४ बाट नियमित रुपमा विश्व रक्तदाता दिवस मनाउने क्रममा प्रत्येक वर्ष रक्तदाता सम्मानको लागि र नयाँ रक्तदाता निर्माण गर्नको लागि विश्व स्वास्थ संगठनले नारा निर्धारण गर्दछ।

सन २००४ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा प्रथम विश्व रक्तदाता दिवस सम्पन्न गरिएको थियो।यस बर्ष २०२३को नारा  Give Blood,Give Plasma,Share Life,Share Often तय गरिएको छ। यस नाराको अर्थ रगत तथा प्लाज्मा नियमित दान गरौं, जीवन बचाउने कार्यमा ऐक्यबद्धता होऔ, भन्ने रहेको छ।रगतको विकल्प रगत नै हो। दुर्घटना, गर्भवती, रक्तअल्पता, अन्य अप्रेसन गर्नुपर्ने बिरामीको लागि रगत तथा रक्ततत्त्व आवश्यक पर्दछ ।

रगतको अभावमा बिरामीको ज्यान बचाउन सकिदैन। स्वयंसेवी रक्तदाताहरु स्वस्थ रक्तदाता मानिन्छ।प्रतेक ३/३ महिनामा नियमित रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुको महत्त्वपूर्ण योगदानले गर्दा बिरामीहरुलाई स्वस्थ बनाउन सकिन्छ। वास्तवमा भुकम्प, आगलागी, बाढिपहिरो लगायतका पिडादायी अवस्थामा स्वयंसेवी रक्तदाताहरुको भुमिका महत्त्वपूर्ण हुन्छ। स्वयंसेवी रक्तदाताहरुको नियमित रक्तदानको कारणले विषम परस्थितिमा समेत रगत अभाव हुँदैन।

हामी सबैलाई जानकारी भएकै कुरा हो कि रगत मानव जीवनमा नभै नहुने आवश्यक तत्त्व हो। रगतको आवश्यक्ता विभिन्न रोगहरुको उपचार गर्दा, शल्यक्रिया, दुर्घटना, प्रसुति, थालसेमिया, हेमोफोलिया, आगलागीका बिरामी, डेङ्गु लगायत अन्य बिरामीहरुलाई उपचारको क्रममा रगत आवश्यक पर्न सक्छ।कहिलेकाहीँ तुरुन्तै रगत वा रक्ततत्त्व उपलब्ध नगराएमा बिरामी बचाउन सकिदैन। १८ वर्षदेखि ६५ वर्षसम्मका स्वस्थ महिला पुरुष दुवैले नियमित रक्तदान गर्न सक्छन। रक्तदान गर्नको लागि तौल ४५ केजी भन्दा धेरै हुनुपर्दछ।

रक्तदान गर्न चाहने व्यक्तिको शरीरमा हेमोग्लोविनको मात्रा १२ ग्रामभन्दा धेरै हुनुपर्दछ। ब्लड प्रेसर सामान्य हुनुपर्दछ। हाई वा लो दुबै अवस्थामा रक्तदान गर्न सकिदैन। मुटु, फोक्सो, कलेजो राम्रो क्रियाशील हुनुपर्दछ। जन्डिस, मलेरिया, टाईफाईड, एड्स वा औषधीहरु सेवन वा अन्य कुनै विरामीको डाक्टरसँग परामर्श लिएर मात्रै रक्तदान गर्न सकिन्छ। रक्तदान गर्दा ५ देखि ७ मिनेटसम्म मात्र लाग्छ। रक्तदान गरिसकेपछि ५ मिनेटसम्म बेडमा आराम गर्नुपर्दछ। त्यसपछि केही तरल पदार्थ खानु राम्रो हुन्छ। रक्तदान गरीसकेपछि आफ्नो नियमित काम गर्न सकिन्छ। स्वास्थको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेता पनि हालसम्म कृत्रिम रगत बनाउन सकेको छैन्। यसको विकल्प भनेको स्वयंसेवी रक्तदाता नै हुन्। अत्याधुनिक चिकित्सा पद्धतिको कारणले गर्दा देशका प्रमुख शहरहरुमा रक्ततत्त्वको माग दिनहुँ बढ्दै गैरहेको छ।जीवन र मृत्युको दोसाँधमा परेका बिरामीलाई रगतले जीवनदान गर्न सक्छ।

नियमित स्वयंसेवी रक्तदाता,रक्तसञ्चार केन्द्रको सार्थक श्रोत हो। विश्व स्वास्थ्य संगठनले सन २०२०सम्ममा शतप्रतिशत स्वयंसेवी रक्तदाता पुर्याउने लक्ष्य लिएतापनि नेपालमा सरोकारवाला संस्थाले यस बिषयलाई महत्त्व दिएको नदिएकोले अझै पनि धेरै ठाउँमा रगत व्यवस्थापन गर्न सोधभर्ना गर्नुपर्ने वाध्यता रहेको छ। नेपाल रेडक्रस सोसाईटी,राष्ट्रिय रक्तसञ्चार व्युरोले यस विषयमा ध्यान पुर्याउनु आवश्यक छ। स्वयंसेवी रक्तदाता सबैभन्दा सुरक्षित रक्तदाता हुन।त्यसकारण हामी सबै मिलेर स्वयंसेवी रक्तदाता बढाउनु अत्यावश्यक छ।

विश्व स्वास्थ्य संगठन अनुसार यस बर्ष झण्डै एक सय बाह्र अरब रगत वा रक्ततत्त्व युनिट वितरण भएको छ। नेपालमा झण्डै ३.५ लाख युनिट रगत वा रक्ततत्त्व वितरण भएको छ। विगतको वर्षको तुलनामा यस वर्ष रगतको माग बढ्दो छ। स्वयंसेवी रक्तदाताहरुको नियमित रक्तदान गर्दै आएका हुँदा धेरै ठाउँमा रगतको सहज व्यवस्थापन भएको छ।तथापि काठमाडौं, चितवनजस्ता बिरामीको चाप बढि हुने क्षेत्रमा रगत अभाव भैरहेको हुन्छ। यस्ता क्षेत्रमा रक्तदाताहरुलाई प्रोत्साहन गर्नुपर्दछ। रक्तदातालाई सम्मान गर्नुपर्दछ। विश्व रक्तदाता दिवस, रक्तसञ्चार दिवस, लगायत अन्य अवसरहरुमा सम्मान गर्नुपर्दछ।

रक्तदान अभियानमा हामी धेरै पछि छौं। रक्तदाता सम्मान उत्त्प्रेरणा कार्यक्रमहरु नियमित हुँदैन। स्वयंसेवी रक्तदाताहरुको रगत लागत शुल्कको बहानामा बिक्रि गर्नुहुँदैन। सम्पुर्ण स्वयंसेवी रक्तदाताहरुको अभिमतलाई सम्मान गर्दै रगत निःशुल्क व्यवस्थापन गर्नुपर्दछ। रगत राख्ने थैलो, रोग परिक्षण शुल्क, स्टोरेज लागत, कर्मचारी एवम् प्रशासनिक खर्चको लागि आवश्यक रकम सरकारले व्यवस्थापन गर्नुपर्दछ। स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण निर्णयहरु भएका छन।क्यान्सर लगायत जटिल रोगहरुमा सरकारले दिने, सहुलियत लगायत स्वास्थ्य बीमाले आम सर्वसाधारणलाई आकर्षण गरेको छ। अब रगत वा रक्ततत्त्वलाई पनि निःशुल्क बनाएर सम्पुर्ण स्वयंसेवी रक्तदाताहरुलाई वास्तविक सम्मान गर्नुपर्दछ।

नेपालमा रगत निः शुल्क कहिलेबाट हुन्छ?

खासगरी पहिलो स्थानीय तहको निर्वाचन पछि केही स्थानीय सरकारले आफ्नो नागरिकको लागि निःशुल्क रगत तथा रक्ततत्त्व उपलब्ध गराउने निर्णय गरेता पनि सहि व्यवस्थापन हुन सकेको छ। गण्डकी प्रदेश सरकारले प्रदेशभरी निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ। बाग्मती प्रदेश र लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालका बिरामीहरुलाई मात्रै निःशुल्क रगत तथा रक्ततत्व व्यवस्था गर्दै आएकोमा यस वर्षको नीति तथा कार्यक्रममा सामुदायिक अस्पतालका बिरामीहरुलाई समेत निःशुल्क वितरण गर्ने उल्लेख गरेको छ। केहि स्थानीय सरकारले समेत निःशुल्क रगत व्यवस्थापन गर्दै आएका छन। अन्य प्रदेशमा छिटफुट रपमा रगत निःशुल्क भएको छ।

मिति २०७९ जेठ १८ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रगत तथा रक्ततत्त्व को मुल्यवृद्धि गरेको छ।यसैलाई आधार मानेर धेरै ठाउँमा रगत तथा रक्ततत्त्वको मुल्यवृद्धि भएको छ।रुपन्देही लगायत धेरै ठाउँमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्धारण गरेको रकम भन्दा १०० अधिक मूल्य कायम गरिएको छ। बुटवलमा ७२५ मूल्य लिईदै आएकोमा झन्डै ३१ प्रतिशत वृद्धि गरि ९५० मूल्य कायम गरिएको छ। हामी स्वयंसेवी रक्तदाता समाजले पटक पटक ज्ञापनपत्र बुझाउँदा समेत शुल्क समायोजन हुन सकेको छैन्।

हामी स्वयंसेवी रक्तदाताहरुले निःशुल्क दान गरेको रगत तथा रक्ततत्त्वलाई मुल्यमा बिक्री गरेको हामी टुलुटुलु हेरेर बस्ने छैनौँ। रक्तदान अभियान सम्वेदनशील विषय हो, राज्य र सरोकारवाला संस्था यसमा गम्भीर हुनैपर्छ। एकातिर प्रदेश सरकारले निस्शुल्क रगत भन्दै घोषणा गर्ने,अर्कोतिर रगतको मुल्यवृद्धिको घोषणा गर्ने यो दोहोरो कुरा किन भैराखेको छ। रगतको मुल्यवृद्धि ,रगतको व्यवस्थापनमा कहिंकतै रक्तदाताहरुको सहभागीता नगराउनुलाई हामी स्वयंसेवी रक्तदाताहरुको गम्भीर ध्यानाकर्षण भएको छ।मनोमानी तरीकाले रगतको मुल्यवृद्धि हामी स्वयंसेवी रक्तदाताहरुलाई मान्य हुनेछैन। रगत निस्शुल्क हुनैपर्छ। रगत बेच्न पाँईदैन।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।