ताजा अपडेट »

तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक

बुधबार, २४ जेठ २०८०, १७ : ०७
10 Shares

भत्ता खान स्कूल स्कूल पुगेका छन् । विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिइ चोरजस्तै सुटुक्क विद्यालयमा आइपुगेका छन् । शिक्षक कहाँ जान्छन् भनेर अनावश्यक चेष्टा लिएका छन् । शिक्षा बिग्रिएको छ । अभिभावक शिक्षाको अभावले समस्या भएको छ । रिसोर्टमा शैक्षिक विमर्श चलाएर पैसाको सत्यानाश गरेका छन् । परिणाम के आउने हो थाहा छैन,मोज गरेर शिक्षा समिति दौडिएको छ । यस्ता कुराहरुले हाम्रा कानमा कुनै बतास लागेको छैन । हामीले गरेका प्रयास र अभ्यासमा कसैले नकारात्मक प्रश्न गर्दैमा जहाजै डुब्ने छैन । झिंगाका रिसले डिंगा मर्ने छैनन् । हाम्रो अर्जुनदृष्टि नै तिनाउको गुणस्तरीय शिक्षाका लागि प्रयत्न र प्रयास हो ।

तिनाउको शैक्षिक अवस्था गिर्दो भएकै कारण शिक्षा समिति,तुलनात्मक तरिकाले गतिशील भएको छ । पञ्चायतकालको अञ्चलाधीशको दौडाहा टोलीजस्तो हाम्रो टोली बनेको छैन र बन्ने पनि छैन । हाम्रो टोली विद्यालयका निम्ति सहजीकरण टोली बनेको छ । विद्यालयको कक्षाकोठामा शिक्षकले पढाउँदा देखा परेका समस्याका केके हुन् ,समाधानका कुनै उपाय छन् कि ? कसले के गरेमा कक्षाकोठाको पढाइ सुध्रिन्छ ? यीनै विषयमा केन्द्रीत भएर हामीले शिक्षक साथीहरुसँग विमर्श गरेका छौं । उनीहरुका रायसुझाव संकलन गरेका छौं । यो सुझावलाई प्रतिवेदनको रुपमा शिक्षा समितिले गाउँ कार्यपालिकामा प्रस्तुत गर्नेछ र आवश्यक वजेटको प्रवन्ध सम्भव हुनेछ ।

विद्यालयहरुमा पुग्दा शिक्षकहरु विद्यार्थी पढ्दैनन् भन्छन् । अभिभावकहरु शिक्षकले गतिलो पढाउँदैनन् भन्छन् । शिक्षक अभिभावक संघले अभिभावकहरुलाई सचेत बनाउनै सकिएन भन्छन् । विद्यालय व्यवस्थापन समितिले विद्यालयमा शिक्षक दरवन्दी पूरा छैन,भवन पुगेको छैन अनि शौचालय राम्रो छैन भनेर तर्क राख्छन् । एकले अर्कालाई दोष लगाउने यस्ता चलन नयाँ भने होइनन् । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाको शब्द सापट मागेर भन्दा–शिक्षकलाई यावत सुविधा दिदा समेत हुँदैन भने के गर्न सकिन्छ र ? शिक्षाका जानकार घनश्याम पाठकले शिक्षाका सुधारक शिक्षक नै हुन् भन्दैछन् । विद्यालय बनाउने र नबनाउने कुराको चाँबी शिक्षकसँगै रहेको उनको तर्क छ ।

गाउँका विद्यालयमा यसै पनि विद्यार्थी कम छन् । बसाइँसराइले झन् दुःख दिएको छ । साना विद्यार्थीलाई टाढाटाढा पढ्न पठाउन मुस्किल छ । तिनाउका कुनैकुनै विद्यालयमा विद्यार्थी संख्या चार र शिक्षक संख्या तीन छन् । मर्ज गरौं, गाउँको दैलोमा भएको विद्यालय टाढा जान्छ । नगरौं विद्यार्थी छैन । गुणस्तरीय शिक्षाका कुरा गरिरहँदा यस्ता कुराहरु बाधाका रुपमा उभिएका छन् । सानासाना विद्यार्थीका विद्यालयमा उपस्थिति निरन्तर छैन । आमाहरु बजार जाँदा उतै जान्छन् । विहे,भोजमा पछि लागेर जान्छन् । पूजाआजामा नानीबाबुहरु,प्रसादीग्रहण गर्न पुगेपछि पढाइ कस्तो होला ?

सिसाकलम भाँचिदा तिखार्ने पेन्सिल कटर छैन । गल्ति मेट्ने त थुकले हो रे ! स्केल किन्देउ न भन्दा हाम्रा पालामा नभएर पनि चलेकै थियो,मास्टरहरुले विद्यार्थीलाई दुःखमात्र दिन्छन् भनेर अभिभावकहरु च्याठिन्छन् रे ! स्थानीय शिक्षकहरु विहान कामधन्दा गरेर थाकेर आउँछन् । थाकेका शिक्षकहरुको फूर्ति छैन । उस्तै परे पढाउँदैमा निदाउँछन् रे–विद्यार्थी भन्छन् । शिक्षकहरु शैक्षिक सामग्रीकारुपमा लौरो लिएर जान्छन् ।

सिर्जनात्मक शिक्षा पढाउने शिक्षकले हार्मोनियम नै नदेखेको कुराले हाम्रो शिक्षा व्यवहारिक छैन भनेर कसैले भन्नै पर्दैन । शैक्षिक सामग्री बनाउने पैसा छैन रे ! शिक्षकहरु छुटटीको घण्टीसँगै घरमा जान हतारिन्छन्–हेडसरहरु भन्छन् । कुनै स्कूलहरु चुहिएर कम्प्युटर ध्वस्त भएका रहेछन् । छानो गतिलो भएन । छाउने पैसा छैन । कसले दिने हो छानो छाउने सुझाव ? विद्यार्थीले घूर बढारेर धुल्लामै । सहायक कर्मचारीलाई पानी बोक्दैमा दिन जान्छ । धारो छ पानी छैन बैसाख,जेठमा । कुनै विद्यालयका चर्पी पस्दा तीन महिनाको पिनास निको हुन्छ । पिसाव फेर्न पाइन्ट वा फ्रकको फेरो समाउने कि नाक ? सहायक कर्मचारी धेरै भएका विद्यालयमा उनीहरुलाई भान्सा उम्काउनै हतारो ।

आखिर तिनाउमा किन आयो बिग्रदो नतीजा ? गाउँपालिकाको भूमिका कमजोर भएर हो कि ? शिक्षा समितिको सक्रियता प्रभावहीन भएर हो कि ? शिक्षा शाखा चुस्तदुरुस्त र गतिशील नभएर हो कि ? विद्यालय व्यवस्थापन समितिले निर्दिष्ट काम,कर्तव्य र अधिकार बिर्सेर हो कि ? शिक्षक अभिभावक संघको लगानशीलता नपुगेर हो कि ? विद्यार्थीले साँच्चिकै नपढेर वा पढ्न नमानेर हो ? शिक्षकले कक्षाकोठामा पूरा समय नपढाएर वा कक्षाकार्य,गृहकार्य परीक्षण नगरेरै हो कि ?

विद्यालयले यसपालिदेखि वार्षिक शैक्षणिक योजना तयार गर्दैछन् । वार्षिक कार्ययोजना,कार्यतालिका बनाएका छन् । दैनिक पाठयोजनाको डायरी त पुग्यो तर मसीको साथ पाएको छैन । अतिरिक्त क्रियाकलाप गराएपछि पुरस्कार दिने रकम छैन ।
अनाथ,असाहय बालबालिकाहरुलाई सहारा दिने कसले हो ? बसाइँसराइ रोक्न कसले पहल गर्ने हो , विद्यालय छाडेका बालबालिकाहरुलाई पुनः विद्यालयमा ल्याउने कसले हो ? विद्यालयको वार्षिकोत्सव एवम् अभिभावक दिवसमा गरिने तामझाम नियन्त्रण किन नगर्ने ? अनावश्यक व्याच,स्तरहीन गीत र नृत्य,माला,खादा र भोजलाई रोक्नुपर्नेछ अवदेखि । मान,सम्मान त ठिकै छ । हल्का चिया,बिस्कुट राम्रै हो ।

वार्षिकोत्सवमा पट्यार लाग्दो प्रतिवेदन सुनाउनुभन्दा एकएकप्रति प्रतिवेदन घरमै अघिल्लो दिन विद्यार्थीमार्फत अभिभावकलाई पठाउँदा उत्तम हुनेछ र पारदर्शिताको नमूना प्रस्तुत हुनेछ । समयको वचत हुनेछ । अभिभावकले अध्ययन गरेर आफ्नो जिज्ञासा राख्न पाउने छन् । अभिभावक दिवस भएको कारण सक्दो अभिभावकहरुलाई आफ्नो गुनासो,सुझाव सुनाउने अवसर दिनुपर्नेछ । विद्यार्थीका कला प्रस्तुत गर्ने अवसरका रुपमा उत्सवलाई लिनुपर्नेछ । भाइबहिनीहरुले देखाउने सांस्कृतिक कार्यक्रम सकभर मौलिक हुँदा सुनमा सुगन्ध हुनेछ । राष्ट्रिय गीतहरुलाई प्राथमिकता दिदा धेरै विद्यार्थीले समूह नृत्यको अवसर प्राप्त गर्नेछन् अनि देशभक्ति भाव प्रदर्शनको सन्देश जानेछ ।

शिक्षा सुध्रिएमा सबै कुरा क्रमशः सुध्रिदै जानेछ । शिक्षा नै विकासको जननी हो । कृषकलाई शिक्षाविना कृषि पेसामा सहजता आउने छैन । पशुपालनकहरुले शिक्षा नपाएमा पशुपंक्षीमा लाग्ने रोग र औषधीका बारेमा जान्ने छैन । स्वास्थ्य शिक्षाविना मानिस निरोगी हुने छैन । गाउँका विद्यार्थी सहरतिर लाग्ने समस्या हो या प्रतिस्पर्धाको लागि तयारी हुने सन्देश हो ? बेलैमा सोचौं,आलोचनाभन्दा पनि समालोचना गरौं । तिनाउको शिक्षा राम्रो हुँदा हाम्रो गाउँपालिकाको शैक्षिक अवस्था सुध्रिने हो । हाम्रो शैक्षिक उपलब्धि दर उकासिने हो । समृद्ध तिनाउ,सुखी तिनाउबासीको सपना पूरा हुने हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।