Nov 30, 2023
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा रुपन्देहीको भैरहवामा बन्ने एकीकृत जाँच चौकीको शिलान्यास गरेका छन् । नेपाल र भारत बीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि सीमा नाकामा बन्ने यो संरचनाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको प्रधानमन्त्रीद्वयले संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उनीहरुले सो जाँचचौकीको उद्घाटन गरेका हुन् । यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारी साधनको सहज पार्किङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस्