ताजा अपडेट »

सिद्धार्थनगर नगरपालिकाले समस्या समाधानमा ध्यान नदिएको भन्दै संघ-संस्थाहरु आन्दोलित

विहीबार, १८ जेठ २०८०, ११ : ४०
16 Shares
विहीबार, १८ जेठ २०८०
16 Shares

बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले विभिन्न पेशा-व्यवसाय गर्नेमाथि अन्याय गरेको भन्दै यहाँ क्रियाशील विभिन्न राजनीतिक दलहरु, संघ-संस्था, मिटरब्याज पीडित र मजदूरहरुले संघर्ष समिति, रुपन्देही बनाएर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाले समस्या समाधानका लागि ध्यान नदिएको भन्दै संघर्ष समिति, रुपन्देहीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । टेम्पो, ई–रिक्सा, ठेला लगायतका व्यवसाय र मजदूरलाई व्यवस्थापन गर्नुपर्ने समितिको माग छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता, संघर्ष समितिका अगुवा तथा पूर्व सांसद् विनोद उपाध्ययले नगरपालिकाद्वारा विभिन्न व्यवसायी तथा मजदूर पीडित भइरहेकाले यसको विरोधमा आउन बाध्यता बनेको बताए । ठेला व्यवसायी, ई–रिक्सा, टेम्पो चालकमाथि कहिले नगर प्रहरी त कहिले ट्राफिक प्रहरीमार्फत निरंकुशता लाद्ने काम भएको उनले बताए । नगरपालिकाले नियन्त्रणमा लिएका ठेला तुरुन्त व्यवसायीलाई फिर्ता गर्नुपर्छ । होइन भने संघर्ष समितिको आन्दोलन नगरपालिकोविरुद्ध उत्रिन बाध्य हुनेछ’, उनले भने ।

नेकपा एमाले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामदयाल गुप्ताले साना तथा मझौला व्यवसायी, मजदूर र निमुखाको पक्षमा नगरपालिकाले काम गर्न नसकेको बताए । ‘गरीबको पेटमा लात्ता हान्ने काम नगरपालिकाबाट भएको छ’, उनले भने, ‘व्यवस्थित हुनुपर्छ, तर गरीब परिवारको चुल्हो निभाउने गरी नगरपालिकाबाट भएका गतिविधि हामीलाई सैह्य छैन ।’

नेपाल टेम्पो तथा ई–रिक्सा चालक संघ, सिद्धार्थनगरका वरिष्ठ उपाध्यक्ष लोकबहादुर केसीले केही जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, ट्राफिक प्रहरीले आफूहरुलाई मानवीय व्यवहारसमेत नगरेको जनाए । उनले तत्काल यस्ता कार्य रोकेर सहज वातावरण गराउन उनले माग गरे ।

नेकपा राष्ट्रिय एकता अभियानका नेता राधेश्याम गुप्ताले साना व्यवसायी तथा मजदूरमाथि नगरपालिकाको निरन्तर हेपाहा प्रवृत्तिपछि आफूहरुले उनीहरुको साथ र सहयोग गरेको जनाए । उनले नगरपालिकाले मागप्रति बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने र पीडितलाई न्याय दिलाउन लागिपर्ने बताए ।

संघर्ष समितिमा नेकपा, नेकपा ९एमाले०, नेकपा राष्ट्रिय एकता अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, स्वतन्त्र नागरिक समाज, रुपन्देही, अखिल नेपाल ठेला मजदूर व्यवसायी समिति, कबाड पुनः निर्माण योग संघ, मिटरब्याज र किसान मजदुर संघर्ष समिति तथा नेपाल टेम्पो तथा ई–रिक्सा चालक संघलगायत रहेका छन् ।

संघर्ष समितिले नगर व्यवस्थापनका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने, प्लेकार्ड बोकेर शान्तिपूर्ण जुलुससहित कोणसभा गर्ने, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, सिटी जुलुस, ८ घण्टा नगरपालिकामा धर्ना दिने र अन्तिममा आमसभा गर्ने घोषणा गरेको छ । यी कार्यक्रमको मिति तत्काल तोकिने समितिले जनाएको छ । यति गर्दा पनि माग सम्बोधन नभए छलफल गरी अन्य कार्यक्रम घोषणा गर्ने संघर्ष समितिका अगुवा विनोद उपाध्यायले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगर समितिका सभापति सुमन न्यौपानेले संघर्ष समितिले गर्ने शान्तिपूर्ण आन्दोलनमा पार्टीको साथ रहने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।