ताजा अपडेट »

बसाइँसराइको डढेलो कसरी निभाउने होला !

बुधबार, १० जेठ २०८०, ०८ : ०९
57 Shares
बुधबार, १० जेठ २०८०
57 Shares

राज्यको पुनःसंरचना हुँदा कोल्डाँडा, बिस्कुनडाँडा र मरामकोटडाँडा पाल्पा तिनाउको वडा नं.५ मा पर्यो । उक्त वडामा यतिबेला बुद्ध विकास मावि, आदर्श आधारभूत विद्यालय, भूमिशाला आधारभूत विद्यालय, कल्याणी आधारभूत विद्यालय, चर्चरे प्रावि र अमर प्रावि रहेका छन् । एउटामात्र माध्यमिक तहसम्मको पढाइ हुने बुद्ध विकास मावि, कोल्डाँडामा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, शिक्षा समितिका राजेश श्रेष्ठ, दलबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर, रोजगार केन्द्रका प्रमुख कृष्ण ज्ञवाली विहानको १० बज्न पाँच मिनेट अघि पुगेका थियौं ।

विद्यालयमा हामी पुगेपछि घण्टी बज्यो । शिक्षकहरु हाजिरी रजिष्टर बोकेर आआफ्ना कक्षाकोठामा पुगे । हाजिरीपछि शिक्षकहरुसँगै विद्यार्थी प्रार्थना गर्न विद्यालय परिसरमा भेला भए । राष्ट्रगान बज्यो साउण्डबक्सको सहायतामा । सबैले जोडजोडले राष्ट्रगानमा सहभागिता जनाए । दुईजना विद्यार्थीमध्ये एउटा विद्यार्थीले स्टेजमा आएर समाचार वाचन गरे । एउटी विद्यार्थीले शब्दार्थ सोधिन् । ताली बज्यो । सबै कक्षाकोठातिर लम्किए ।

शिक्षक साथीहरुसँग केही बेर हाम्रो टोलीले अन्तरक्रियात्मक छलफल गरेको थियो । कक्षाकोठामा शिक्षण गर्दा देखा परेका शैक्षिक समस्याहरु केके हुन् भनेर हामीले सोधेका थियौं । सिर्जनात्मक कला पढाउने टीकाराम सरले हर्मोनियमका विषयमा पढाउनु पर्ने तर आफैले सो बाजा बजाउन त परै जाओस् राम्रोसँग नदेखेको बताए । तालिम भए जाती हुने कुरा राखे । कम्प्यूटर त विद्यालयमा भएको तर सबै विद्यार्थीलाई पढाउन नसकिएको कुरा शिक्षकहरुले बताए ।

बसाइँसराइले गाउँको जनसंख्या घट्दै गएको, सन्तान जन्माउने दरमा कमी आएको कारणले समेत विद्यालयमा विद्यार्थी संख्या कमी देखिएको शिक्षकहरुले बताए । गतवर्ष एक सय ९७ जना विद्यार्थी रहेतापनि यसपालि एक सय ८२ जना विद्यार्थी रहेछन् । दैनिक पाठयोजनाको डायरी गत वर्ष तिनाउको शिक्षा शाखाले वितरण गरेको रहेछ । थोपो मसी प्रयोग नगरेर दुरुस्तै देख्न पाउँदा लक्ष्मी कुँवरको मनले के भन्यो होला ? वार्षिक शैक्षणिक योजना बनाएको कुरा हेड टिचरले भन्दै गर्दा विद्यालयको जग्गा ४३ रोपनीमा दालचिनी बगैंचा बनाउन आफूले पहल गरेको शिक्षा समितिका संयोजक एवम् पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले गाउँमा गतिलो शिक्षा अभावका कारण गाउँलेहरु सहर ताकिएका हुन् कि, सोच्नुपर्ने बताए ।

राजेश श्रेष्ठले कक्षा १० मा अध्ययनरत १९ जना विद्यार्थीसँग अध्ययन अध्यापनका बारेमा केहीबेर छलफल गरे । कक्षाकोठा फोहोर देखेपछि बढार्ने तालिका बताएका रहेछन् । उपाध्यक्ष लालबहादुर थापाले विद्यार्थीलाई जान्ने, सुन्ने र बुझ्ने बनाउने काम र गुणस्तरीय शिक्षा दिने काम शिक्षकको नै रहेको बताए । शिक्षकहरु, शैक्षिक समस्यामा केन्द्रीत भइरहँदा बालविवाहका कुरा उठे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश रास्कोटीले गाउँपालिका, विद्यालयको अभिभावक बन्न सकोस् भनेर अभिभावकत्व खोजे । विद्यालयमा हामी अनुगमन, नियमन र सहजीकरणका लागि पुगेका थियौं ।

त्यसपछि हामी डेढ बजेको समयमा चर्चरे प्राविमा पुग्यौं । हेड मेडम स्कूलको काम बोकेर गाउँपालिका पुगेकी रहेछिन् भन्ने कुरा थाहा भयो । शिक्षा शाखा प्रमुखलाई फोनै नगरी गएको कुराले खोइ के संकेत गर्छ उनैले बुभूmन् । विद्यार्थी काटेकुटे तीन कक्षासम्म १७ जना रहेछन् हामीले भेटेको विद्यार्थी जम्मा १० जना सो दिन । दुई जना स्थायी शिक्षक, एक जना नीजिस्रोत शिक्षक र एकजना कार्यालय सहयोगी कार्यरत रहेछन् । अफिसमा झुण्डिएर बिग्रिएको घडीमा पौने १० बज्दैथियो । यस विद्यालयमा विद्यार्थी पढ्न आउन छाडेर नयाँ जोरधाराबाट डुम्रे बोर्डिङ्गमा गएको थाहा लाग्यो । पालिका अध्यक्ष र उपाध्यक्षलाई हामीले जोरधारामा छोड्यौं । उनीहरु बुटवल कार्यक्रममा जानुपर्ने भएकाले चिया खाएर विदा गरेका थियौं ।

बतास्सिएर हामी घुँधँुराछापमा रहेको अमर प्राविमा पुग्यौं । वडाध्यक्ष इन्द्रा चिदीसँग भेट्न आश गरेका थियौं तर भेट हुन सकेन । विद्यालयमा पढाइ भइरहेको थियो । बालविकासमा फनीकुमारी घर्तिले ससाना नानीबाबुलाई पढाइ रहेकी थिइन् । ईश्वरीप्रसाद उपाध्याय हेडटिचर,तिनाउ गाउँपालिकामा कासमू बोकेर गएका रहेछन् । बैंकतिर काम छ भन्दैथिए मैले सोधीखोजी गर्दा । जम्मा १६ जना विद्यार्थी रहेछन् तीन कक्षासम्म । ११ वर्षसम्म शिक्षक स्टाफ नबसेको रजिष्टरको इतिहासले बतायो । नयाँ रजिष्टर भएको भए हामीलाई थाहा भएन । किन यस्तो भइरहेछ हाम्रा विद्यालयमा ? न शैक्षणिक योजना, न वार्षिक कार्यतालिका न पाठयोजना बनेका रहेछन् । यी सबै शिक्षा समिति वा शिक्षा शाखाले नै बनाएर पठाइदिनु पर्ने हो र ?

पाँच जना स्थायी, ६ जना अस्थायी,नीजिस्रोत शिक्षक बालकक्षा सहयोगी अनि कार्यालय सहयोगी गरी ११ जना कार्यरत विद्यालय आदर्श आधारभूत विद्यालय रहेछ । बिस्कुनडाँडामा रहेको उक्त विद्यालयमा गत वर्ष ९४ र यस वर्ष ७६ जना विद्यार्थी रहेछन् । माथागढी गाउँपालिकाको सराइ गाउँतिर बसाइ सर्ने,विद्यार्थी पढाउन लैजाने चलनले यो अवस्था विद्यालयले भोग्न परेको शिक्षक साथीहरुले बताए ।

गत वर्ष कक्षा सातमा पढ्ने जमुनाले १४ वर्षमा विहे गरेकी रहेछिन् । यतिबेला सात वर्षकी जेनिसाले कक्षा पाँचमा पढ्दै गरेको कुरा अनौठो लाग्यो । गाउँमा विहे हुँदा होस् कि मान्छे मर्दा विद्यार्थी विद्यालयमा आउँदैनन् । जन्मदिन मनाउन पर्दा होस् कि आमाबाबा सहर जाँदा घर कुर्न विद्यार्थीले रोजगारी पाउँदा रहेछन् । गाउँमा कसैका घर ढलान भएमा विद्यार्थीले जात्रा महसुस् गर्दा रहेछन् । यी कुरा एमएड पढेर शिक्षक बनेकी शिवकुमारी रानाले बताउँदै गर्दा गाउँको सामजिक, सांस्कृतिक चित्र आँखामा फन्फनी घुमे । अंगे्रजी शिक्षा फेसनजस्तै फैलिएको रहेछ गाउँमा पनि । आदर्शले केजी कक्षा त सोही माध्यममा पढाउन नीजिस्रोतको शिक्षक राखेको रहेछ ।

सबै विद्यार्थी, विद्यालयमा नरहे कसरी शिक्षक रहलान् ? अभिभावकहरुले आफ्ना विद्यार्थीलाई काखी च्याप्दै अन्यत्र विद्यालयमा गएमा त्यहाँको विद्यालयको पक्की भवनको हालत के होला ? डर लाग्दो रुपमा फैलिएको बसाइँसराइको डढेलोलाई कसरी निभाउन सकिएला ? गाउँमा रोजगार छैन,सहर ताक्छन् अभिभावक । उनीसँगै विद्यार्थी नि पछि लागेर जानुपर्ने बाध्यकारी अवस्थाको मूल्यांकन कसले गर्ला ?

गाउँपालिका यो विषयमा चिन्तित छ । कतै जनसंख्या घट्दै जाने कारण तिनाउ गाउँपालिका नै अर्को कुनै पालिकासँग गाँसिनु पर्ने त होइन ? त्यस्तो अवस्था नआउन दिनका लागि गाउँगाउँमा रोजगार सिर्जना गर्ने, पर्यटन, कृषि, पशुपालनमा जोड दिने, रैनाथे पेसालाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सकिएमा गाउँका मान्छे गाउँमै हुन्थे । त्यसो भएमा गाउँका विद्यालयहरु भरिभराउ हुन्थे कि !

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।