ताजा अपडेट »

पढेकामा पढाउँदा

शनिबार, ३० बैशाख २०८०, ०८ : ४२
51 Shares
शनिबार, ३० बैशाख २०८०
51 Shares

म तुलसा खड्का हुँ । धेरैले मलाई निरु भनेर चिन्दछन् । मेरो खास घर रैनादेवी छहरा गाउँपालिकाको वडा नं.७ गहते गाउँमा पर्छ । मैले यही गाउँमा रहेको गहते माविबाट २०६९ सालमा कक्षा आठ उत्तीर्ण गरेकी हुँ । म पढ्ने बेला कक्षा आठसम्ममात्र पढाइ हुने गथ्र्यो । नजिक माध्यमिक विद्यालय थिएन । सोही कारण म घरको कमजोर आर्थिक अवस्था भएपनि रुपन्देहीको सालझण्डी पढ्न झरें । घरका बाबाआमा र परिवारका मायालाई मनको मझेत्रोले मनमै कुटोरो पारेर झरेकी थिएँ । घर र परिवारको मायाले सताउँथ्यो तर मैले पढाईलाई पहिलो प्राथमिकतामा राखें । त्यसैको परिणाम आज म यहाँ छु ।

सालझण्डी माध्यमिक विद्यालयबाट २०७१ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी थिएँ । त्यतिबेला मेरो एसएलसीको नतीजाले मभन्दा मेरा आमाबाबा बढी खुसी भएका थिए । कक्षा ११ र १२ मुर्गियाको प्रभात उच्च माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिएँ । त्यसपछि शहीद नारायण पोखरेल बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक गरें । मलाई धेरै पढ्नु थियो तर बाबाआमाका आर्थिक समस्याहरुलाई कम बोझ बनाउनु पनि थियो । त्यसैले स्नातक दोस्रो वर्षसँगै मुर्गियाको एउटा संस्थागत विद्यालयमा आफ्नो पढाइ खर्च धान्नका लागि पढाउन थालें । आफ्नै मिहिनेतले पढ्नुको मज्जा गजवकै हुँदोरहेछ । २०७६ मा निमाविको लाइसेन्समा हामी जम्मा ४ प्रतिशत् उत्तीर्ण भएका थियौं । २०७९ सालमा मैले अंग्रेजी मूल विषयमा स्नताक गरें । अहिले बुटवल बहुमुखी क्याम्पसमा अंग्रेजी मूल विष्य लिई स्नातकोत्तर गर्दैछु ।

२०७६ को कार्तिक २६ गते, तिनाउ गाउँपालिका वडा नं. १ को ठूलीउदाङ्गमा रहेको सिद्ध आधारभूत विद्यालयमा अस्थायी नियुक्ति लिएँ । प्रतिकूल वातावरणमा पनि असल र मिहिनेती शिक्षक बन्न मलाई कसैले रोकेन, छेकेन । २०७८ सालको आधारभूत तहको शिक्षक विज्ञापनमा लिखित र अन्तर्वार्तामा सजिलै उत्तीर्ण हुँदाको क्षण बताइ सक्नुको छैन । खुसीले उकाला चढेका थिए । पाल्पामा खुलेको दुई सय ७९ शिक्षक दरवन्दी कोटामा मैले २७ नम्बरमा आफ्नो स्थायी नाम निकालेको थिएँ । यो कुरा सुनाउन पाउँदा आफैलाई गौरव लाग्छ ।

उत्तीर्णपछि कुन स्थानको कुन विद्यालय रोज्ने भन्ने कुरामा केही समय तनाव भयो । सिद्ध आधारभूत विद्यालय रोज्ने मन हुँदाहुँदै पनि बाबाआमाको आग्रहमा मैले आफ्नै पढेको विद्यालय गहते माविलाई रोजें । हुर्के, बढेकी छोरी अनि बाबाआमाको सहारा बन्ने अभिप्रायले मैले आफ्नै गाउँको विद्यालय रोज्नु नै थियो । योग्यताक्रमलाई हेर्दा आफूले रोजेको विद्यालय पाउँथ्थें । तरपनि गाउँकै विद्यालयमा शिक्षण सेवा गर्ने मनसायले गहते माविलाई रोजें । मलाई खुसी लागेको छ । आफैले कक नन गरेको विद्यालयमा शिक्षक भएर आउन पाउँदा ।

आफूले पढेको विद्यालय छाडेको १० वर्षपछि फेरि आफ्नै विद्यालय आउन पाउँदा खुसीको कुनै सीमा थिएन । २०७९ चैत्रको २७ गते गहते माविमा पुग्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर खड्का र प्रधानाध्यापक भोजराज खड्का लगायतले मसँगै स्थायी नियुक्ती बुझेर गएका तीन जनालाई खादा र टीकाले स्वागत र सम्मान गर्दा मन अति नै हर्षित भयो । खुसीको आयतन नाप्न सकिनँ ।

मलाई पढाउने भोजराज, दुर्गा र प्रकाश सर अनि मीना र उमा मेडमसँगै सहकर्मी शिक्षक बनेर आफ्नै गाउँको आफै पढेको विद्यालयमा सहपाठीका रुपमा प्रवेश पाउँदा खुसीले धूरी चढेका थिए । मनभरि विगतले पिङ्ग खेलिरहे । विद्यार्थी हुँदाका कुराले मनमा अनेक प्रश्न उब्जाए । आफैले आफैलाई उक्त स्थानमा पाउँदा मन फुरुङ्गै भयो ।

मैनबत्तीजस्तै हो शिक्षक । जो आफू बलेर पनि सबैलाई उज्यालो दिन्छ । शिक्षक जो आफै मेटिएर पनि ज्ञानको उज्यालो बाँडिरहन्छ । जहाँ गएपनि जहाँ भएपनि शिक्षालाई माया गर्नेनै छु । शिक्षाविना समाजको परिवर्तन सम्भव छैन । शिक्षाको उज्यालो घामबाट कोही बिमुुख नहुन् । यही मेरो मनसाय छ । शिक्षण जागिर होइन बरु यो त सेवा हो । गाउँठाउँको शैक्षिक उन्नयनका लागि निरन्तर क्रियाशील रहनेछु ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।