Nov 30, 2023
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक मँगलबार दिउसो ३ घण्टा बन्द भएर खुलेको छ । सोमबार तिनाउ-३ झुम्सामा सडक दुर्घटनामा परी ज्यान गुमाएका ३२ वर्षीय जीवन पन्तका आफन्तले विभिन्न माग राख्दै सडक बन्द गराएका थिए ।
मृतकका परिवार, जिल्ला प्रशासन कार्यालय पाल्पा र गण्डकी ट्रक यातायात व्यवसायी समितिका प्रतिनिधि बीच अहिले साँझ वार्ता हुँदै गरेको हो । वार्ताबाट सहमतिमा जाने सर्त अनेसार अवरुद्ध सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । सडक सूचारू भएसँगै बाटोमा रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन् ।
मँगलबार बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ क २६१४ नम्बरको टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ३२ वर्षीय पन्तको मृत्यु भएको थियो । घटनापछि दुर्घटना संलग्न टिपरका धनी सम्पर्कमा नआएको भन्दै पीडितहरुले विरोध जनाएका थिए । टिपर र चालक भने प्रहरी नियन्त्रणमै रहेका छन् ।
गुल्मीको छत्रकोट गाउँपालिका–३, हर्दिनेटाका पन्तले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि घाइते भएका थिए । प्रहरी चौकी दोभान र स्थानीय बासिन्दाले तत्काल लुम्बिनी प्रदेश अस्पताल रुपन्देहीमा पठाएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, दोषिलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने लगायतका माग राखेर सडक अवरुद्ध गरिएको थियो ।
टिपर धनीले मँगलबार दिउसो २ बजे पीडित पक्षसँग भेट्ने र छलफल गर्ने आश्वासन दिए पनि सम्पर्कमा नआएपछि आन्दोलन गर्नु परेको पीडित पक्षका प्रतिनिधि बिमल खड्काले जानकारी दिए । मृतकको शव अहिले पनि लुम्बिनी प्रादेशिक अस्पतालमै पोष्टमार्टम नगरी राखिएको छ । सहमतिपछि मात्रै शव पोष्टमार्टम र अन्तिम दाहसंस्कार गर्ने पीडित पक्षेको अडान रहेको छ ।
प्रतिकृया दिनुहोस्