ताजा अपडेट »

मेरो मन खिन्न भएको दिन !

मंगलबार, २६ बैशाख २०८०, १२ : ४९
10 Shares

२०५२ साल फागुन १ गते नेकपा (माओवादीले देशमा जनयुद्धको घोषणा गरे पछि साराका सारा देश तथा बिदेशको ध्यानाकर्षण जनयुद्धले आफू तर्फ खिचि रहेको वा तानिरहेको थियो । यस प्रकारको जनयुद्धले नेपाली जनतामा केही परिवर्तनको दस्तक दिइरहेको थियो । आम जनतामा एउटा आशा र विश्वासको संचार गरिरहेको थियो । देश भित्रका संसदवादी राजनैतिक दलहरु प्रतिक्रियामा उत्रिएका मात्रै थिएन् । अक्रमण्यता को बन्दी बनिरहेका थिय ।

देशमा २०४६ सालको जनआन्दोलनले सिमित प्रकारको राजनैतिक परिवर्तन ल्याएको भए पनि दलहरु त्यस प्रकारको परिवर्तन पछि लोकतन्त्रको संस्थागत विकास र प्रबद्र्धन गर्ने कुरा परै जाबस, आफूलाई पुरै सत्ता स्बार्थ र गुट संघर्षमा केन्द्रित भएका गरिरहेका । देशका संसदवादी राजनैतिक दलहरु प्रतिको आकर्षण वास्तबमा बिकर्षणमा रुपान्तरण भइरहेको थियो । त्यो बेला म नेकपा एकता केन्द्र ( मसाल) को कपिलवस्तु जिल्ला सेक्रेटरी थिय । तत्कालीन नेकपा (मसाल) का बहुमत पार्टी सदस्यहरु मेरो साथ दिई रहनु भएको थियो । बिष्षु भुशाल, सन्तोषी पाण्डे, कमलेश शुक्ला, स्बेता योगी, उमेश आचार्य, माधब अधिकारी, बिरेन्द्र पाण्डे, तुलसी बन्जाडे, प्रबिण बिक, मोहन रिजाल, गिता श्री बास्तब, कर्ण बहादुर कुंबर, मेघनाथ पौडेल, हुमनाथ पौडेल, तुलसी पौडेल, लगायतका नेताहरु सम्मिलित कपिलवस्तु जिल्ला कमिटीले नेकपा (माओवादी) सँग एकता गर्ने निर्णय सर्वसम्मत गर्याै ।

नेकपा (माओवादी) का जिल्ला सेक्रेटरी बिमल र मेरो हस्ताक्षरित एउटा संयुक्त प्रेस विज्ञप्ति मार्फत दुई पार्टी बीचको एकता भएको घोषणा गर्याै र हामी सबै नेकपा (माओवादी) मा सामेल भयो । २०४८ सालदेखि २०५९ सालसम्मको समय अवधि हाम्रो लागि ज्यादै पेचिलो बैचारिक आन्तरिक अन्तर संघर्षको अवधि रहेको थियो । एकातिर देशको स्थिति लथालिङ्ग र भताभुङ्ग थियो । अर्कोतिर पार्टीहरु भित्र टुटफुट, विभाजन र बिग्रह चरम उत्कर्षमा रहेको थियो । राज्यले बिद्रोही माओवादी दबाउन, रोमियो अप्रेसन, किलो सेरा टु अप्रेसनका अलावा अरु कैयौं फौजि हथकण्डा अपनाउदै थियो ।

यस्तो स्थितिमा म पार्टी एकताको निम्ति जिल्लाको पश्चिमी भेगमा पर्ने शिबगढी स्थित माओवादी मुख्यालयमा पुगेको थिय । त्यो बेला नेकपा (माओवादी) पार्टीको मुख्यालय अर्घाखाँची जिल्लाको सिद्धारामा रहेको थियो । तर त्यसको शाखा कार्यालय कपिलवस्तु जिल्लाको शिबगढीमा रहेको थियो । माओवादी नेता बाला थापा कृर्तिसँग मेरो दुई राउन्ड लामो राजनैतिक अन्तरङ्ग पछि दुई पार्टी बीचमा एकताको सहमति भयो र त्यो सहमतिको आधारमा हामी दुई फरकफरक पार्टीका सेक्रेटरीहरुद्वारा हस्ताक्षरित पार्टी एकताको प्रेस विज्ञप्ती जारी भयो । त्यो दिन, लुम्बिनीका प्रायः जसो सबै पत्रपत्रिका र रेडियोहरुले दुई पार्टी बीचमा भएकोे पार्टी एकतालाई उच्च प्राथमिकताका साथ संप्रेषण गरे । त्यो घटनाले माओवादी जनयुद्धमा धेरै उत्शाह पैदा गरेको अनुभुती हामी सबैले गर्याै ।

सामन्यतयाः देशै भरि बिशेषतः लुम्बिनीका प्रायः जसो रेडियो वा पत्रपत्रिकाले हाम्रो त्यस प्रकारको एकतालाई प्राथमिकता दिनुको पछाडिको मुल कारण परिवर्तन प्रतिको हुटहुटी र दोश्रो होः त्यो बीचमा नेकपा (मसाल ) बाट बिद्रोह, नेकपा (एकता केन्द्र) मसालको गठन र घोषणा, पार्टी भित्र चलेको ज्यादै पेचिलो अन्तरसंघर्ष, नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र) मसालको बीचमा पार्टी एकताको निर्णय र उपयुक्त समयमा एकताको घोषणा जस्ता कुराहरुले काम गरेका थिए । त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा देशको कुनै राजनैतिक दलको तर्फबाट यस अघि दिनानाथ शर्मा बाहेक अरु कसैले यसरी बिद्रोह गरि नेकपा (माओवादी) पार्टीको बीचमा एकताको घोषणा भएको स्थिति थिएन । त्यो कारणले पनि यस परिघटनाले ज्यादै चर्चा पाएको थियो। नेकपा (माओवादी) दाङ्गको घोराइ र अर्घाखाँची जिल्लाको सदरमुकाममा रहेका फौजी बेश क्याम्पहरु माथि शानदार बिजय हाशिल गरिसकेको थियो ।

त्यस प्रकारको फौजि कार्बाही पछि देशै भरीको पुरानो सत्ता रक्षात्मक अबस्थामा धकेलिएको थियो भने देशका प्रायः जसो राजनैतिक दलहरु अनिर्णयको बन्दी बनिरहेका थिय । उनीहरु संविधानसभाको नारा लगाउन हिच्किचाइ रहेका मात्रै थिएनन् । संविधानसभाको पक्षमा आवाज उठाउने वा त्यसको पक्षमा उभिन खोज्ने आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु प्रति असहृष्णु बन्दै धमाधम कार्बाही गरिरहेका थिए । म, देशका संसदवादी यथास्थितिवादी राजनैतिक दल हरुको यस प्रकारको कचिंगलहरुबाट जोगिदै दुई पार्टीको बीचमा भएको एकताको घोषणा पश्चात् पहिलोपटक सिधै माओवादी जनयुद्धको मुख्यालयमा पुगे र दुई दशक लामो यथास्थितिवादी राजनीतिबाट मुक्तिको लामो सास फेरे ।

पुर्ण भुमिगत भइ जनयुद्धको मुख्यालयमा बिताएको पहिलो रात

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहबा छोडेको धेरै भइसकेको थियो तर पार्टी एकता नभइसकेकोले म दुई वर्षदेखि अर्ध भुमिगत शैलीमा जनयुद्धमा सामेल हुन् चाहाने साथीहरूको बीचमा रहेर अध्ययन, लेखनको अलावा संङ्गठनात्मक काममा नै केन्द्रित भएको थिय । २०५९ भाद्र ९ गते दुई पार्टीको एकता जिल्लाको पूर्वी भागमा पर्ने गजेहडा गाबिसको एउटा राइस मिलको अत्यन्तै गोप्य कोठामा बसेर गरिएको थियो । त्यस प्रकारको एकताको सहजीकरण माओवादी नेता बिष्णु बेल्बासे र जनी बन्जाडेले गर्नु भएको थियो । दुई पार्टीको एकता पश्चात् म जिल्लाको पश्चिमी भेगमा रहेको शिबगढी स्थित जनयुद्धको जङ्गी अड्डामा पुगे ।

त्यहाँ पुग्दा पार्टीको मुख्यालयले मेरो भब्य स्बागत गर्याै । माओवादी नेता बाला थापा, जनी बन्जाडे, राजु थापा, आरती, रुद्र बन्जाडेका अलावा जिल्लादेखि बाहिरबाट सरुवा भई आउनु भएका सयौं साथीहरू सँग परिचय गर्याै र बेलुकीको खाना सामुहिक खायौं। त्यो दिन मेशमा पाडाको मासु र भात पाकेको थियो । यस भन्दा अघि महिले कहिल्यै गाई, भैंसी र पाडा वा सुगुरको मासु खाएको थिइन । “मासुको अलावा अरु केही तरकारी भए हुने थियो । “जिल्ला नेता रुद्र बन्जाडेले भन्नू भयो– नारायण सर– खाइ हाल्नुस, यहाँ पाडाको मासु नखाने हो भने सुधारबादी नेताको बिल्ला भिराउन बेर छैन ।“त्यो कुरा सुने पछि म पनि क्रान्तिकारी नभइने हो कि भन्ने डरले पाडाको मासुसँग थपि थपि पेटभरी भात खाइयो । दिन भरीको थकाइले भोक पनि लागेको थियो । त्यो भन्दा पनि त्यो दिनको बेलुकी मेरो विचार र भावना मिल्ने साथीहरूको बीचमा रहेको थिय । किनकि बितेको दुई दशक देखि महिले देखेको परिवर्तनको लागि कोरेको राजमार्ग फेला परेको थियो। त्यो बेला जिल्लाको मुख्यालयका चारै तर्फ स्थानीय जनमिलिशिया र जनमुक्ति सेना, नेपालको एउटा कम्पनीले सुरक्षा दिइरहेको थियो ।

जनबर्गिय संङ्गठन, बिभाग र पार्टीका साथीहरूका अलावा जनमुक्ति सेना, नेपालका कमिशार कमान्डरहरुका बेग्लाबेग्लै बसाइँ सुनिश्चित गरिएको रहेछ । मेरो बसाइँ त्यो रात जिल्लाको मुख्यालयमा सुनिश्चित गरिएको रहेछ । त्यो रात जिल्ला सेक्रेटरी बिमल र म गाउँको कुनै किसानको कटेरोमा भुमिगत तरिकाले सुत्यौ । त्यो घर बा कटेरो मा अरु पनि कैयौं साथीहरू सुत्नु भएको थियो। रातको दुई बजे एक जना साथीले मलाई जगाउनु भयो र भन्नू भयो– “सर, तपाईंको सेन्ट्रिको पाले आयो भनेर मेरो हातमा एउटा भारतीय ब्रान्डको एउटा पिस्तोल र एउटा घट ग्रिनेड थमाउदै सेन्ट्रीको पासपोर्ट सम्झाउदै, मेरो डिउटीको समय सकिए पछि जिल्लाको सेक्रेटरी साथी बिमलको सेन्ट्रिको पालो आउने भएकोले उहाँलाई जगाएर जिम्मेवारी लगाउनु हुनेछ । “रातको अध्यारो, त्यो पनि जम्मा जम्मि दुशमनको सैनिक क्याम्पदेखि जम्मा बीस किलोमिटरको दुरीमा हामी रहेका थियो । मेरो डिउडी जम्मा एक घन्टाको थियो ।

साथीले सम्झाउनु भएको सेन्ट्रि पोस्टमा बसेर महिले त्यो रात कडा सेन्ट्री गरे । त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा त्यो रात, एक घन्टाको मेरो सेन्ट्रि अवधि भर पिस्तोललाई अटोमेटिक अवस्थामा लोड राखेर बसेछु । पछि बिमल जी को पालामा म सँग भएको हथियार हरु सिफ्ट गरे पछि बिमल जीले भन्नू भयो–“तपाईंले पिस्तोल अबलोर्ड गर्न पनि सिक्नु भएको रहेछ । कसरी जान्नु भएको – एकै घन्टामा । “महिले भने – “जानेर होइन, सुरक्षाका लागि भष्माशुर तालमा गरेको लोर्ड भएको रहेछ, राम्रो भयो । “रातिको तीन बजे हामी दुई बीचमा हल्का हाँसो, ठट्यौली पारामा रमाइलो पनि भयो । त्यस पछि बिल्कुलै मलाई निदं लागेन । किनकि महिले बढीभन्दा बढी एकै हप्तामा आफूलाई फौजी रुपमा समेत तयारी अबस्थामा राख्नुपर्ने निष्कर्षमा पुगे ।

जङ्गी अड्डामा विभिन्न जिम्मेवारी
संघर्षको स्बरुप युुद्ध र संङ्गठनको सम्पूर्ण स्वरुप फौजको मान्यता सहित जनयुद्धको नेतृत्व गरेको पार्टीका प्रत्येक सिपाहीले आफूलाई सैन्य दृष्टिकोणले मात्रै होइन, मानसिक र भौतिक रुपमा पनि तयारी हालातमा राख्नु युद्धको प्रारम्भिक र अनिवार्य सर्त थियो । त्यसको अभावमा कुनै पनि बेला ज्यान जान सक्ने जोखिम त्यो बेला प्रायः सबै नेता तथा कार्यकर्ताहरुका लागि समान जोखिम थियो । दुशमन सेनाले त्यो बेला सानो ठुलो भन्दैन्थ्यौ । त्यो कारण का कारणले पनि नेतृत्व र नेतृत्वको टिम, चुस्त सुचना र संचार, जनमिलिशिया र जनमुक्ति सेनाको सुरक्षा घेराका अलावा भुमिगत जीवन शैली जनयुद्धको निम्ति नभई नहुने गुणहरु थिए । ती सबै चीजबीजहरुलाई महिले एकै महिनामा ठिकठाक पारेको थिए । बितेको दुई दशकमा हाशिल गर्न नसकेको ज्ञान र अनुभव हरुलाई महिले महिना दिन भित्र हाशिल गरिसकेको थिय । किनकि एक पटक जनमुक्ति सेना, नेपालमा भर्ती हुने र जमेर जनयुद्ध लडने मेरो पूर्व इच्छा र चाहाना पुरा हुन गहिरहेको थियो ।

यस अवधिमा पार्टीको एकाउन्ट, जबस, मोर्चा, विभिन्न विभाग, चार दर्जनभन्दा बढी किसान संघर्ष, बेबस्थापन, सप्लाई, युद्धमा घाइते भएका साथीहरूको उपचार, मेष संचालन, यहाँसम्म कि भाडा माझ्ने र भारी बोक्ने सम्मका काम गरेको देखेर जनमुक्ति सेना ,नेपाल अचम्म पर्दथे । कैयौं फौजि संघर्षहरुमा एसल्टमै कभर बिना नै निर्धक्कसँग हाम फालेको देखेर साथीहरूको म प्रतिको पूर्व धारणा भत्किएको थियो । उनीहरुलाई लागेको थियो, शहरिया बसाइँ, सुकिलो मुकिलो जीवन शैली, यस्ता मानिसहरु अवसरवादी हुन्छन भन्ने साथीहरूको बुझाइ थियो । त्यही कारणले गर्दा जनमुक्ति सेना, नेपालमा जाने र तालिम लिने इच्छा मेरो अधुरै थियो ।

तर, सैनिक छाबनी भालुबाङ्ग माथिको फौजी कार्बाही पछि, जुन कार्बाहीको बिस्तृत बिबरण यस भन्दा पहिलाको आलेखमा दिई सकेको छु, त्यस युद्धमा मेरो राम्रो भुमिका देखिएकाले मेरो सरुवा जनमुक्ति सेनामा भयो। त्यो बेला देशमा जनमुक्ति सेना, नेपालका जम्मा जम्मी दुई वटा सैनिक बिर्ग्रेडहरु मात्रै थिए । एउटा मंङ्गलसेन फस्ट बिग्रेड र दोश्रो हो कृष्णसेन स्मृति बिर्ग्रेड । कृष्णसेन स्मृति बिर्ग्रेड गण्डक क्षेत्रमा खटने भएकोले मेरो सरुवा यसै बिर्ग्रेडको हेड क्बाटरमा भयो । त्यसको प्रथम बटालियन राजनैतिक कमिशार कपिलवस्तुका बालकराम बुढा हुनुहुन्थ्यो । उहाँसँग मेरो पहिलोपटक भेट कपिलवस्तु जिल्लाको कोपबा भन्ने स्थानमा भएको थियो । त्यो बेला उहाँ जनमुक्ति सेना, नेपालको एउटा कम्पनीसहित जन सैन्य अभियानको दौरानमा आउनु भएको थियो ।

मेरो पहिलो सैनिक तालिम उहाँकै कमाण्डमा नवलपरासी जिल्लाको कुनै पहाडी भु–भागमा दुई वर्ष लगातार गरिने तालिम जम्मा १८ दिन भित्र पुरा गरे पछि मात्रै कम्ब्याट ड्रेस र जनमुक्ति सेना, नेपालको परिचयपत्र प्राप्त भयो । त्यो दिन म धेरै खुसी भए। महिले त्यो सैन्य तालिम अरु नयाँ साथीहरूले भन्दा शानदार ढङ्गले पुरा गरेको थिय । किनकि म यस युद्धमा मनैदेखि सामेल भएको थिए । यहीँबाट मेरो बीस वर्ष पुरानो रहर वा जनमुक्ति सेना, नेपालमा भर्ती हुने र सामन्तवादी राज्य सत्ताका बिरुद्ध जमेर लड्रने सपना पुरा भएको थियो । देश र जनताको मुक्तिका लागि यस्तो अवसर इतिहासमा बिरलै मानिस हरुले प्राप्त गर्ने गर्दछन । जुन महिले प्राप्त गरेको थिय । त्यस पछि क्रमशः कम्पनी कमिशार, बटालियन कमिशार, डिभिजन हेड क्बाटर, सेनाको प्रशासक, सेनाको एकाउन्ट, दर्जनौं बिभागिय जिम्मेवारी सम्भाल्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो ।

यस बीचमा भएका दर्जनौं फौजि संघर्ष र त्यसका लागि आवश्यक पर्ने तालिम, प्रशिक्षणमा सहभागी हुने अवसर प्राप्त भएको थियो । जनमुक्ति सेना, नेपालका सुप्रिम कमान्डर प्रचण्ड, डेपुटी कमान्डर, डिभिजनका कमिशार र कमान्डर तथा हजारौं हजार सिपाहीहरुसँग मेरो बाक्लो दोस्ती भएको थियो । किनकि त्यो बेला के कमान्डर के सिपाही सबैको मेष, आवास मात्रै होइन युद्धमा समेत सबै समान ढङ्गले होमिनु पर्दथ्यौ । रेष्टको अवधिमा प्रायःजसो सँगै भइन्थ्यौ । सबैको एउटै समान उदेश्य र लक्ष्य थियो । त्यसैले हामी सबैको बिचमा वैैचारिक र भाबनात्मक समिप्यता थियो । महिले अत्यन्तै थोरै समय भित्र सैन्य फाँटमा धेरै जिम्मेवारीहरु प्राप्त गरेको थिए । देशको सहरी क्षेत्र बाट जनमुक्ति सेना, नेपालमा मेरो प्रवेश लाई देखेर हजारौं युवा उत्शाहित हुँदै पार्टी र सेनामा भर्ति भइरहेका समाचारहरु मसम्म चिठीहरु मार्फत प्राप्त हुने गर्दथे ।

त्यो कुराले मलाई धेरै उत्शाहीत बनाउने काम गर्दथ्यौ । युद्ध कालिन अबस्थाको बिशेषता, चरित्र तथा गुर्ण बोकेको सैन्य संङ्गठन भएकोले जनमुक्ति सेना, नेपाल गतिशील र चलायमान भई रहनु पर्दथ्यौ । यस अवधिमा हामी गण्डक क्षेत्र भित्र पर्ने प्रायः जसो सबै जिल्लाका गाउँ बस्ती हरुका जनताकै बीचमा रहयौ र जनताकै बीचमा रमायो । दुनियाँका सबै मानिस हरु भन्दा सबैभन्दा बढी अनुशासित, समयको पाबन्ध, फिजिकल फिटनेस ठिकठाक राख्ने, समयलाई बिल्कुलै खेर नफाल्ने, नयाँ नयाँ खोज, अनुसंधान र अध्यनमा रुचिकर, आफू र आफ्नो बर्ग र देश प्रेमी यदि कोही छ भने त्यो दुनियाँको जुनसुकै देशको किन नहोस सेना नै हो भन्ने कुराको यश अबधिमा गहिरो अनुभुती पनि भयो ।

युद्ध बिराम, बृर्हत शान्ति सम्झौता , भित्र सात बाहिर २१ डिभिजन सेना निर्माणको निति
२०६२ साल चैत्र २५ गते राति जनमुक्ति सेना, नेपालले बुटवल र कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहबामा रहेका सैनिक बेश क्याम्प माथि एकै साथ फौजि आक्रमण गर्याै । त्यसका लागि जनमुक्ति सेना, नेपालका सात बटै डिभिजनहरु केन्द्रित भएका थिए। बाहिर देशका संसदवादी राजनैतिक दलहरुले संयुक्त जनआन्दोलन गरिरहेका थिए । त्यस प्रकारको आन्दोलन एकाकार हुँदै जादा बैशाख ११ गतेका दिन राजाद्वारा बिघठन गरिएको संसद पुनः स्थापना भएको घोषणा गरियो ।

त्यसलाई देशका यथास्थितिवादी संसदवादी राजनैतिक दलहरुले समर्थन गर्न पुगे । २०६२ चैत्र २६ गते युद्ध बिरामको घोषणा गरेको नेकपा (माओवादी) ले राजाको त्यस प्रकारको वक्तब्य आफूलाई अमान्य भएको घोषणा गर्याै र संविधान सभाबाट संविधान भन्ने कुरा दोहोराय पछि पुनः राजाको तर्फबाट अर्को वक्तव्य आयो र त्यो कुरा लाई स्विकार गरियो। यता जनमुक्ति सेना, नेपालले संसदबादी सात राजनैतिक दलहरुको बीचमा भएको १२ बुंदे सहमतिअनुसार जनमुक्ति सेना, नेपालले सैन्य गतिविधि नगर्ने र दल हरुले अन्तरिम संविधान, अन्तरिम सरकार र संविधान सभाबाट नयाँ संबिधान बनाउने पूर्व सहमति बमोजिम जनमुक्ति सेना, नेपाल देशका सात स्थानमा शान्तिपूर्ण वातावरणको बीचमा बस्ने निर्णय भए बमोजिम कास्की जिल्लाको पोखरामा बस्दै आएको जनमुक्ति सेना, नेपालको चौथो डिभिजन बसाइँसराइ गरेर नबलपरासीको झ्यालटुङ्ग डाँडामा आइ पुग्यौं ।

२०६३ मंसिर ५ गतेका दिन नेपाल सरकार र बिद्राही माओवादी बीचमा भएको बृहत शान्ति सम्झौता पश्चात पार्टीले जनमुक्ति सेना, नेपाल भित्र रहेका सबै तहका राजनैतिक कमिशारहरुलाई भुगोलको राजनैतिक कामको प्रयोजनका लागि पठाउने निर्णय गर्याै । भित्र ७ डिभिजन सेना बनाउने र बाहिर २१ डिभिजन सेना बनाउने योजना पारित गर्याै । त्यस प्रकारको पार्टीको निर्णय अनुसार हामी चौथो डिभिजनमा रहेका विभिन्न तहका ८२ जना राजनैतिक कमिशारहरु सरुवाभई समन्धित जिल्लामा रहने गरि पहिलो चरणमा फिर्ता भयो । जनमुक्ति सेना, नेपालले एउटा भब्य समारोहबीच हामीलाई बिदा गरेको थियो । तत्कालीन अन्तरिम सरकार र संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको सेना समायोजन को प्रक्रिया सुरु भयो । अनमिनले योग्य प्रमाणीकरण गरेका जनमुक्ति सेना, नेपालका सिपाही र अफिसर नेपाली सेनामा समायोजन भए ।

नेपाली सेनाका लागि अयोग्य भएका वा स्बेच्छिक अबकाश लिन चाहाने जनमुक्ति सेना, नेपालका कमान्डर र सिपाहीहरुले पाँच देखि ८ लाख रुपैयासम्मको हेण्डसेख लियर आ– फ्नो घरमै फर्के र कतिपयको दिन दहाडे चेक खोसियो र रुदै घर पठाइएको थियो । यस परिघटनाले पार्टी र सेनामा रहेका इमानदार र स्बभिमानी नेता तथा कार्यकर्ताहरुको बिचार र भावना माथि गहिरो चोट पुर्यायौ । कुरा यतिमा सिमितरहेन, पहिलो चरणमा, पार्टीको निर्णयको पालना गर्दै बाहिर निष्कन तयार भएका राजनैतिक कमिशारहरुका निम्ति सरकारले पठाएको पर व्यक्ति एक लाख बराबरको रकम पनि पार्टीको बहुमतमा रहेको माथिल्लो तहको नेतृत्वले किर्ते हस्ताक्षर गरेर आफ्नो निकट रहेका आसेपासे कार्यकर्ता र नेतृत्वले लुडायौं ।

जनमुक्ति सेना नेपाल भित्र भएको आर्थिक भष्टचारको बिषयलाई लियर मुल नेतृत्वको चर्को आलोचना भए पछि त्यसको छानबिन गर्ने भनेर बनाइएको अमिक सेरचन आयोगले ३५ अर्ब रुपैया भष्टचार भएको रिपोर्ट बुझाएको थियो। त्यही रिपोर्टले अमिक सेरचनको राजनैतिक हत्या भयो भने त्यही बिषयको एडभोकेसी गरेकै कारण डा .बाबुराम भट्टराईको राजनैतिक जागिर गयो ।

निष्कर्ष: मेरो यश आलेखको मुख्य उदेश्य आफुले यस अवधिमा माओवादी आन्दोलनमा खेलेको भुमिका ,त्यो भुमिकाको वर्ण गर्नु वा त्यस प्रकारको भुमिका खेले बापत राजनैतिक नेतृत्वसँग इतिहासको ब्याज खानु हो भन्ने कुरा मेरो राजनैतिक इतिहासको समृद्ध इतिहासले साबित गर्दैन ।

सकारात्मक सोच, क्रान्ति र परिवर्तन प्रतिको हुटहुटी, आफ्नै जीवनमा देश र जनताको निम्ति केही गर्ने विश्व दृष्टिकोण, सुबाचारित योगदान दिने दृढ इच्छाशक्ति र सामन्तवादको अन्त्य र गणतन्त्रको घोषणाको मिशन बनाएर राजनीतिमा होमिएको एउटा इमानदार सिपाही का हैसियतले यत्ति त उल्लेख गर्नैपर्छः माओवादी नेतृत्वले यत्ति कुराको पनि हेक्का राखेको देखियन, कि माओवादीले साम्राज्यवादी, बिस्तारबादी र पुंजिबादी भन्ने गरेका मुलुक हरुमा हाम्रो देशका कैयौं युबा युवती हरु सदियोदेखि बेलायती वा भारतीय सेना वा प्रहरीमा रहेर योगदान दिदै आएका छन । त्यस्ता देश हरुले पनि त्यसरी सेबा गरे बाफत त्यही देशको नागरिक सरह हाम्रो मुलुकबाट गयर त्यहाँको सेना वा प्रहरीको सेबा गर्ने मानिसहरुलाई बिना कुनै भेदभाव त्यस प्रकारको सेबा सुबिधा उपलब्ध गराउने गर्दछन ।

कुरा यत्ति मात्रै होइन, उनीहरु सेवाबाट रिटायर भई सके पछि पनि उनीहरुको पेन्सनका अलावा ती देशका सरकारहरुले बेलाबेलामा वृद्धि गर्ने पेन्सन बापतको रकम वा अन्ने सेबा सुबिधाहरु आफ्नो देशको नागरिक सरह उनीहरुको देशको पायक पर्ने बैङ्क हरुमा निर्धारित समयमा पठाउने गर्दछन । त्यसरी उनीहरुले बुढापामा सामाजिक सुरक्षाको प्रत्याभूति गराउने गर्दछन । तर, आफू लाई जनवादी, क्रान्तिकारी, सर्बहाराबादी, माओवादी र साम्यवादी र समाजबादी भन्ने नेतृत्वले दशकौ सम्म जिबन मरणासन्न हुने गरि लडेका जनमुक्ति सेना, नेपाल का योद्धा हरु लाई राज्यले दिएको न्युतम रकमको चेक खोस्ने, जनमुक्ति सेना, नेपाल का योद्धाहरुको नाममा आएको रकम कृर्ते हस्ताक्षर गरि आफै लुडाँउने मानिसहरु कुनै कम्युनिस्ट पार्टीको सदस्यहरु नभएर ती समग्रमा कोबो मिन्ताङ्गे हुल्लडबाजहरु नै हुन । त्यस प्रकारका राजनैतिक आबारा हरुको संरक्षण गरेमा माओवादी नेतृत्व र आन्दोलन कुनै बाह्य कारणका कारणले होइन आफ्नै कारणले समाप्त हुनेछ । –(प्रकाश उन्मुख पुस्तक ‘परिबर्तनका पाइलाहरुबाट’)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।