ताजा अपडेट »

राजनैतिक दलहरूप्रति जनविश्वसनियता घट्दै गएको हो ?

मंगलबार, ०५ बैशाख २०८०, १५ : ५८
12 Shares

पछिल्ला राजनितिक घटनाक्रमहरु हेर्दा ठुला भनिएका पुराना राजनैतिक दलहरूप्रति जनताको व्यापक गुनासो बढ्दै गएको अवस्था प्रष्टै देख्न सकिन्छ। हिजो आश गरिएका राजनैतिक दलहरू भष्ट्र बन्दा नागरिकले सास्ती पाएका छन्। जनताको मनोभाव अनुसार राज्य चलाउनुको साटो विदेशीको इसारामा देशलाई चलाउँदा आज यो बिकराल स्थिति उत्पन्न भएको हो । वितेका ३० वर्षसम्म पनि जनताप्रति कहिले पनि कुनै सरकार उत्तरदायी नहुँदा देशको आर्थिक स्थिति डामाडोल भएको छ ।

पटक पटक जनताले मैका दिँदा पनि सधैं जनताको भरोसा माथि घात गर्ने खेलमा ठूला भनिएका दलहरु लागि नै रहे। एउटा नेपाली उखानै छ ‘अति भएपछि खती हुन्छ’ हो अब यिनीहरु का यस्ता कर्तुतहरू अब जनताले सहेर बस्ने वाला पक्कै छैनन् । हिजो देश चलाउनेहरूका दिनगन्ती सुरु भएको अवस्था छ। देशलाई आर्थिक समृद्धिको बाटोमा अब यिनीहरु लादैनन् भन्ने पक्का पक्की आम नागरिकमा परिरहेको छ । देश विदेशीलाई बेच्ने चरम भष्ट्राचार गरेर देशको अर्थतन्त्रलाई धरासायी बनाई देशलाई संकटको खाडलमा हाल्ने सोझासाझा जनता झुक्याई लुट्ने यि कांग्रेस र कम्युनिष्ट नामका दलाल मतियार हरूका दिन गन्ती सुरु भैसकेका छन्।

कहिले कांग्रेसलाई जनताले विश्वास गरे कहिले एमालेलाई विश्वास गरे भने कहिले माओवादीलाई पनि जनताले विश्वास गरे हो यिनीहरु व्यवस्था परिवर्तनको लागि लडे देशमा राणाशासन फालेर प्रजातन्त्र ल्याए र निरकुंश राजतन्त्र फालेर देशमा लोकतन्त्र ल्याए त्यो एउटा महत्वपूर्ण उपलब्धि हासिल गरे। त्यसैको लाई आज नारा बनाएर देशलाई लुट्ने दिन अब सकिनै पर्छ । त्यो एउटा इतिहास थियो त्यो इतिहास नै रहन्छ। व्यवस्था परिवर्तन गरेर मात्र देशमा समृद्धि यत्तिकै आउथ्यो भने हाम्रो देश आज विश्वका सम्पन्न देशहरूको सूचिमा पक्कै हुने थियो। देश परिवर्तन भएको तबसम्म होईन जबसम्म नागरिकको अवस्थामा कुनै परिवर्तन आउँदैन् । हिजो व्यवस्था परिवर्तनको लागि आफुहरु सफल भएको दाबी गर्ने कांग्रेस कम्युनिष्टहरू देश र जनताको अवस्था परिवर्तनको लागि शून्य नै रहे आजको दिनसम्म। अहिले परिवर्तनको नाममा हिजोको ईतिहासलाई बेचेर देशलाई लुटेर साच्चै कंगाल बनाईसकेका छन ।

हिजोका कांग्रेस र कम्युनिष्ट केही फरक थियो होला , तर आजका कांग्रेस र कम्युनिष्ट हरूमा नाम बाहेक अरू कुनै तात्विक भिन्नता छैन, दुवै देश लाई लुट्ने जनताका भावना संग खेल्ने भष्ट्राचारी उत्पादन गर्ने झुण्ड को रूपमा मात्र कांग्रेस र कम्युनिष्ट हरू छन्। जनताले आफ्नो र देशको कर्तव्य निर्वाह गरेका छन् देशमा रोजगारी छैन् । विदेशमा पसिना बगाएर भएपनि देशको अर्थतन्त्रलाई चलाएमान गराएका छन् । देश बागडोर सम्हालेहरूले नागरिकलाई सधै सास्ती र पीडा दिँदा पनि नागरिकले राज्यलाई साथ दिएकै छन। हरेक ठाउँमा कर तिरेकै प्रत्येक चुनावमा मतदान गरेर देश चलाउने मौका राजनितिज्ञलाई दिएकै छन् । जनताले राज्यलाई सधैं दिएकै छन तर राज्यले आफ्ना नागरिकलाई के दियो न आफ्नो परिवार संगसंगै बस्ने मौका दियो न आफ्नो माटोमै केही गर्छु भन्ने लाई मौका दियो न देश विकासको गतिमा बढीरहेको र सुशासन कायम भएको देख्न दियो। आजसम्म तिमीहरूले राजनीति गरेर पटक–पटक सत्तामा गएर तिमीहरूबाट नागरिकले के पाए हिसाब किताब मिलाउने र भोट माग्न आउने हिजो देश चलाएका र आज देश चलाउने कांग्रेस र कम्युनिष्टका ती मतियारहरूलाई आज प्रत्येक नागरिकले प्रत्येक ठाउँ ठाउँमा प्रश्र सोध्ने र उत्तर माग्ने बेला आएको छ।

हिजो मेरो पार्टी कांग्रेस एमाले माओवादी भन्ने आम नागरिकको धारणा अब बदलिदै गएको अवस्था छ । यी कांग्रेस र कम्युनिष्टहरूले जनतालाई सधैं भोट दिने मेशिनको रुपमा मात्र आफुहरुलाई प्रयोग गरेको आभास अहिले जनताले बुझ्दै गएको अवस्था छ। राजनीति कमाई खाने साधनका रूपमा प्रयोग गर्दै आएका पुराना दलहरुमा यति अहमता छ कि हामी बाहेक राजनीतिमा कोही आउन सक्दैन भन्ने मनस्थितिमा थिए हिजोसम्म आज त्यो स्थिति छैन्। यिनीहरुले यस्तो राजनीतिमा सिन्डिकेट खडा गरेका छन् की यिनीहरुको ठाउँमा अरू कुनै आउन नसकोस् भनेर तर त्यो सिन्डिकेट अब विस्तारै तोडिदै जाने क्रममा रहेको छ। जनता यिनीहरु देखि साच्चिकै नै आकुल व्याकुल भएका छन् । हिजो यथास्थितिवादमा रमाउने समाज थियो होला तर अहिलेको समाज समय अनुसार सबैकुरा परिवर्तन हुन पर्छ भन्ने मान्यता राख्ने किसिमको समाज निर्माण भएको अवस्था छ । त्यसैले हिजो राजनीति गर्ने दल र तिनका नेताहरू बाट आक्रान्त बनेको हाम्रो समाजले परिवर्तनको लागि जनाउ घण्टी मंसिर ४ को आम निर्वाचन मा बजाएका थिए अब वैशाख १० उपनिर्वाचनमा बजाउने पक्कै छन।

देशमा उपनिर्वाचनको माहोल चलिरहेको छ विशेष गरी चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ त्यसको सरगर्मीले ठूला भनिएका दल कांग्रेस एमाले माओवादी लगायतका पुरा दल भित्र नेताहरु लाई डर र भयले उथलपुथल पारेको अवस्था देख्न सकिन्छ। उपनिर्वाचनमा आफ्ना चुनावी एजेण्डा जनता सामु लिएर जानु साटो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र विशेष गरी स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विरोध र उनी प्रति आक्रोश र कुण्ठा मात्र पोखेको देखिन्छ । गत मङ्सिर ४ गते चुनावमा नयाँ दल भनेर उपेक्षा गर्नेहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीदेखि डराएका छन् । हिजो जे जसो गरेपनि जनताले हामीलाई भोट दिन्छन् भन्ने कांग्रेस एमाले माओवादी अहिले आंतरिक बनेका छन्। हिजो मौका पाउँदा केही नगर्नेहरू देखि जनता साँच्चै परिवर्तन भएको देखिन्छ अब परिवर्तनको घण्टी बजाउन लागेको देखिन्छ सम्रग चुनावी गतिविधिहरूलाई हेर्दा।

हिजो ठूला दल भनिएका कांग्रेस एमाले र माओवादी बिच प्रतिष्पर्धा हुन्थ्यो, हामी नै हो यो देशको मुख्य राजनैतिक दल भन्नेहरू अहिलेको राजनितीक परिदृश्यलाई हेर्दा यी मुख्य दल भनिएका सबै एका तिर रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र अर्को तिर देखिन्छ। अझ भनौ नेपालका सबै पुराना दलहरु एकातिर स्वतन्त्र पार्टी अर्को तिर देखिन्छ। सबै मिलेर स्वतन्त्र पार्टी माथि चौतर्फी प्रहार गर्दा पनि स्वतन्त्र पार्टी प्रति जनता उत्साहित छन् । स्वतन्त्र पार्टीलाई जनताको साथ रहेको देख्न सकिन्छ। पार्टी निर्माण गरेको छोटो अवधिमा देशकै चौथो ठुलो दल बन्न पुग्यो मंसिर ४ चुनावमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट सहित संसदमा चौथो शक्तिको रूपमा स्वतन्त्र पार्टीले आफुलाई उभ्याए को छ । यसैको परिणाम हो जो हिजो वर्षौदेखि राजनीति गरी जनताको आखामा भ्रम छर्नु र देशलाई लुट्ने हरूलाई घन्टी ले संकेत गरिसकेको छ।

अब जनता जागरुक भैसके देश लुट्ने दिन हरू अब सकिदै छन भन्ने जनाउ घन्टी राष्ट्रिय स्वतन्त्र पार्टी ले यिनीहरुको दिमागमा ठोकिदिएको छ । त्यसैले आज कांग्रेस एमाले र माओवादी लगायतका दलहरू ससंकित बनेका छन् । छट्पटाइरहेका छन, त्यसैले होला काहाँ के बोल्ने भन्ने थाहाँ नै छैन सब भुलि सके मात्र राष्ट्रिय स्वतन्त्र पार्टी माथि चौतर्फी रुपमा खनिएको देखिन्छ, यहिँबाट प्रष्ट हुन्छ यिनिहरु कति लोकतान्त्रिक पार्टी हुन भन्ने ‌ लोकतन्त्र मा स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने कायरको रूपमा यिनिहरु ले आफुलाई प्रमाणित गरिसकेका छन्। मलाई त लाग्छ उपनिर्वाचन यिनिहरु ले फेरि मतपत्र च्यातेर चुनावमा धाँधली गर्न बेर छैन त्यसैले परिवर्तन चाहने आम नागरिक सबै होसियार हुनुपर्छ यहिँ देश हो जहाँ मतपत्र च्यातेर चुनावमा धाँधली गरी जितेको इतिहास तपाईं हामी समक्ष सर्बविविधै छ।

गत मङ्सिर ४ गते आम निर्वाचनको नतिजाले र वैशाख १० हुने उपनिर्वाचनको माहोललाई हेर्दा जनता पुराना दलहरुदेखि दिक्क भएको र केही नयाँ खोजिरहेको हामीले देख्न र अनुभुति गर्न सक्छौँ। पुराना दलहरु प्रति जनताको अहिले व्यापक आक्रोश मात्र देखिन्छ । जनताले पटकपटक सच्चिने मौका कांग्रेस एमाले र माओवादीलाई नदिएका होईनन यि दलहरू ले देश र जनता प्रति गरेको घात ले गर्दा जनता यिनिहरु प्रति रुष्ट भएको देखिन्छ,। साच्चै देश परिवर्तन भएको हेर्न चाहे जनता धेरै छन जनताले हिजो परिवर्तनको लागि सबैलाई स्विकार्दै आए यसपटक देखि जनताले केही नयाँ खोजेका छन् । जस्ले देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान्छ जनता इच्छा आवश्यकता हरूलाई क्रमिक रूपमा सम्बोधन गर्दै जान्छ, जस्ले सरकार भएको आवाज दिलाउन सक्छ ।

जसले दुई छाक खान र सामान्य परिवारका आवश्यक हरू मात्र पुरा गर्नकोलागी विदेशीनु पर्ने बाध्यतालाई हटाउदै लैजान्छ, गाउँमै राम्रो स्वास्थ्य शिक्षा र रोजगारी दिलाउन सक्ने क्षमता राख्छ । देशमा कलकारखानाहरू खोल्न सक्ने सामर्थ्य राख्दछ । कृषकहरूलाई प्रोत्साहन गर्न सक्छ जो वैदेशिक हस्तक्षेप विरुद्ध डटेर सामना गर्छ। त्यस्तै किसिमको सरकार र नेता साच्चै जनताले खोजेको स्थिति छ । लाग्छ पछिल्ला राजनितिक घटनाक्रमहरुहरू हेर्दा जनता साच्चै नै जागरुक भैसकेका छन् । देशलाई बेच्ने र नागरिकका सपना माथि खेल्ने निकम्मा राजनीतिक दल र तिनका नेताहरुलाई आम जनताले अब विदाई गर्ने शिलशिला सुरु गरिसकेका छन् अहिले चुनाव हुने तिनवटै क्षेत्रका जनता कटिबद्ध भएर परिवर्तनको पक्षमा लागिसकेका छन् साच्चै नै जनता परिवर्तन र देश रूपान्तरणको पक्षमा छन। जय देश ।-(लेखमा व्यक्त गरिएका विचार लेखकका नितान्त व्यक्तिगत कुराहरु हुन् ।)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।