पुस २५,
काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्ग स्थित जग्गामा यति समूहले बनाउँदै गरेको भवन निर्माण रोक्न अदालतले अन्तरिम आदेश दिएको छ। अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ट्रस्टले यती समूहसँग गरेको सम्झौता त्रुटीपूर्ण देखिएको भन्दै यस्तो आदेश दिएको हो।
अदालतको आदेशअनुसार ट्रस्टले यती एयरलाइन्सको भगिनी संस्था थामसेर्कु ट्रेकिङ प्रालिलाई ०७३फागुन १८ मा पत्र काट्दै उसले पेश गरेको आर्थिक प्रस्तावअनुसार कुल ६ अर्ब ५४ करोड ३७ हजार ९ सय ९४ मा सम्झौता गर्न बोलाएको थियो। तर, पछि ०७४ वैशाक ६ मा पुन: पत्र काटेर १ अर्ब ५९ करोड २० लाख ९१ हजार ७ सय १ मा सम्झौता गर्न बोलाएको देखिएकोले उक्त कार्य सार्वजनिक खरिद ऐन, नियमावलीको विपरीत रहेको उल्लेख गरिएको छ।
यती समूहलाई अवैधानिक रूपमा ३० वर्षका लागि लिजमा दिएको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको थियो। दुवै पक्षलाई छलफलका लागि आउँदो माघ १ गते अदालतले बोलाएको अदालतका श्रेस्तेदार बाबुराम दाहालले जानकारी दिए।
प्रतिक्रिया