२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

हालै सम्पन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा एमालेले अन्य राजनीतिक दलको समर्थन जुटाउन सकेन । संघीय चुनावमा तालमेल गरेका दलहरूले समेत एमालेलाई यतिबेला साथ दिएनन् ।

Advertisement

आफैले प्रधानमन्त्री बनाएका प्रचण्डको माओवादी पार्टी एमालेबाट टाढियो । १७ सिटमा चुनावी तालमेल गरेको जसपाले पनि एमालेलाई छोड्यो । विगतका दिनमा एमालेसँग सहकार्य गर्ने जनमोर्चा पनि एमालेसँग झस्किएर पाँच दलीय गठबन्धनमा आबद्ध छ । यतिखेर एमालेसँग चुनावमा तालमेल गरेको न राप्रपा नै छ न त चुनावपछि सौहार्द मित्र बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नै ।

नेकपा एमाले केही समययता चारैतिरबाट घेराबन्दीमा परेर शृङ्खलाबद्ध रूपमा पराजित भइरहेको छ । एमाले नेतृत्वका प्रदेश सरकार पनि खोसिँदै छन् र एमाले पुनः एक्लो हुँदैछ । यसको कारण एमाले नेतृत्वले अन्तर्राष्ट्रिय शक्ति र राष्ट्रविरोधी तत्वलाई देखाइरहेको छ । देश र जनताविरोधी शक्तिहरूले घेराबन्दी गरेर षडयन्त्रको शिकार भएको एमालेले आफ्ना कार्यकर्ताहरूलाई बताइरहेको छ । किन एमाले यसरी एक्लिँदै गएको छ ? अन्य राजनीतिक दलहरूसँग सहकार्य र समन्वय गर्न किन सकिरहेको छैन ? नेतृत्वले भनेझैँ एमाले षड्यन्त्रको सिकार भएको हो वा नेतृत्वमै खोट छ ? गम्भीर समीक्षाको विषय बनेको छ ।

आन्तरिक र बाह्य समस्यामा एमाले
यतिबेला नेकपा एमाले आन्तरिक र बाह्य दुबै कारणले तमाम समस्यामा फसेको छ । पार्टीमा सांगठानिक, वैचारिक, नीतिगत र व्यावहारिक लगायतका थुप्रै समस्या छन् । एकातिर पार्टीभित्रै घात–अन्तर्घातका घटनाहरू बढेका छन् । विकृति, विसंगति र अराजकता बग्रेल्ती छन् । पार्टीमा दक्षिणपन्थी अवसरवाद र दलाल पुँजीवादी प्रवृत्ति बढेको छ । अनुशासनहीनता र अराजकता मौलाएको छ । नीतिगत र वैचारिक चेतना स्तर खस्किँदै गएको छ । चौतर्फी घेराबन्दीले झन् समस्यामा पारेकोले नयाँ परिस्थितिका चुनौतीहरूको सामना गर्न पार्टीपंक्ति असक्षम देखिएको छ ।

त्यसो त २०७५ सालको एकीकरणपछि पार्टीमा विकृति र विसंगति अझ बढेका हुन् । नेताहरूबीच व्यक्तिगत महात्वाकांक्षा र पदीय हानथाप बढ्दै जाँदा त्यतिबेलादेखि नै पार्टीका नियमित बैठक,कार्यक्रम र छलफल भएनन् । कम्युनिस्ट क्रान्तिकारी स्पिरिट,ऊर्जा अनि नागरिकका समस्याको चिन्तन हराउँदै गयो । कम्युनिस्ट आचरण, विचार र सिद्धान्तको आदर्श समाप्त भयो । पार्टीनेतृत्व,कार्यकर्ता र आम नागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गयो । कार्यकर्ता लाखापाखा हुँदै गए । जसको भरणपोषण अद्यापि हुन सकेको छैन ।

आज पनि नेकपा एमालेमा पार्टीमा योगदान गरेका असली कम्युनिस्ट नेता कार्यकर्ताहरू पछाडि पारिएका छन् । गुन्डा,डन,दलाल,कमिसनखोर र पुँजीपतिहरूको चङ्गुलमा पार्टी फसेको छ । तिनैको बोलबाला र स्वार्थअनुरूप पार्टीका गतिविधिहरू सञ्चालन हुन लागेका छन् । सिङ्गो पार्टी माथिदेखि तलसम्म पुँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादी आदर्श, चिन्तन र विचार समाप्त भएको छ । हिजोका अफ्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेता–कार्यकर्ताहरूले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अवस्था नै छ । यस्तो प्रवृत्ति र अवस्थाको अन्त कहिले हुन्छ ? यसको सटिक जवाफ एमाले नेतृत्व दिने कि राष्ट्रविरोधी र बाह्य शक्तिले ? अन्योल सिर्जना भएको छ ।

आजभोलि नेकपा एमालेका थुप्रै नेताहरू आफ्नो सिद्धान्त, विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् । एमालेका धेरैजसो केन्द्रीय नेताहरू यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा गएर ढुक्कले संगठन निर्माणमा गाउँ बस्ने अवस्था अझै बन्न सकेको छैन । स्थानीय कार्यकर्ता र आम नागरिकहरू तत्तत् क्षेत्रका नेताप्रति असन्तुष्ट छन् । आफ्नै नेताप्रति तमाम गुनासा र विरोध छन् । तिनै नेताहरूका व्यवहार र शैलीका कारण आम कार्यकर्ता असन्तुष्ट बन्दै गएका छन् । फलतः कम्युनिस्ट नेतृत्व र आन्दोलनप्रति नै चिन्ता, निराशा र आक्रोश बढ्दै गएको छ । त्यत्रो विशाल सांगठानिक संरचना, लाखौँ सक्रिय कार्यकर्ता हुँदाहुँदै पनि स्थानीय र संघीय निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन ।

यसको सूक्ष्म समीक्षा कसले,कसरी गर्ने ? प्रश्न अनुत्तरित छ ।

नेकपा टुक्रियो । एमाले विभाजित भयो । एमाले विरूद्धको मोर्चाबन्दी झन् कसिलो बन्दैछ । निर्वाचनका हरेक तहमा एमालेले निरन्तर पराजय भोगेको भोग्यै छ । कतिपय आफ्नै कारण र कतिपय चौतर्फी घेराबन्दीका कारण सबैतिर प्रतिपक्षमा पुगिसक्दा पनि एमाले नेतृत्वको कार्यशैली र अभिव्यक्तिमा भने कुनै परिवर्तन देखिएको छैन । न सत्ताच्युत हुनुपरेकोमा पछुतो देखिन्छ, न त पार्टी विभाजन भएकोमा चिन्ता नै । देशभरको पार्टी संगठनमा ठूलो क्षति पुगेको भए पनि आफ्नो शक्तिप्रतिको फगत दम्भ र कार्यशैली जस्ताको त्यस्तै छ ।

अब स्वाभाविक प्रश्न उठ्छ, एमाले निरन्तर एक्लै हुनुपर्ने अवस्था किन आयो ? यो कमजोरी कसको हो ? निरन्तर पराजय र एक्लोपनको जिम्मेबारी एमाले नेतृत्वले लिनुपर्ने कि नपर्ने ? दोष नेतृत्वलाई दिने कि राष्ट्रविरोधी र बाह्य शक्तिलाई ?

वि सं २०४६ सालदेखि हालसम्मको अवधिमा नेकपा एमालेले पटक–पटक सरकारमा सहभागी हुँदै ६ पटक सरकारको नेतृत्व नै गरिसकेको छ । एमाले नेतृत्व र सहभागी सरकारहरूले देश, जनता र कार्यकर्ताको हितमा के गरे ? लामो समयको बलिदान,संघर्ष र निरन्तर आन्दोलनको प्रतिफल आम नागरिकलाई खोई ? यी तमाम प्रश्नहरूको उत्तर एमाले नेतृत्वसँग माग्ने कि षडयन्त्र गर्ने देशीविदेशी तत्वहरूसँग ?

ती दिन र आजको नियति
कुनै बेला नेकपा एमाले अत्यन्तै शक्तिशाली पार्टी थियो । संगठनात्मक र सङ्ख्यात्मक हिसाबले अहिले पनि नेकपा एमालेमा करिब ११ लाख संगठित सदस्य छन् । २०७४ सालको संघ, प्रदेश र स्थानीय निर्वाचनपछि लगभग सबै तहमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा करिब दुई तिहाईको जनमत थियो ।

उक्त निर्वाचनमा स्थानीय तहमा कुल ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९४ पालिकाको नेतृत्व जितेको थियो तर २०७९ को निर्वाचनमा नेकपा एमाले जम्मा २ सय ६ मा सीमित भयो । उक्त स्थानीय निर्वाचनमा ४० प्रतिशत स्थानीय प्रतिनिधिहरू जितेको एमाले २०७९ सालमा ३४ प्रतिशतमा खुम्चियो ।

विसं २०७४ सालको प्रतिनिधि सभामा १ सय २१ सीट जितेर पहिलो भएको पार्टी २०७९ सालमा ७८ सीटमा मात्र सीमित भयो । उक्त निर्वाचनमा ३३ प्रतिशत लोकप्रिय मत पाएकोमा गत निर्वाचनमा २७ प्रतिशतमा झ¥यो । २०७४ सालमा समानुपातिकतर्फ ४१ सांसद सिट पाएको एमाले पार्टीले २०७९ सालमा भने ३४ मात्र पायो । गत संघीय चुनावमा समानुपातिक तर्फ पहिलो पार्टी देखिए पनि एमालेले विगतभन्दा करिब साढे ३ लाख मत कम पाएको छ । एमालेले यतिबेला अन्य पार्टीहरूले भन्दा राजनीतिक रूपमा सबैभन्दा ठूलो क्षति बेहोरेको छ । यसको कारण कोसँग,कसरी खोज्ने ?

शृङ्खलाबद्ध पराजय र क्षति कहिलेसम्म ?
एमालेले विशेष गरी २०७७ सालदेखि शृङ्खलाबद्धरूपमा राजनीतिक क्षति बेहोर्दै आएको छ । प्रतिनिधिसभा विघटनपछि एमाले एक्लिने र पराजय हुने क्रम बढ्दै गएको हो । प्रतिनिधिसभाको पटकपटक विघटन ठिक थियो वा थिएन ? सूक्ष्मरूपमा समीक्षा अझै हुन सकेको छैन ।
एमालेकै पहल र समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्डले धोका दिए । राष्ट्रपतिको उम्मेवारीपछि बाहिरिनुपर्याे । आफ्नो समर्थनमा रहेको राष्ट्रपति पद पनि गुम्यो । उपराष्ट्रपति चुनावमा पनि हार बेहोर्याे ।

पछिल्लो पाँच वर्षको अवधिमा एमालेले संवैधानिक, संस्थागत, सार्वजनिक तहका हरेक निकायमा एकपछि अर्को रूपमा आफ्नो पकड गुमाएको छ । पत्रकार महासंघमा एमाले समर्थकहरू सबै पराजय भएका थिए । बार एशोसिएसनको निर्वाचनमा एमालेले नराम्रोसँग धक्का खायो । इन्जिनियर एशोसिएसन, उद्योग संघ, वाणिज्य संघ लगायतका पेसा–व्यवसायका सामाजिक संघसंस्थाहरूमा एमाले समर्थकहरूले निरन्तर पराजय भोगिरहेका छन् । २०७८ सालको राष्ट्रिय सभा निर्वाचनमा ठूलो क्षति बेहो¥यो ।

उपनिर्वाचनमा समेत नराम्रो गरी पराजय भयो । एमाले नेतृत्वका प्रदेशका सरकार खोसिन लागेका छन् । यो शृङ्खला कहिले रोकिन्छ ? यसको जवाफ नेतृत्वले दिने कि अन्तराष्ट्रिय शक्तिले ? एमाले नेतृत्वले अन्य पार्टी तथा निकायसँग उचित कूटनीतिक पहल र रणनीतिक समन्वय गर्न नसक्दा चारैतरिबाट एक्लिँदै गएको छ । एमालेविरूद्धको घेराबन्दी तोड्न नेतृत्व असफल भइरहेको छ । दाउपेच र षडयन्त्र गर्न अभ्यस्त खेलाडी पुष्पकमल दाहालको उपयोगी राजनीतिलाई एमाले नेतृत्वले बुझ्न सकेन । फलतः आफैले एकीकरण गरेको नेकपामा अल्पमतमा पर्नुपर्ने अवस्था आयो । आखिर दोष कसको ?

तात्कालीन एमाले नेतृत्व वर्गकोे एउटा तप्काले पार्टी विभाजन गरेपछि एमालेको शक्ति खण्डित भएको छ । एमालेमा यतिखेर पन्ध्र वर्ष पार्टी हाँकेका माधव नेपाल छैनन् । पटकपटक नेतृत्व सम्हालेका झलनाथ खनाल पनि छैनन् । शक्तिशाली भनिएका न वामदेव गौतम छन् न त पश्चिमका कमाण्डर मानिएका भीम रावल नै । न बौद्धिक बहस गर्ने घनश्याम भुसालहरू छन् न त कुशल संगठक भनिएका मुकुन्द न्यौपाने, अशोक राई र बेदुराम भुसालहरू नै । दशौँ वर्ष एमाले पार्टीमा संगठन र नेतृत्व गरेका उनीहरू किन बाहिरिनुप¥यो ? एमालेमै किन अटाउन सकेनन् ? दोष षडयन्त्रकारीहरूलाई दिने कि एमाले नेतृत्वलाई ?

सञ्जीवनी बन्ला त मिसन ग्रासरूट ?
यतिखेर एमालेले यी तमाम समस्याको निराकरणका लागि मिसन ग्रासरूट अभियान चलाइरहेको छ । पार्टीको शुद्धीकरण,सुदृढीकरण र विस्तारका लागि नेताहरू गाउँ–गाउँमा छन् । कार्यकर्ताका गुनासा र सुझाव संकलन भइरहेको छ । पार्टीलाई चुस्तदुरूस्त, अनुशासित,व्यवस्थित र जनप्रेमी बनाएर शक्तिलाई पुनर्जीवन दिने अभियान छ । त्यसो त हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको परिणामले एमालेलाई केही राहत दिएको हुनुपर्छ । तर, कसिँदै गएको मोर्चाबन्दी र दरिँदै गएको घेराबन्दी कायम रहिरहे एमालेको भविष्य सुनिश्चित देखिँदैन । तसर्थ,एमाले नेतृत्वपंक्ति जिम्मेबार,गम्भीर र समन्वयकारी बन्नैपर्छ ।-(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् )

प्रतिकृया दिनुहोस्

Flash News

संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर विश्व वातावरण दिवसको अवसर पारी पर्यावरण संरक्षण समाजको गठन गौर नरसंहार : न्यायाधीश रेग्मीको इजलासमा सुनुवाई हुँदै प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो