ताजा अपडेट »

बुटवल बहुमुखीसहित रुपन्देहीका ६ क्याम्पसमा स्ववियु निर्वाचन, ६ मा आपसी विवादले ढिलाई

आइतबार, ०५ चैत्र २०७९, १७ : १५
4 Shares

बुटवल। विद्यार्थी संगठनहरुबीच विवाद भएका कारण स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने तय भएकामध्ये रुपन्देहीका १२ क्याम्पसमध्ये ६ वटामा मात्रै आज मतदान भएको छ । निर्वाचन भएकामध्ये १ वटाको नतिजा आइसकेको छ भने अन्य ५ वटामा मतगणनाको तयारी रहेको छ । मतगणना सकिएको छपियास्थित जनता कलेजमा नेविसंघको प्यानल विजयी भएको छ ।

साविक पश्चिमाञ्चलकै जेठो बुटवल बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा ३७.७० प्रतिशत अर्थात २ हजार ६८१ मत खसेको छ । ६ वटा सङ्गठनले भाग लिएको यस क्याम्पसमा ७ हजार १ सय १० मतदाता विद्यार्थी रहेका छन् ।यहाँ यस अघि २०६५ सालमा मतगणना हुने बेला र २०७३ सालमा निर्वाचन सबै प्रक्रिया टुङ्गाएर उम्मेदवारी दर्ता गर्ने बेला रोकिएको थियो । लामो समय रोकिएको बुटवल बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । यस अघिका सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्विवियुले जितेको थियो । मतगणना आजैबाट गणना गर्ने तयारी रहेको छ ।

सबै दलका मुख्य नेताहरुले बहुमुखी क्याम्पसको चुनावप्रति चासो देखाउँदै जिल्ला तहदेखि केन्द्रीय नेताहरु क्याम्पसमा पुगेका थिए । पूर्व स्ववियु पदाधिकारी तथा पूर्व विद्यार्थी नेताहरुको पनि क्याम्पसमा बाक्लो उपस्थिति थियो ।मुख्य संगठनहरु यहाँँ अलग अलग चुनावी मैदानमा छन् । अध्यक्षमा ६ जना उम्मेदार भने । एमाले निकट अनेरास्ववियुलाई अखिल छैठौले साथ दिएको छ ।

बुटवल बहुमुखीबाहेक रुपन्देहीका सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, कञ्चनको हरैया बहुमुखी क्याम्पस, देवदहको देवदह आदर्श, शुद्धोधनको यज्ञोदय दुधनाथ र सियारीको छपिया जनता कलेजमा मतदान सम्पन्न भएको छ । चुनाव हुने तय भएका अन्य कतिपय क्याम्पसमा भने मनोनयन दर्तासमेत हुन सकेन। बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, तिलोत्तमाको राममणी क्याम्पस, गिर्वाण संस्कृत क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, ओमसतियाको पक्लिहवा कृषि क्याम्पसमा विद्यार्थी संगठनहरुले ताला लगाएका कारण मतदान हुन सकेन ।

विद्यार्थी संगठनहरु स्ववियु चुनाव गर्ने प्रतिवद्धतामा राजी भएपनि विभिन्न कलेजमा भएको विवाद समाधान गर्न सकेका छैनन् । लुम्बिनी वाणिज्य क्याम्पसमा नेविसंघले ताला लगाएको छ भने राममणि क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको लडाईले विवाद बढेको छ । भैरहवा क्याम्पसमा ८ गते निर्वाचन मिति तोकिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।