ताजा अपडेट »

लघुवित्तको ज्यादतीः घर छाड्दै गाउँबासी

बुधबार, १७ फागुन २०७९, ०९ : ०२
32 Shares

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका ६ की गुडिया बिकले पाँच वटा लघुवित्तय संस्थाबाट ऋण लिएकी छन । कृषि उत्पादन र पशुपालनका लागि लिईएको थियो तर उत्पादन केहि छैन । ब्याजले ऋण बढ्दैछ । तिर्ने आम्दानीको श्रोत केहि नभएपछि उनी गाउँ छोड्ने अवस्थामा पुगेको बताउँछन । अरु धेरै ऋण तिर्नु त परै जाओस एउटा लघुवित्तको जम्मा १५ हजार ऋण समेत तिर्न नसकेर भाग्ने अबस्थामा पुगेको उनको भनाई छ ।

गुल्मीदरबार गाउँपालिका १ बलिथुमकी सिता कुमारी रेश्मी मगरको अवस्था पनि उस्तै छ । मध्येरातमा आएर लघुवित्तहरुले कहिले भैसी फुकाउन खोज्छन भने कहिले लालपुर्जा माग्छन । उनी पनि चार पाँच वटा लघुवित्तको ऋणमा डुबेकी छन । छत्रकोट गाउँपालिका २ पल्लीकोटकी जमुना सोमरेले लघुवित्तमा ऋण खाएकाहरु मध्ये कतिपयले गाउँ छाडेको र कतिपय श्रीमान श्रीमतिको सम्वन्ध विच्छेद भएकोले लघुवित्तिय संस्थाहरु खारेज हुनु पर्ने माग गर्छिन् ।

बलिथुमकी सावित्रा रजाली मगरले १२ वटा लघुवित्तबाट ऋण लिएको सुनाउँदै भनिन सुरुमा फकाई फकाई डेढ लाख ऋण दिएको अहिले ३ लाख पुगेको र ऋण तिरेर छाड्छुभन्दा पनि नमान्ने गरेको बताउँछिन । धुर्कोटरजस्थलका राजन भण्डारी अपाङ्ग छन् । विभिन्न लघुवित्तको ऋण खाएका उनले ‘आज पैसा छैन । दुई चार दिनपछि दिन्छु ।’ भन्दा लघुवित्तका मान्छेले ‘एक हजार रुपैयाँ दिन्छु विष खाएर मर’ भन्ने कटुवचन बोलेको दुखेसो सुनाउछन् ।
लघुवित्तहरुले महिला, गरिव तथा विपन्न, दलित र जनजाती वस्ती छानेर जथाभावी अनउत्पादक क्षेत्रमा ऋण प्रवाह गरेको आरोप छ । अहिले गाउँमा शोषक सामन्तले झैं ऋण दिदा ठेली काट्ने गरेर गरिवहरुलाई थप गरिव बनाउँदै जान थालेपछि कैंयौै घरबाट बिस्थापित भएको गुनासो बढेको छ । एउटै टोल धुर्कोटरजस्थलबाट मात्रै १० घर परिवार विस्थापित भएको गुल्मीको जिल्ला प्रशासन कार्यालय अगाडिको बिरोध पर्दशनमा आएकी सोही गाउँकी लघुवित्त पीडित महिला बिजुला परियार बताउँछिन् ।

गुल्मीका मुख्य बजारमा दर्जनौं लुघुवित्त संस्थाहरु रहेका छन । उनीहरुको निगरानी न स्थानीय सरकारले गरेको पाईन्छ न त जिल्ला प्रशासनले नै । यसर्थ पीडितहरु सडकमा ओर्लेर आन्दोलन गरिरहेका छन् । गुल्मीबाट सुरु भएको लघुवित्त वित्तिय संस्था बिरुद्धको आन्दोलन यति बेला देश ब्यापी बन्न पुगेको छ । मंगलबार पनि लघुवित्तिय संस्थाहरुको खारेजीको माग गर्दै गुल्मीसहित देशका विभिन्न जिल्ला प्रशासनमा बिरोध प्रदर्शन तथा धर्ना दिईएको छ ।

नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज हुनुनपर्ने उनीहरुको माग रहेको छ । त्यस्तै लघुवित्तहरुले दिएको सामुहिक ऋण सरकारले मिनाह गरी दिनु पर्ने, आम गरिव किशानहरुलाई सरकारले निःशुल्क ऋण प्रदान गर्नु पर्ने उनिहरुमो माग छ । त्यस्तै आवश्यकता र श्रमको आधारमा काम र दामको ब्यवथा गर्नु पर्ने र समाजवादी अर्थतन्त्रको ब्यवस्था गर्नु पर्ने आफूहरुको माग रहेको लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपालका केन्द्रि अध्यक्ष गुल्मी बलिथुम गाउँका मानिराम ज्ञवाली बताउँछन ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार