ताजा अपडेट »

सन्दीप लामिछाने २० लाख धरौटी बुझाएपछि रिहा

शुक्रबार, २९ पुस २०७९, १४ : ३५
20 Shares

काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने रिहा भएका छन् । उच्च अदालत पाटनको बिहीबारको आदेशअनुसार शुक्रबार लामिछाने रिहा भएका हुन् । अदालती प्रक्रिया सकिएसँगै रु २० लाख धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

पाटन उच्च अदालतका न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको इजलासले बिहिबार मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक सहितका सर्तहरु भने राखेको छ । नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

अदालतले लामिछानेलाई यो मुद्दा, पीडित किशोरी र उनको परिवारका सदस्यबारे सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीका टिप्पणी गर्न वा धारणा राख्न पनि रोक लगाएको छ । अदालतले लामिछाने र उनी आबद्ध संस्थाका व्यक्तिलाई ‘पीडित किशोरी र उनको परिवारसाग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा कुनै माध्यमबाट डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्नेसम्बन्धी कुनै कार्य नगर्ने’ भन्ने आदेश दिएको छ । लामिछानेले कुनै काम विशेषले काठमाडौं उपत्यका छाड्नुपरे छाड्ने र फर्कने मिति तथा उपत्यकाबाहिर रहने स्थान खुलाएर जिल्ला प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी दिन पनि अदालतले भनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।