ताजा अपडेट »

लुम्बिनीमा मुख्यन्त्रीसहित ३ मन्त्रीलाई सपथको तयारी, रोजेको मन्त्रालय नपाएपछि माओवादी नेता महराले सपथ नलिने

विहीबार, २८ पुस २०७९, १३ : ०९
8 Shares

बुटवल । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण हुँदै छ । सपथका कार्यक्रमका लागि प्रदेश प्रमुख अमिक शेरचनसहित दलका नेता तथा सांसदहरु देउखुरी पुगेका छन् ।

मुख्यमन्त्री एमाले नेता लिला गिरीले पाएपछि आफूले रोजेको मन्त्रालय पाउनु पर्ने दाबी गरेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आज सपथ नलिने भएका छन् । अर्थ वा शहरी विकास मन्त्रालयको दाबी गरेको माओवादी केन्द्रका नेता महराले रोजाइको मन्त्रालय नपाउने भएपछि उनी सपथ नलिने भएको सो पार्टीका एक नेताले जानकारी दिए । तर माओवादी केन्द्रबाट कुनै एक जनालाई सपथका लागि आजै पठाइने सो पार्टीका सांसद तुलाराम घर्ती 'वसन्त'ले ग्लोबल आवाजसँग बताए । आजको सपथ ग्रहरणमा कसलाई पठाउने भन्ने बारे टुङ्गो नलागेको बताउँदै उनले दलका नेता महराले भने सपथ नलिने स्पष्ट पारे । 

माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेको स्रोतले बतायो । लुम्बिनी प्रदेश सभा परिसर राप्ती उपत्यका देउखुरीमा आज दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखिएको भए पनि दलहरु बीच कुरो नमिल्दा अहिलेसम्म सपथको कार्यक्रम भएको छैन । माओवादी केन्द्र आन्तरिक छलफलमै भएका कारण सपथ रोकिएको बताइएको छ । मुख्यमन्त्रीले आजै कम्तीमा ३ सदस्सीय मन्त्रिमण्डल गठन गरि सपथ लिने तयारी गरेका छन् ।

एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नव नियुक्त मुख्यमन्त्री लिला गिरीले बताए । बाँकी दलहरुको लागि भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरीले बताए ।

आज हुने सपथ ग्रहणमा एमालेका दलनेता नवनियुक्त मुख्यमन्त्री लिला गिरी सहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट कुनै एक जना सांसदले मन्त्रीलाई रुपमा सपथ गराउने तयारी भएको छ । एमाले भित्र पनि मन्त्रालयको कुरा नमिलेपछि नेता भुमिश्वर ढकालले आज सपथ लिने छैनन् । विश्वासको मत प्राप्त भएपछि मात्रै आफू मन्त्री पदका लागि जाने उनले बताए ।

एमाले भित्र सहरी विकास मन्त्रालयमा चेतनारायण आचार्य र भुमिश्वर ढकाल दुबैको दाबी रहेको स्रोतले बतायो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।