ताजा अपडेट »

नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि स्वास्थ्यकर्मीले गुहारे स्थानीय सरकार

शुक्रबार, २२ पुस २०७९, १७ : १२
35 Shares

बुटवल । बाँकेको नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारलाई गुहारेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा रोग प्रकोपको रूपमा फैलिएपनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरुको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो ।

स्वास्थ्यकर्मीहरूले उपचारका लागि चाहिने सहयोग जुुुटाउन स्थानीय सरकारलाई पत्राचार समेत गरेका छन् । प्रकोपबाट नेपालगन्जमा साढे दुई वर्षका बालकको मृत्यु भएको छ । अहिलेसम्म ३० जनाभन्दा बढी यस रोगका बिरामी पत्ता लागेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले एक सातादेखि दादुरा फैलिन थालेको जनाएको छ । यसको संक्रमणले प्रकोपको रूप लिएपछि उपचार तथा नियन्त्रणका लागि प्रयास थालेको कार्यालयले जनाएको छ ।

नेपालगन्ज–५ स्थित एउटै परिवारका चार बालबालिकामा दादुरा संक्रमण भएको स्वास्थ्यकर्मीले फेला पारेका थिए । अभिभावकले दादुराका बिरामी बालबालिकालाई लुकाएकाले उपचार तथा रोगको निदानमा ढिलाई भएको कार्यालयले जनाएको छ । उपमहानरका विभिन्न क्षेत्रमा संक्रमण फैलिएकाले जोखिम बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार नेपालगन्ज–५, ७, ८, ९, १०, ११, १४, १५ र २२ नम्बर वडामा बिरामी पत्ता लागेका छन् ।

'सक्रमित सबैजसो बिरामीलाई घरमै राखेर उपचार गरिँदै छ,' स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनीता पौडेलले भनिन्, 'स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदै एक जना बालकको मृत्यु भएको हो । अब अरू बिरामीको खोजी गर्दै दादुराविरुद्धको खोप लगाउने तयारीमा छौं ।'

दादुराविरुद्धको चार हजार ५०० डोज खोप आइपुगेको र जनशक्ति जुटाएर लगाउने थाल्ने उनले बताइन् । स्वास्थ्य कार्यालयले गत शनिबार पाँचजना बिरामीको नमुना संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियो । जसमध्ये चार जनामा दादुरा पुष्टि भएको थियो । ती सबै चार जना एकै घरका थिए ।

सहरमा दादुरा देखिएपछि विश्व स्वास्थ्य संगठन, युनिसेफ, स्वास्थ्य कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाको टोली निगरानीमा खटिँदै आएका छन् । यहाँ ९ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुराको प्रकोप देखिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।