ताजा अपडेट »

‘२ लाखलाई सडकमा ल्याउँछौं,५ करोडको कारोबार हुन्छ ’

आइतबार, १३ पुस २०७६, १७ : ३८
6 Shares
         

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ,रुपन्देहीको आयोजनामा सोमबारदेखि ३ सम्म बुटवलको सडकमा खाना महोत्सवको आयोजना हुँदै छ । ‘अतिथि देवो भवः, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुन लागको महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । बुटवल उप–महानगरपालिका वडा नं. ९, कालिका पथको तिनकुनेदेखि शिवालयचोकसम्म विभिन्न खानाका परिकार सहितका स्टलहरु रहने आयोजक संस्थाले जानकारी गराएको छ ।

यही पुस १४ देखि १६ गतेसम्म बुटवलमा आयोजना गर्न लागिएको सडक खाना महोत्सवले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिने आयोजकको भनाई रहेको छ । प्रथम बुटवल सडक खाना महोत्सव २०७५ मा विभिन्न खानाका परिकार सहितका ६० वटा स्टल सहभागी भएकोमा यस वर्ष १ सय वटा स्टलको सहभागिता हुने आयोजक संस्थाले जानकारी गराएको छ । महोत्सवको उद्देश्य लगाएतका विषयमा रहेर ग्लोबल आवाजका लागि होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ,रुपन्देहीका अध्यक्ष समुन्द्र जि.सी. सँग डि. बी. सुस्लिङले गरेको कुराकानी:

खाना महोत्सवको उद्देश्य र विशेष्ताहरु के–के रहने छन् ?

–हामीले आयोजना गर्न लागको महोत्सवको मूख्य उद्देश्य नै प्रर्यटन प्रवद्र्धन र प्रचार–प्रसार हो । राष्ट्रले पनि समृद्धिको आधारका रुपमा लिएको पर्यटन विकासका लागि हामीले महोत्सवको आयोजना गर्न लागेका हौं । बुटवल तथा रुपन्देही क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टमा पाक्ने परिकारहरुका बारेमा जानकारी गराउनका लागि यो महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने छ । सबै नागरिक सबै खालका होटल तथा रेष्टुरेण्टहरुमा गएर परिकार चाख्न सक्ने क्षमता राख्दैनन् त्यसैले उनीहरुलाई पनि कुन ठाउँमा कस्तो परिकार बन्दछ भन्ने कूरा जानकारी गराउन महोत्सवको आयोजना गरेका हौं । मेलामा सय बढी होटल तथा रेष्टुरेण्टहरुको स्टल रहने छन् भने एक सय २० बढी खानाका परिकारहरु प्राप्त गर्न सकिने छ । परिकारहरुमा कम्तिमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । महोत्सव साँझको ६ बजेदेखि रातको १२ बजेसम्म सञ्चालन हुने छ ।

बुटवलमा औद्योगिक व्यापार मेला जारी छ, एकै समयमा कार्यक्रम आयोजना हुनु प्रतिशोधको भावना हो की समन्वयको अभाव ?

–हामी कुनै व्यक्ति वा संस्थाप्रति लक्षित र प्रतिशोधको भावना लिएका छैंनौ । यो हाम्रो वार्षिक क्यालेण्डर अनुसार पूर्व निर्धारित समयमै आयोजना गर्नु पर्ने भएकाले यस्तो भएको हो । हरेक वर्षको जनवरी एक तारिखलाई समेट्ने गरी महोत्सवको आयोजना गरिन्छ । देशका अन्य शहरहरु पोखरा, लुम्बिनी, भरतपुर सबै ठाउँमा यसै यसै समया कार्यक्रम आयोजना भैरहेका छन् । प्रतिसोधको भावना छैन, आग्रह पूर्वाग्रह पनि छैन र कसैप्रति लक्षित होइनौं, समन्वय नभएको भन्ने केही छैन ।
बुटवलमा चिसो बढ्दो छ, यो समयमा उपभोक्ताहरु सडकमा आउँछन् ?

–सडक महोत्सवमा न्यानो र बाक्लो कपडा लगाएर भएपनि ग्राहकहरु आउँछन् । लाखौंको उपस्थिति रहने र यो एक वृहत महोत्सवका रुपमा रहेकोहुँदा अवलोकन गर्न तथा परिकार चाख्न आउनेको संख्यामा कमी आउने छैन । महोत्सव अवधिभर २ लाख बढी दर्शककले अवलोकन गर्ने र ५ करोड बढिको आर्थिक कारोबार गर्ने हाम्रो लक्ष्य रहेको छ ।

महोत्सवले मर्मत जारी रहेको सडकको काममा असर गर्दैन ?

–अवश्य पनि हामीले जुन सडकमा महोत्सवको आयोजना गर्न लागेका छौं,त्यो सडकमा अहिले मर्मतको कार्य पनि जारी छ । यसका लागि हामिले निर्माण कम्पनीका ठेकेदार तथा बुटवल उप–महानगरपालिकासँग सम्झौता गरिसकेका छौं । हामीले महोत्सव आयोजना गर्दा जति दिन उहाँहरुको काम रोकिएको छ, त्यो समय महानगरले निर्माण कम्पनिलाई थप गर्नेछ । यो सडक अन्तरगत इट्टाभट्टीदेखि होराइजन चोक तथा योगिकुटीसम्म होटल तथा रेष्टुरेण्ट क्षेत्रको विकास हुँदै गरेको अवस्थामा यहिँ सडकमा नै महोत्सव आयोजना गरेका हौं । हाम्रो कार्यक्रमका लागि यस क्षेत्रमा पर्ने वडा, महानगरपालिका तथा निर्माण कम्पनिको समेत सहयोग र सहमति प्राप्त भएको छ ।

अन्य समयमा समेत व्यस्त रहने यस सडकमा महोत्सव आयोजना गर्दा, ट्राफिक व्यवस्थापन कसरी हुन्छ ?

–यसका लागि हामीले ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेका छौं । ट्राफिक व्यवस्थापन व्यवस्थित र सहज गराउने प्रतिबद्धता प्राप्त भएको छ । अन्य समयभन्दा महोत्सवको अवधिमा केही भिडभाड हुनेभएपनि ट्राफिक व्यवस्थापनमा कुनै पनि समस्या आउन दिने छैनौं ।

मध्यरातसम्म हुने महोत्सवमा सुरक्षा चूनौतीहरु पनि छन्, कसरी व्यवस्थापन हुँदै छ ?

–महोत्सवमा हुन सक्ने सुरक्षा चुनौतीका बारेमा यस क्षत्रका जनपथ, नेपाल प्रहरी तथा सुरक्षा निकायका विभिन्न अङ्गहरुसँग छलफल र सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । महोत्सव हुने सबे क्षेत्रभित्र सि.सि.टि.भी. जडान गरिने छन् । जसका कारण सुराक्षा अवस्था थप सुरक्षित र व्यवस्थित रहने छ । महोत्सवको अवलोकन गर्न आउने दर्शक तथा व्यवसायीहरुले सुरक्षाका बारेमा ढुक्क भए हुन्छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।