ताजा अपडेट »

गृहमन्त्रीको चेतावनीलाई टेरेनन् मुख्यमन्त्रीले, बुटवलबाट रातारात मन्त्रालय दाङ

मंगलबार, २० मंसिर २०७९, ०९ : ०६
6 Shares

बुटवल। स्थायी पुर्वाधार बनाएर मन्त्रालयहरु दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरु रातारात दाङ पुर्याइएको छ । रातको समयमा तीन वटा ट्रकमा सामानहरु लोड गरी राति नै दाङ पुर्याइएको हो ।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पुर्वाधान नबनेको अवस्थामा तत्काल मन्त्रालयहरु नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए भने नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु संरचना तयार नहुँदै मन्त्रालय नसार्न आग्रह गरेका थिए । प्रदेश सांसदहरु लिला गिरी, भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयां बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्न माग गरेको थिए ।

यसअघि नै गृहमन्त्री बालकृष्ण खांणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी दिएका थिए । गृहमन्त्री खांणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए । तर यी सबका बाबजुद हतारोमा रातको समय पारेर मन्त्रालय सार्न खोज्नुले राजनीतिक द्वन्द्व बढाउन सक्ने राजनीतिक क्षेत्रमा विश्लेषण हुन थालेको छ ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले ३ वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको बताए । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने प्रवक्ता शर्माले बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।