ताजा अपडेट »

मेला आर्थिकसँगै पर्यटन वर्षमा लक्षित छ: संयोजक अधिकारी

सोमबार, ०७ पुस २०७६, १८ : ५६
10 Shares

बुटवल उद्योग बाणिज्य संघले यस वर्ष आयोजना गर्न लागेको २० औं संकरणको औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । ‘लगानी लुम्बिनीमा : समृृद्धि देशमा’–भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस वर्षको औद्योगिक व्यापार मेला नयाँ ठाउँ बुटवल उप-महानगरपालिकाको वडा नम्बर- ११ देविनगरमा आयोजना गर्न लागिएको हो । मेला स्थलको रुपमा परिचित बुटवल- ९ रामनगरमा रहेको बुटवल मण्डपमा संरचना निर्माणको काम जारी रहेकाले नयाँ स्थानमा मेला आयोजना गर्न लागिएको हो । नयाँ ठाउँमा आयोजना गर्न लागिएको मेलामा चूनौतीसँगै थप अवसरहरु समेत रहेका छन् ।

पुस ९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका ३५ जिल्ला र विदेशी गरी पाँच सय स्टल रहने छन् । मेलामा औद्योगिक उत्पादन, कृषि, घरेलु उद्योग, हस्तकला, गार्मेण्ट, होटेल रेष्टुरेन्ट, बैंक र पर्यटनका पांच सय स्टल रहने आयोजकले जनाएको छ । मेला आयोजनाको तयारी, अवसर र चूनौती बारे ग्लोबल आवाजका लागि औद्योगिक व्यापार मेला आयोजनाका प्रचारप्रसार उप-समिति संयोजक मुक्ति अधिकारीसँग डि. बी. सुस्लिङले गरेको कुराकानी ।

नयाँ र बुटवलकै विकट मानिने ठाउँमा मेला आयोजनाहुँदै छ, तयारी के–कसरी गर्दै हुनुहुन्छ ?

–नयाँ ठाउँमा आयोजना गर्न लागिएको यस औद्योगिक व्यापार मेला–२०७६ मा नयाँ अवसर, नयाँ अनूभव र चूनौतीहरु छन् । अस्थायी संरचनाहरु निर्माण गर्नुपर्ने, सुरक्षाका हिसाबले संवेदनशिल तथा बुटवलकै विकट मानिएको यस ठाउँमा मेला आयोजना गर्दै गर्दा यातायातको पहुँच पनि कमजोर रहेको छ । यी सबैकुराहरुलाई ठिक र व्यवस्थित ढँगले व्यवस्थापन गर्दै मेलालाई भव्य र सभ्य ढङ्गले सु–सम्पन्न गर्ने तयारी गरेका छौं । मेलाको तयारी अन्तिम अवस्थामा पुगेको छ । स्टल बुकिङको काम सम्पन्न भइसकेको छ । बुटवलको सबैभन्दा बढी जनघनत्व भएको वडा नम्बर ११ मा आयोजना गर्न लागिएको मेलाले विगतभन्दा बढी दर्शक प्राप्त गर्ने सुनौलो अवसर हामिले प्राप्त गर्दै छौं ।

मेला सम्पन्न गर्नका लागि विभिन्न १२ वटा उप–समितिहरु गठन भएका छन् । सुरक्षा व्यवस्था, प्रचार–प्रसार, श्रव्य दृश्य र पार्किङ, आवास तथा खाद्यान्न, सौजन्य व्यवस्थापन, लाइट तथा साउण्ड सिस्टम, लोक नृत्य तथा दोहोरी गीत, आधुनिक गीत, महिला उद्यमी, स्वागत सत्कार तथा गोष्ठी व्यवस्थापन उप–समिति गठन भएका छन् ।

मेला आयोजनाका लागि अस्थायी संरचनाहरु निर्माणमा लागत बढी लागेको छ, आर्थिक कारोबारमा के–कस्तो असर पर्ला ?

–पक्कै पनि नयाँ ठाउँमा नयाँ संरचनाहरु निर्माण गर्दा करिब पौने करोड लगानी खर्च भएको छ । यस हिसाबले पनि मेला आयोजनाका लागि लगानी बढी नै गर्नु पर्ने बाध्यता सिर्जना भएको हो । लगानी अनुसार थप नयाँ अवसरहरु पनि प्राप्त भएको हुँदा, कारोबारमा त्यति ठूलो असर पर्छ जस्तो लाग्दैन । १५ करोड बढीको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको छ । मेलामा ५ सय स्टल दर्ता भएका छन् । विगतका तुलनामा यसवर्ष दर्शकको उपस्थिति बढी हुने अनुमान गरेका छौं । मेलामा ५ लाख बढी दर्शकले मेला अवलोकन गर्ने लक्ष्य लिइएको छ । यसकारण सहजै हामीले लक्ष्य प्राप्त गर्न सक्छौं । संरचना निर्माणमा लागेको खर्चले कारोबारमा त्यति ठूलो प्रभाव पर्छ जस्तो लाग्दैन ।

सुरक्षाका हिसाबले संवेदनशिल भन्नु भएको छ, यसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

–चारैतिर खुला भाग रहेको, पूर्व–पश्चिम तथा उत्तर–दक्षिणको चारैतिर समेट्ने नाका रहेको यस ठाउँको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी सुरक्षालाई व्यवस्थापन गरेका छौं । निजी कम्पनिसँग समन्वय गरी ६० जना सेक्यूरिटी गार्ड, स्वयम् सेवक, नेपाल प्रहरी, सशस्त्र तथा सुरक्षा निकायका अन्य अंगबाट पनि सुरक्षाको प्रत्याभूत दिलाउने गरी सहयोग र आश्वासनहरु प्राप्त भएका छन् । स्थानीय यूवा क्लब, संघ–संस्था तथा वुद्धिजिवीहरुको समेत सुझाव र सल्लाह लिएर सुरक्षालाई चुस्त, दुरुस्त र व्यवस्थित गराएका छौं । सुरक्षाका बारेमा हामी निकै गम्भिर छौं । मेलामा आउने दर्शक तथा व्यवसायीहरुलाई सुरक्षाको पूर्ण–प्रत्याभूत गराउने छौं भनि सबैलाई विश्वस्त पार्न चाहान्छु ।

अन्य मेला महोत्सव र विगतभन्दा फरक विशेषता के–कस्ता रहन्छन् ?

–लुम्बिनी भ्रमण वर्ष–२०७६ जारी रहेको तथा नेपाल भ्रमण वर्ष–२०२०को मिति नजिकिँदै गरेको सन्दर्भमा मेलालाई पनि यस तर्फ केन्द्रित बनाएका छौं । यसकारण पनि मेला आफैमा महत्वपूर्ण र फरक रहने छ । स्थानीय स्तरमा नयाँ पर्यटकिय गन्तव्यको पहिचान र प्रवद्र्धन, सम्भाव्यताहरुको अध्ययन तथा प्रदेश ५ को पर्यटन क्षेत्रमा रहेको अवसर तथा चूनौतीहरु पहिचान गर्ने अवसर मेलाले जुराउने अपेक्षा छ । प्रदेश ५ का लुम्बिनीदेखी रेसुंङ्गासम्मका पर्यटकीय स्थलको संरचना सहित जानकारी मूलक प्रर्दशनी, जितगढी किल्लाको प्रतिकात्मक प्रवेशद्वार, नेपाली कला, संस्कृति, भेषभूषा संरक्षणका लागि विभिन्न सांस्कृतिक प्रतियोगिताहरु एवम् झाँकी प्रदर्शनीका विशेषताका रुपमा रहने छन् ।

साँस्कृतिक कार्यक्रमहरु दर्शकहरुको मूख्य रोजाइमा पर्ने गर्छ, विगतभन्दा फरक के छ ?

–यस पटकको मेलामा दर्शकले साँस्कृतिक कार्यक्रममा नयाँ स्वाद पाउने भएका छन् । मेलामा मौलिक र फरक अनूभवका रुपमा रत्यौली गीत प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगितामा ८ समूहले समहागिता जनाउँदै छन् । यसैगरी ईन्द्रेणी समुहको दोहोरी गीत कार्यक्रम, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता, भ्वाइस अफ बुटवल गायन प्रतियोगिता, आधुनिक लोक तथा पप गायन एवम् राष्ट्रिय स्तरको दोहरी गित प्रतियोगिता, नृत्य तथा वक्तृत्व प्रतियोगिता रहने छन् ।

सामाजिक उत्तरदायित्व तर्फ मेलाले केही सोचेको छ ?

–संघले रुपन्देहीको पर्यटन क्षेत्रको दीगो प्रवद्र्धनका लागि प्रवेश टिकट शुल्कबाट प्रति टिकट ५० पैसा छुट्टाएर खर्च गर्ने छ । मेला अवधिमा बुटवल उपमहानगरपालिका वडा न १ र २ को पुरानो बटौली बजार पूर्ण रुपमा बिस्थापित भएकाले उक्त बजारको ऐतिहासिक महत्व जगेर्ना गर्दै व्यवसायीक रुपमा पुनःस्थापनाका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया र स्थानिय स्तरमा पूँजी बजार सम्बन्धि सचेतना बृद्धि गर्दै यस क्षेत्रमा लगानीको अवसर बृद्धि गर्ने उद्देश्यले नेपाल धितो पत्र बोर्डको सहभागितामा अन्तरक्रिया गरिने छ । व्यवसायीक प्रवर्धन तथा प्रचार प्रसारका लागि मेला अवधिभर दर्जन बढी गोष्ठि तथा सेमिनाहरु सञ्चालन गरिँदै छ ।

मेलामा जेष्ठ नागरिक तथा बृद्धबृद्धालाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था, विद्यार्थीका लागि परिचय पत्रको आधारमा ५० प्रतिशत छुट गरी ३० रुपैया प्रवेश शुल्क राखिएको छ भने अन्यका लागि ६० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।