ताजा अपडेट »

नेता कम 'सेलिब्रेटी' बढी देखिएका यी हुन संसद प्रवेश गर्ने नयाँ अनुहार

विहीबार, ०८ मंसिर २०७९, १० : ५६
26 Shares

बुटवल । मंसिर–४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचमा देखिएको अप्रत्यासित नतिजाले ठूला तथा पुराना दलहरुलाई सोच्न बाध्य बनाएको छ । गत वैशाख–३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा बालेन शाह, हर्क साम्पाङ लगायको विजयी यात्रासँगै हौसिएको नयाँ पुस्ताले यस पटकको निर्वाचनबाट केही नयाँ अनुहारलाई संसद प्रवेश गराउने भएको छ । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा नेता कम सेलिब्रेटी बढी जस्तो देखिने युवा पुस्ताहरुले संसदमा के–कस्तो भूमिका निभाउन सक्ने छन् त्यो भने हेर्न बाँकी नै छन् ।

संसदीय राजनीतिमा आएका केही नयाँ अनुहारका बारेमा यहाँ चर्चा गरेका छौं ।

ज्ञानेन्द्र शाही : पछिल्लो केही वर्षयता सामाजिक अभियान्ता तथा आफूलाई भ्रष्टाचार विरोधी आन्दोलनको नेताको रुपमा चर्चा कमाएका ज्ञानेन्द्रसाही मंसिर–४ को प्रतिनिधिसभा निर्वाचनबाट संसद प्रवेश गर्दै छन् । जुम्लाबाट चुनाव लडेका उनले आफूलाई कुनै राजनीतिक दलको व्यक्तिको रुपमा नरहेको दाबी गरे पनि अन्तिममा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनेका थिए । सम्पन्न निर्वाचनबाट भारी मतकासाथ उनको संसदयात्रा पक्का भएको छ । उनले २२ हजार ८१९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत प्राप्त गरेकी छन् । यसरी शाहीले १० हजार ८६० को मतान्तरले विजयी भएका हुन् । कडा र खरो रुपमा भ्रष्टाचारका विरुद्ध बोल्ने शाहीले आफै नीति निर्माण र कार्यान्वयन गर्नसक्ने थलो संसदमा पुगेपछि के गर्नेछन् हेर्न बाँकी नै छ ।

रबी लामिछाने : लामो समय अमेरिका बसाई पछि नेपाल फर्केर सञ्चार क्षेत्रमा छाएका रवि लामिछाने पहिलो पटक संसद छिर्ने तयारीमा छन् । टेलिभिजन प्रस्तोताका रुपमा सबैभन्दा बढी समय ‘लाईभ सो’ चलाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल लामिछाने सेलिबे्रटी सञ्चारकर्मीका रुपमा चिनिन्छन् । नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लई बसेका उनी पुनः नेपाल फर्केर सञ्चार क्षेत्रमा लागेका हुन् । यद्यपी उनको नागरिकताको विषयमा निर्वाचनमा आयोगमा समेत उजुरी परेको छ । उक्त उजुरी बारे अदालतले दिने अन्तिम फैसलाले नै उनको संसद यात्रा बारे टुङ्गो लगाउने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी चुनावी प्रतिस्पर्धामा होमीएका उनको पार्टीले देशका मुख्य शहरहरुमा सकारात्मक नतिजाहरु निकालेको छ । लामिछानेले चितवन-२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । जारी मतगणनामा उनको जित निश्चित प्राय भएको छ । उनले चितवनबाट उम्मेदवारी दिनेभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोर्खा जानुपरेको थियो । गोरखाबाट प्रचण्ड विजयी भैसकेका छन् । जारी मतगणनामा ४५ हजार ९३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उमेश श्रेष्ठको मत मात्र १४ हजार ४०६ रहेको छ । यसरी भारी मतान्तरसहित अघि बढेका लामिछानेको जित निश्चित जस्तै भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा मुलुकको अवस्थाका बारेमा खरो रुपमा आलोचना गर्ने गरेका थिए । कडा प्रस्तुती र सेलिब्रेटी शैलीकै कारण नयाँ पुस्ताले उनको पार्टीलाई यस पटक उत्साहजनक रुपमा समर्थन गरेको देखियो । अबको संसद यात्रामा छामिछानेको प्रस्तुती कस्तो रहने छ त्यो भने हेर्न बाँकी नै छ ।

डा.तोसिमा कार्की : एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई कडा प्रश्न गरेको उनको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । विद्यार्थीकालमा केही वर्ष अगाडी नेपालको चिकित्सा क्षेत्रको बारेमा प्रधानमन्त्री देउवालाई कडा प्रश्न गरेकी कार्की यस पटकको निर्वाचनबाट आफैले नीति बनाउने र कार्यान्वय गर्ने थलो संसदमा प्रवेश गरेकी छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह लिएर ललितपुर क्षेत्र नम्बर–३ बाट भारी मतका साथ उनी निर्वाचित भएकी हुन् । तोसिमाले ३१ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृता खड्काले मात्र १२ हजार ९६३ मत प्राप्त गरेकी थिइन् । उनीहरु बीच १८ हजार १७३ मतको अन्तर रहेको छ । तोसिमाकै क्षेत्रबाट उम्मेदवार बनेकी ऊर्जामन्त्री एवम् नेकपा माओवादी केन्द्रको उपमहासचिव पम्फा भुसाल समेत निकै पछि परिन् । भुसालले मात्र ८ हजार ७६९ मत प्राप्त गरेकी छन् ।

यसरी हाई प्रोफाइलमै रहेका नेताहरुलाई पराजित गर्दै संसद यात्रा तय गरेकी तोसिमाले आफू नै नीति निर्माण गर्ने र कार्यान्वय गर्ने थलोमा पुगेपछि चिकित्सा क्षेत्रका समस्या समाधानमा के–कति गर्न सक्ने छिन् हेर्न बाँकी नै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।