ताजा अपडेट »

गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’

शुक्रबार, १४ असोज २०७९, १३ : ४७
13 Shares

गुल्मी । अधिकांस बालबालिका र युवाहरुले डाक्टर ईन्जिनियर बन्ने सपना देख्छन् । अनि कसैले कलाकार, कसैले पत्रकार, कसैले नेता, मन्त्री र प्रधानमन्त्रीसम्म बन्ने लक्ष्यका साथ अगाडी बढ्छन् । तर गुल्मीको एउटा यस्तो थलो जहाँका अधिकांस युवाहरु अहिले पनि पल्टनको लाहुरे बन्न पाउँ भन्ने सपना देख्छन र देवि देउता समक्ष लाहुेर हुन पाउँ भन्दै भाकल समेत गर्दछन् । जिल्लाको कालिगण्डकी गाउँपालिका–५ को फोक्सिङ्ग गाउँका अधिकांस युवाहरुले अहिलेसम्म पनि पल्टनको लाहुरे बन्न पाउँ भन्ने सपना देख्ने गरेको त्यस गाउँको सबै भन्दा ठूलो मानिएको शक्तीपिठ लितुङ्गकोटको दशैं पुजामा भाकल समेत चढाउने गरेको भारतिय सेनाका स्थानीय भुपुहरु बताउँछन् ।

त्यहाँका वडाध्यक्ष दानबहादुर राना पनि भारतिय सेनका भुपु सैनिक हुन । राना भन्छन् ‘हाम्रा पालमा त प्रायः सबै जना युवाहरुले पल्टनको लाहुेर बन्न पाउँ भनि लितुङ्गकोटमा भाकल चढाईन्थ्यो, अहिले पनि लाहुरे हुन पाउँ भनेर भाकल चढाउनेहरुको कमी छैन ।’ दोश्रो बिश्व युद्धमा तत्कालिन बृटिश शासित भारत सरकारको सबैभन्दा ठूलो मानपदवी भिक्टोरिया क्रस तक्मा प्राप्त गर्ने भिसी कर्णबहादुर रानाको गउँ हो फोक्सीङ्ग ।

उनै भिसी रानाको पालादेखि धेरै वर्षसम्म फोक्सीङ्गका प्रायः प्रत्येक घरमा दुई तीन जनासम्म भारतिय सेना, बृटिस सेना, सिंगापुर पुलिस, नेपाली सेनाका लाहुरेहरु हुने गरेको वडाध्यक्ष रानाले बताए । अहिले बिदेशमा जानेहरुको लहर अलि बढि छ, रानाले भने अन्य गाउँका तुलनामा लाहुरे बन्नेहरु यहाँ अहिले पनि बढि छन् । उनका अनुसार केपी ओली सरकारको पालामा दोहोरो सुविधाका नाममा भारतिय पेन्सनरहरुलाई बृद्ध भत्ता कटौती गरिएको बेला संगठित हुँदा फोक्सिङ्गका मात्रै ११९ जना भुपु संगठित भएका थिए ।

करिव ३० जना संगठित हुन बाँकी थिए । त्यस मध्ये ९० जना भारतिय सेनाका थिए । त्यस हिसाबले एउटै वडा फोक्सिङ्गमा भारतिय भुपु सैनिकले मात्रै पेन्सन रकम न्युनतम मासिक ३२ लाख ४० हजार र वार्षिक ३ करोड ८८ लाख ८० हजार रुपैयाँ भित्राउने गरेको देखिन्छ । एक जना सिपाही दर्जाका भुपुको मासिक पेन्सन रकम ३६ हजार हुने गरेकोले त्यति रकम भारतिय सेनाका भुपुहरुको मात्रै पेन्सन आउने आँकलन भारतिय भुपु सैनिक कल्याणकारी संस्था फोक्सिङ्गले गरेको छ । वडाध्यक्ष रानाका अनुसार कालिगण्डकी गाउँपालिकाभर ४४२ जना भारतिस सेनाका पेन्सनरहरु रहेका छन् ।

वडाध्यक्ष रानाका अनु्सार त्यस लितुङ्गकोटमा पल्टनको लाहुरे बन्न पाउँ भनि भाकल चढाउने र त्यसको प्रतिफल स्वरुप लाहुरे बनेका झण्डै ७५ प्रतिशत मानिसहरु रहेको जनविश्वास सहितको आँकलन गरिएको छ । १८ औं सताब्दीमा चढाएको एउटा घण्टी त्यस लितुङ्गकोटमा रहेको छ, त्यसअघिको अभिलेख केहि पाईदैन वडाध्यक्ष रानाले भने त्यस यताको भाकल र पञ्चवली हेर्दा अधिकांस लाहुरे बन्न पाउँ भनि र कोही देश प्रदेशमा बर्षऔं देखि बेपत्ता भएका मानिसह भेटियोस् भनेर मेडा चढाउने गरेको पाईएको छ ।

मेजर छोरालाई 'हल्दारसाव' आशिष
स्थानीयवासीका अनुसार जमदार, सुवेदार देखि क्याप्टेन र मेजरसम्मको पद पाएर पल्टनबाट दशैमा घर आउने छोरालाई बाबु आमाले टिका लगाएर आशिष दिदा ‘हल्दारसाव भएर आएस’ भन्ने आशिष दिने गर्दथे । लाहुरेहरु आउने बाटो हेरेर बस्नेहरुले चिच्चाएर बोलाउँदै आफ्नो मान्छे भए नभएको निधो गर्दथे । त्यसपछि खुशीले बुर्कुसी मार्दै बिच बाटोसम्म लिन जान्थे । दशैमा घर आउने लाहुरेहरुको लहर पनि एउटा बेग्लै पर्व जस्तै मानिन्थ्यो । तर आजकल गाउँसम्म यातायातको सुविधा भएपछि को आयो को गयो खासै लेखाजोखा नहुने स्थानीय बुढापाकाहरुको भनाई छ । त्यहाँका बृद्ध पेन्सनवालाहरु भन्छन् कहिले काँही त दशैको टिका थाप्न घर आई पुग्ने मान्छे निसापानीले टिल परेर बिच बाटाकै भट्टीहरुमा मस्त निद्रामा परिएको हुन्थ्यो र मध्येरातमा टिका थाप्न आउँदा सिङ्गो टोलमा हर्ष छाउँथ्यो ।

मगर समुदायको बाहुल्य रहेका साविक फोक्सीङ्ग गाविसको त्यस लितुङ्गकोट सबैभन्दा ठूलो शक्तिपिठ भए पनि प्रचार प्रसारका दृष्टिले ओझेलमा परेका कोट समितिका अध्यक्ष बुद्धि बलालको भनाई छ । उनले भने मैले जिल्लाका सबै कोट त्यसमा पनि चन्द्रकोट, भयकोट, तोलाकोट लगायत थुप्रै मन्दिरहरुको अभिलेख पाईए पनि यस कोटको कतै उल्लेख गरिएको पाईएको छैन र यसको प्रचास प्रसार पनि हुन सकेको छैन । साविक फोक्सिङ्ग गाविसको वडा नम्वर २, ३, ४ , ५ र वडा नम्वर ९ का मानिसहरुको शक्तिपिठ मानिने त्यस कोटमा कोभिड महामारी यता भाकल र पञ्चवली चढाउनेको संख्या घटेको बलाल बताउँछन् । प्रत्येक वर्ष ती वडाहरुबाट मेडा मार हान्ने मानिसहरु पालैपालो राखिने करिव २५ वटासम्म मेडा पुजा हुने अध्यक्ष बलालले बताए । उनका अनुसार त्यस फोक्सीङ्गमा अन्य चार वटा मन्दिर पनि दशैकोटका रुपमा रहेका छन् ।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार